टेबलमा मैनबत्ती जलिरहेको थियो। नेपाली सुमधुर गीतले माहौल तताइरहेको थियो। जहासम्म मेरो दृष्टि पुग्थ्यो त्यहाँसम्म जोडीहरू आपसमा खासखुस गर्दै गफगाफमा मन्त्रमुग्ध थिए। सबैले क्रिसमसको आनन्द लिइरहेका थिए।
म मेरो पोर्चुगिस माईको (आमालाई माई भनिन्छ पोर्चुगिसमा) साथमा आएको थिएँ त्यहाँ।
उसले मलाई जन्मै नदिए पनि प्रेम अवश्य दिएकी छे। उसले आफ्नो कोही साथीलाई निमन्त्रणा गरेकी रहिछे। उसले त्यस युवतीलाई भनि,‘आज तिमीलाई सुन्दर युवकसँग परिचय गराउँछु।’
‘गुलाबी झिलझिल समिज, कालो स्लैक्स। पुरानी नेपाली हिरोइन कृष्टि मैनालीका जस्ता दाँत, भारतीय हिरोइन शारदा कपुरको जस्तो जिउडाल र कम्मर। आलिया भट्टको जस्तो कपाल र छाती।’
म उनलाई देख्ने बित्तिकै मन्त्रमुग्ध भएँ। एकोहोरिएँ। अन्जानमै मेरो मनरुपी तलाउमा उसले डुबुल्की मारिदिई।
‘हाय, मियो नोमो सान्द्रा (मेरो नाम सान्द्रा हो) भन्दै उसले मेरो काँधमा हात राखेर आफूतिर तानी’ मलाई आलिंगन गर्दै दुबैतिरका मेरा गालामा उसले किस गरी। अनि मेरो सामुन्नेको कुर्ची तानेर बसी।
म त दंगदास भएँ। मैले त यी पोर्चुगिस आमाको स्नेह मात्रै देखेको थिएँ। प्रेमभन्दा माथि कुनै स्नेह वा उपहार के होला? थाहै थिएन।
त्यो टेबलमा घण्टी, मैनबत्ती, फूल र सान्टाक्लोजको आकृति छापिएको थियो। कागजको रातो रुमाल खाली गिलासमा मैनबत्ती सजिएको थियो।
टेबलका बीचमा क्रिसमस बियर, सोडा र एउटा ह्वीस्कीको बोतल सजिएको थियो। सान्द्राले क्रिसमस बियरको बोतल खोलेर उसले मेरो अगाडिको गिलासमा खन्याउन थाली।
म त छक्क परें। कौतुहलले मनमनै हुण्डरी चलायो। डर किन लाग्यो भने म मदिरा पिएपछि सम्हालिन सक्दिनँ। मलाई मदिरा पिलाएर स्वार्थीहरूले फाइदा लिएको उदाहरण छ। म फेरि मदिरा पिएपछि भावुक हुन्छु अनि रुन्छु।
मदिरा मेरो लागि नौलो कुरा भएन। केवल सान्द्रा मात्रै नौलो भई। एउटामा मदिराको नशा अर्को सौन्दर्यको।
मनमनै सोचें,‘रोमान्चक अनुभवतर्फ डोर्याउँदै छ क्षणले। कहिल्यै यो मनले सोचेको थिएन कि पोर्चुगिस आमाले उपहारस्वरूप सान्द्रासँग भेट गराउँछिन् भनेर। उनी त हामीलाई टेबलमा छाडेर कता हराइन् कता ?’
मानौं उनले क्रिसमस उपहार नै खोजिदिइन् मेरा लागि।
अलिकति सानिध्य र साइलेन्सपछि सान्द्राको आग्रहमा मैले गिलास ठोकें।
साइलेन्समै हामीले एकएक गिलास सकेपछि उसले मेरो हातमा हात राखेर भनी,‘के तिमी मेरो साथ नाच्न सक्छौ?’ यसो भन्दै उसले मेरो हात समातेर उठाई।
नाच्न भनेपछि नजान्ने म। मैले कहिल्यै नाचेको छैन।
मैले इशाराले नाच्न नआउने बताएँ।
उसले भनि ‘म छु’।
उसले देब्रेहात ठडाई मेरो, दाहिने हात मेरो कम्मरमा समाई र उसले आफ्नो तालमा मलाई घुमाई। म उसको तालमा घुम्दै गएँ। डान्समा घुम्दाघुम्दै उसले मेरो अनुहारभरि लिपिष्टिकले पोतिदिई। झुक्याए जसरी कान टोकिदिई।
हामीले नाच्यौं र टेबलमा बस्यौं।
पोर्चुगिस आमा मेरो नजिकै आएर मेरो उपहार कस्तो लाग्यो भनेर सोधिन्।
मैले खुसीको सिग्नल दिएँ।
उनी ‘ल इन्जोए गर्नु’ भनेर हामीलाई छाडेर गइन्।
रात छिप्पिसकेको थियो। मलाई बियर लागिसकेको थियो। मातेपछि फेसबुक मेसेन्जरमा जो पायो तै सँग गुनासो पोख्ने बानी छ।
प्रोग्राम सकिँदै थियो। मानिस आफ्नो घर जाँदै थिए।
‘म अब कता जाने? घरै त जाने,’ मनमनै सोचिरहेको थिएँ।
सान्द्राले आफ्नै घर जाने जोड गरी।
मैले ओके भनेँ।
उबर बोलाई उबरवाला ट्याक्सी आयो।
हामी सान्द्राको घर पुग्यौं।
दुइकोठा थिए। पानीचित्र बैठक रूमको भित्तामा थियो। भित्ताको अर्कोतर्फ करिब चारपाँच वर्षको बच्चाको तस्बिर थियो। घुम्रेको कपाल। अफरिकन नापनक्सा। मेरो हेराइदेख्ने बित्तिकै उसले नै भनि, ‘यो मेरो छोरो हो, यो चित्र आन्द्रेले बनाएको हो’।
‘अहो यति सुन्दर बच्चा जन्माउने बाबु कस्तो होला?’
‘ए, त्यो बहुत सुन्दर थियो। उसले मेरो जीवनमा भुइँचालो ल्याइदिएको थियो।’
हामी यतिबेलासम्म धेरैनै सामिप्यमा थियौं। उसका जीवनका विणाका तारझैं एकएक खोतल्दै गइरहेको थिएँ।
ऊ भन्दाभन्दै भावुक भई।
म नि:शब्द सान्द्राको आँखामा अश्रु देखिरहेको थिएँ। ऊ सोफामा बसी।
उसले मतिर हेर्दै भनी,‘मेरो एक कमजोरी छ। पिएपछि ममा अभिलाषा पलाउँछ। त्यतिबेला पनि आफूलाई समाल्न सकिनँ। तब यो छोरो पिटर जन्म्यो।’
उसले आफ्ना अतितका पाना खोल्दै गई।
लामो सास तानी र भनी,‘म कलेजका दिनमा काल्ससँग प्रेममा थिएँ। त्यही बेला हामी दुबैले कमिटमेन्ट गर्यौं। म उससँग बस्थें। काल्सले एकदिन मलाई भन्यो ऊ पढ्न लण्डन जाने भो। यो सुनेर म उदास भएँ।
मैले उसलाई आफू गर्भवती भएको कुरा भनें।
उसले भन्यो,‘ अहिले बच्चा नराख्ने, म चाँडै पिता बन्न चाहन्नँ।’
मेरो गर्भवतीको कुरा सुनेर पनि उसले लण्डन जानेकुरामा कुनै परिवर्तन देखिन।
यो समस्याबाट छुटकारा पाउन एउटै माध्यम थियो गर्भपतन।
म चाहँदैन थिएँ गर्भपतन। मैले बच्चालाई जन्म दिन्छु भनें। हामीबीच खटपट भो। ऊ लण्डन गयो।
‘तिम्रो कहानी बडो पीडादायी छ सान्द्रा’, मैले थप्दै उसैसँग टास्सिँदै गएँ। उसले आफ्नो कपाललाई मिलाउँदै भन्दै गई।
‘फाइनल्ली मैले गर्भपतन गराएँ। मैले काल्सलाई भनिनँ। त्यसपछि म एक्लो महशुस गर्न थाले। एकदिन मेरो साथीको फोन आयो।
उसले भनि ‘सान्द्रा मेरो घरमा पार्टी छ आइज’।
एक्लोपन साथीको निमन्त्रणा हार्न सकिनँ, गएँ।
त्यसपार्टीमा मेरो भेट एक अफ्रिकी केटासँग भयो।
उसले मेरो वाइनको गिलास खाली रहनै दिन्थेन। जब गिलास खाली हुन्थ्यो उसले थप्थ्यो। धेरैदिन भएको थियो मदिरा नपिएको। उसको आग्रह टुक्राउन चाहिनँ।
पिउँदै गएँ। यतिधेरै वाइन पिइएछ कि खुट्टाले टेक्नै सकेन।
मेरो साथीले मलाई माथिको रूममा बस्न र राति त्यहीँ सुत्न भनी।
त्यस युवकले मलाई डोराउँदै माथितिर लग्यो। मलाई रूमभित्र लग्यो। म बेडमा पल्टिएँ। त्यो पनि मेरै बेडमा ममाथि नै पल्टियो।
‘उसको लामो स्वास मेरो कानमा ठोक्कियो। उसको हात मेरो छातीमाथि पर्यो। म समालिन्छु भन्दाभन्दै, नाई भन्छु भन्दाभन्दै सकिनँ। सानो श्वरमा नाईनाई हुँदै थियो, उसले खोल्दै गयो। मलाई थाहै भएन कतिबेला सुतेँ। कति बेला त्यो युवक हिँडिसकेछ।
बिहानपख खुबै रोएँ।
यो घटना मैले कसैलाई पनि भनिनँ। विशेषगरी साथीलाई पनि भनिनँ। मेरो पीडा आफैंभित्र राखिरहेँ।
केहीदिनपछि मेरो पेटमा अजिब महशुस हुन थाल्यो। मेडिकल जाँचपछि थाहा पाएँ म त गर्भवती भएछु। ममाथि पहाड टुट्यो। मैले निर्णय लिएँ अब गर्भपतन गराउँदिनँ।
‘मैले कसरी भनूँ कि जो बच्चा मेरो पेटमा छ त्यो मेरो श्रीमानको होइन’। पीडादायी सत्य झन् कति पीडा हुन्छ त्यो मैले बुझिसकेको थिएँ।
केही दिनपछि काल्स लण्डनबाट फर्कियो। उसले मलाई अंगालो हालेर भन्यो– ‘मलाई माफ गर। मलाई थाहा भयो मेरो लागि के आवश्यक छ। सान्द्रा, मेरो लागि तिमी र तिम्रो बच्चा महत्वपूर्ण हो।’
‘मैले उसलाई माफी दिएँ। बच्चा जन्मन केहीदिन अघि हामीले कोर्ट म्यारिज गर्यौं। तर बच्चाको विषयमा स्वयंलाई माफ गर्न सकिनँ। म दोस्रोपटक गर्भवती भएको उसलाई भनें। जब बच्चा जन्मियो म त हैरान भएँ। बच्चाको कपाल कालो थियो। पूरा कालो परिवार हाम्रो कोही पनि काला थिएनन्।’
‘एकदिन हिम्मत गरेर उसलाई सबै कुरा भनेँ। काल्सले आकाशतिर हेर्यो।
उसले जुन जुन उपमा मलाई दियो, मैले जीवनमा भुल्न सक्दिनँ। ऊ मलाई छाडेर लण्डन गयो।
‘यस घटनाबाट मैले धेरै कुरा जानेँ। आफू स्वयं इमान्दार हुने कुरा। म चाहन्नँ कि मेरो बच्चालाई मानिसहरू भेदभाव गरुन्। म दोस्रोपटक विवाह गर्न पनि चाहन्नँ।’
यति भनेर उसले मैनबत्ती जलाई। ल्यापटप खोली। यूट्युबमा एउटा गीत लगाई।
‘नबिर्से तिमीलाई न पाएँ तिमीलाई’, कसरी जानी नेपाली गीत।
यस गीतमा आजसम्म नृत्य भएको देखेको थिइनँ। युट्युबमा बाहेक।
ऊ उठेर नाच्न थाली। उसले मेरो हात समातेर उठाई। उसले आफ्ना अतितका सारा दुःख भुल्न चाहन्थी। मानौं, जीवनमा माया गर्नेलाई न भुल्न सकिन्छ, न पाउन नै। जीवन एक नदीजस्तो हो। हामी दुवै नाँच्दानाँच्दै जोडिँदै गयौं। हामी एकअर्कामा मदहोस भयौं। एकले अर्कालाई स्वीकार्यौं।
बिहानपख म सान्द्राको घरबाट निक्लें। सुटुक्क। बाटोमा हिँड्दै गर्दा हिजोको हरकत दिमाग वरिपरि घुमिरह्यो।
मैले उसलाई मेसेज गरेँ ।
‘हाय मर्निङ, आइ लिभ, सरी फर एस्टर्डे’
उसको मेसेज आयो, ‘नो प्रब्लम, फरगेट एस्टर्डे।’
त्यसपछि।
जीवनका यी पलहरूमा आजसम्म न सान्द्रा भेटें न सान्द्राजस्तै।