कविताः
अदृष्य यो शक्ति कस्तो, बढाउँदैछ त्रास
उर्लंदैछ भेल सरी, गर्दै सत्यानाश
कहाँबाट सुरू भयो, कस्ले फैलाउँदैछ?
ब्रम्हाण्ड नै के भो यस्तो, रोग मौलाउँदैछ।।
सूक्ष्म रूप पनि जहाँ, बन्छ भयावह,
इच्छा बिना चल्नुपर्ने, त्यागी माया मोह।
आफ्नो रक्षा आफैं गर, राखी आफ्नो ख्याल,
ठट्टा रूप लिँदालिँदै, पल्टिएला स्याल।।
थाहा छैन मै भित्र पो, झेल चल्दैछ कि?
साथ लान नानाथरि, खेल खेल्दैछ कि?
सफा भई टाढा बस्नु, यस्को उपचार,
गर्यौ भने हेलचक्रयाइँ, सम्झ भयो हार।।
रमाउँला फेरि उस्तै, जितेमा यो रोग,
भीडभाड भित्र जानु, त्याग सबै थोक।
रोगसँग लड्नलाई, मुटु दह्रो पार,
हिम्मतले लड्नै पर्छ, नमानेर हार।।
चिकित्सक सेवामा छन्, ज्यान बाजी थाप्दै,
भ्रष्टाचारी लम्किरा’छन्, मीठो स्वाद चाख्दै!
पहिलो लडाइँ रोगसँग, अनि भ्रष्टाचारी,
भ्रष्टाचारी रै’छन् भने लै’जा महामारी!!