‘अझै सकिएन?’ यो प्रश्नले झल्यास्स भइन् सुस्मिता। जवाफ दिइन्, ‘सकिँदैछ।’
कपडा मिचिरहेको बाटा हेरिन्, श्रीमानको कपडा धुदै थिइन्। छ थान लुगा धुन १५ मिनेटजति लाग्नुपर्ने तर त्यसो भएन।
सुस्मिता शाखा अधिकृत हुन्। मन्त्रालयमा कार्यरत छिन्। उमेर २७ वर्ष। जन्मघर दार्चुला, (श्रीमानको घर) चितवन।
उनी घरकी पहिलो सन्तान हुन्। उनीपछि चार बहिनी जन्मिए। उनले गाउँबाटै एसएसली पास गरिन्। पढाइमा मध्यमस्तरकी विद्यार्थी थिइन् सुस्मिता।
एक दिन बजार निस्केका उनका बाबु घर फर्केनन्। छ महिना भएको हुँदो हो बाबुले अर्की बिहे गरेको हल्ला गाउँमा चल्यो। आमाले पनि यो हल्ला सुनेपछि रिसाइन्। आमाले बालाई गाली गरेपछि सुस्मिताले बाको प्रवृत्तिबारे चाल पाइन्।
बाले माया नगरेर हो कि किन हो कुन्नि आमाले खासै चित्त दुखाइनन्। एकदिन बा टुप्लुक्क घर झुल्किए। आमाले बाको खुट्टा ढोगे पनि कुरा गरिनन्।
बाले जे हुनु भइहाल्यो भनेर माफी मागेझै गरे। आमाले सुस्मितालाई काठमाडौंमा पढ्ने व्यवस्था गर्नुपर्ने जिम्मेवारी लिन आग्रह गरिन्। आमा केहीबेरमा सुक्क सुक्क गरिन्, फरियाले आँसु पुछिन्।
खाना खाइसकेर सुत्ने तरखर भयो।
आमाले सुत्ने कोठामा बालाई बोलाएपछि सुस्मिता सोच्न बाध्य भइन्। एक दिन आमा अन्यत्र पुरूषसँग गएको भए बाले स्वीकार गर्थे त? तर आमाले किन बालाई एउटै कोठामा बोलाइन्? सुस्मिताका मनमा यस्तै प्रश्न उब्जिए।
सुस्मिता उच्च शिक्षाका लागि काठमाडौं गइन्। तीन वर्ष पढिन्। कोही विदेश त कोही लोकसेवा पढ्ने तयारी गरिरहेको साथीहरू उनलाई सुनाउँथे।
सुस्मिताले पनि सिंहदरबारमा काम गर्ने गाउँका दाइ सम्झिइन्। उनलाई भेट्ने योजना बनाइन्। ती दाइले सिंहदरबारमै बोलाए। उनी गइन्। मन्त्रालयको २०५ नम्बरमा उनी पुगिन्।
उनले सल्लाह मागिन्, विदेश जाने/गाउँ फर्कने/लोकसेवा पढ्ने। अरू कुरा छाडेर ती दाइले सुझाव दिए- तुरून्त लोकसेवा तयारी गर्ने।
उनले लोक सेवा तयारी सुरू गरिसकेकी थिइन्। एकदिन बाटोमा एक जनाले बोलाएझैं लाग्यो। डोटी घर भएका ती युवक जिल्ला अदालत काठमाडौंमा कार्यरत नासु रहेछन्।
एकदिन संयोगले बागबजार बसपार्कमा दुबै भेटिए। उनले गुनासो पो गरिन्- पढाएको नबुझेको भनेर। अनि कुरैकुरामा फोन नम्बर आदान प्रदान भयो।
शनिबार सुस्मिताले सुब्बासावलाई फोन गरिन्। नबुझेका केही कुरा सिकाइदिन्छन् कि भन्ने आशले। तर उनले त इमोसनल ब्याकमेल पो गरे, मैले पनि तिमीलाई सम्झिरहेको थिएँ भनेर।
भेट्ने समय र ठाउँ निश्चित भयो- चार बजे त्रिविको व्यवस्थापन भवन नजिक। भेटमा उनले नबुझेका सोधिन्। सुब्बाले सकेसम्म प्रष्ट पार्न खोजे। उनीहरू हरेक शनिबार भेट हुने गरी छुट्टिए।
एक दिन सुस्मिताले ढिलो कक्षामा आएकोमा सुब्बासँग प्रश्न गरिन्। उसले उत्तर दियो, हिँडेर बबरमहल कार्यालय पुग्नुपर्छ, गाडीमा जाम हुन्छ।
मान्छेका सम्बन्ध समयले जोड्ने र तोड्ने भनेजस्तै उनीहरू पनि नजिकिए। भेटघाट बाक्लियो। सुब्बा विवाहित थिए। तर उनीहरूले विहेबारे एकअर्कासँग कहिल्यै कुरा गरेका थिएनन्। दुबैजना अधिकृत बन्ने पर्खाइमा थिए।
सुब्बासावले सुस्मितासँग अब कोठामै आउने बताए। बाहिर होहल्ला हुँदा पढ्न डिस्टर्व हुने नाउँमा। तर सुस्मिताले मानिनन्। बरू सुब्बाकै कोठामा आफू आउने बताइन्। अब उनीहरूबीच भेटघाट त्रिविबाट कोठामा सर्यो। उनीहरू कुराकानी गरे र त्यसदिन छुट्टिए।
एक साँझको कुरा, सुम्मिताको मोबाइलमा एसएमएस आयो। मिस यु एण्ड लभ यु लेखेको रहेछ। मेसेज पठाउने नम्बर उनै सुब्बासावको। उनले खासै प्रतिक्रिया जनाइनन्। झुक्किएर पनि मेसेज आउन सक्ने उनको अनुमान रह्यो।
मेसेज आएपछिको पहिलो भेटमा सुब्बाको अनुहार रातोपिरो देखिन्थ्यो। सुस्मिताले त्यसदिन कुनै प्रतिक्रिया नजनाउनुलाई उनले मौन स्वीकृतिका रूपमा बुझेका रहेछन्। त्यसपछिका केही दिनपछि सुब्बाले शरीर छुन खोजेझैं उनलाई महशुस भएको थियो। तर नियत खराबजस्तो लागेको भने थिएन।
एक दिन शनिबार सुब्बाको नियत प्रष्ट भयो। सुस्मिता हारिन् उनले लक्ष्य पूरा गरे। अबदेखि सुब्बालाई नभेट्ने प्रतिज्ञा गरेकी सुस्मिता त्यसदिन निदाउन सकिनन्।
बिहे गरिसकेका सुब्बासँग प्रेम वा बिहे केही पनि सुस्मितताले सोचेकी थिइनन्। सुब्बाको कोठामा जानु नै गल्ती भएको उनको ठम्याइ थियो। उनीहरूबीच लामो समय फोनमा कुराकानी भएन।
अब लोकसेवाको परीक्षाको दिन पनि नजिकियो। उनले राम्रो तयारी गरेकी थिइन्। परीक्षा सकियो, राम्रो पनि भयो। अफिसरको परीक्षाफल छिटै आउने भने पनि चार महिना लाग्यो।
एकाबिहानै मोबाइल बज्यो। एसएमएस आएको रहेछ- लेखिएको थियो, बधाइ छ। त्यो नम्बर उनै सुब्बाको थियो। उनले फोन गरेर बुझिन् सुब्बा त फेल भएछन्।
उनले सम्झाइन्। आफू छिट्टै काठमाडौं फर्कने बताइन्। १८ घण्टा यात्रा गरेर काठमाडौं आएलगत्तै उनी सुब्बाकै कोठा पुगिन्। त्यहाँ खाना खाएर उनी सिंहदरबार लागिन्। अन्तर्वार्ताका लागि गाउँका दाइसँग आइडिया लिनु थियो।
क्यान्टिनमा चिया पिउँदा अर्का उपसचिव भेटिए। त्यो रात सुम्मिता सुब्बाकै कोठा फर्किइन्। उनी एक महिनापछि भएको अन्तर्वार्ताबाट पनि पास भइन्।
सुस्मिताको पदस्थापना सिंहदरबारभित्रै भयो। एक दिन खाजा खाने क्रममा गाउँका दाइले जिस्क्याउँदै भने अब बिहे गर्नुपर्यो नि बहिनी। ती दाइका साथी उपसचिवले मन पराएकोले त्यसो भनेका रहेछन्। सुस्मिताले पनि स्वीकृति दिइन्।
बिहेकै कार्डमा लेखियो- उपसचिव कुलानन्द जोशी र शाखा अधिकृत सुस्मिता भट्ट।