कविताः
पहिले जस्ती छैन रे आमा, फेरिएँ कसरी,
थाहा नै छैन जञ्जालभित्र, बेरिएँ कसरी?
तिमीमा बरु बुढ्यौली देख्थेँ, आफूमा देखिनँ,
फरक यति सोचाइ रैछ, अरु त भेटिनँ।।
तिमीले गर्ने ती क्रिया, ममाथि सर्दैछ,
नियत हो कि संस्कार त्यही,कि गुण गर्दैछ?
शब्द र वाक्य तिम्रै हुन् आमा, बोली पो मेरो छ,
दूरीमा टाढा, चाल र ढाल, सेरो र फेरो छ।।
फुलेका केश ऐनामा हेरी, तानेको तिमीले,
चौबन्दी चोली कसेर तुना, बाँधेको तिमीले।
गाजले आँखा श्रृंगारै राम्रो, शोभा थ्यो रुपको,
त्यसैमा झन वैंशको बेला, जोवन धूपको।।
म सुत्ने काख लठ्ठेर बाबा, टाउको राखेको,
झल्कन्थ्यो त्यहाँ ती प्रितहरू, तिमीमा साँचेको।
कलकल गर्दै बगेको माया, देखिन्थ्यो छल्केको,
नतमस्तक तर आमाको माया, मैतिर ढल्केको।।
डाहको भाव पलायो म मा, रिसले झर्किएँ,
तिम्रो थ्यो इच्छा छातीमा टाँस्ने, म कोल्टो फर्किएँ।
त्यो दृश्य देखि भन्नु भो बाबा, तिम्रै त चाल छ,
भएमा राम्रो मेरै हो छोरी, नत्र त्यै हाल छ।।
जलेर आफू मैनबत्ती सरी, उज्यालो छर्यौ नि,
इच्छा र पीडा लुकाई भित्र,संघर्ष गर्यौ नि।
सम्झँदा आज रमाइलो लाग्यो,ती दिन फर्केर,
त्यो ठाउँ तिम्रो आज त आयो, मैतिर तर्केर।।
भाँडा र कुडी बनाइ खेल्ने,कति हो रहर,
लगाई धोती,तिमीझैं बन्ने,त्यो सप्को हालेर।
पुगे म आमा,त्यो ठाउँ आज,ठूलै छ बन्धन,
सम्झन्थें गाली आशिष रै’छ, तिम्रो त्यो गनगन।।