कविता
भाइरस, तिमी उत्परिवर्तित भयौ र त
शक्तिशाली राष्ट्रहरूका शिर झुकायौ।
कतिको दुवै हात उठायौ त,
कतिको घुँडा टेकायौ।
एकको विपत्तिमा,
अर्का तमाशा हाँस्नेहरूलाई
गोलो पृथ्वीमा सबैको पालो
घुमेर आउने पाठ पढायौ।
पृथ्वीमा पापको घडा भरिए सँगै
मानिस आफूले नै प्रलय र विनाश
निम्त्याउने शिक्षा दिलायौ।
साधुवाद छ, कोरोना तिमीलाई।
भाइरस, तिमी उत्परिवर्तित् भयौ र त
कोरोनाको त्रासले कोठै भित्र
कुँजिएर पटक पटक आफ्नै
अनुहार हेरायौ अनि
आफैंलाई चिनायौ।
केही हप्ते लकडाउन मै
आफ्नै औकात पनि प्रस्ट्यायौ।
घरभित्र पुरूष, नारीभन्दा
कति असक्षम छन् भन्ने देखायौ।
रेष्टुरेन्टका मिष्ठान परिकारमा अनि
व्यवसायिक महलका
कचमच खानामा रतिनेहरूलाई,
घरको दुई छाक भातको महत्व दर्शायौ।
जागिरलाई बेचेको समयको भन्दा,
परिवारसँगको पल
कति मूल्यवान् रहेछ भन्ने सिकायौ।
साधुवाद् छ, कोरोना तिमीलाई।
भाइरस, तिमी उत्परिवर्तित् भयौ र त
पैसाको लागि जीवन बाजी थाप्नेहरू
भूइँभरि पैसा छ रे नि, बितेको जीवन
कहिल्यै नफर्किने ज्ञान दिलायौ।
के धनी, के गरिब! एक अर्काका करिब।
के ठूला, के साना! आफैंले फुटाएका भू-सीमाना।
के गोरा, के काला! तुच्छ सोचका मतवाला।
के पूर्व, के पश्चिम! सब् सीमाना विहीन,
एउटै भू-मण्डलका, एउटै मानव प्राणी
भन्ने प्रमाण दर्शायौ।
साधुवाद् छ, कोरोना तिमीलाई।
भाइरस, तिमी उत्परिवर्तित् भयौ र त
मलाई पैतालोमा सिद्रो कुचल्ने,
हे, भीमकाय मानव!
सानो जीवनको मूल्य अहिले थाहा पायौ?
म भन्दा नि सूक्ष्म जीवाणु कोरोनाको
खबर मात्रले लकडाउन् भित्रै
आज जिन्दगी गुम्स्यायौ।
अभिमानी तिमी! अभिमानी तिमी,
आफ्नै कारण कैयौं जीवन गुमायौ।
हर जीव, पंक्षी, धर्म, जाति, पेशा, वर्ग
र हर मानव यहाँ समान र शक्तिशाली छन्
भन्ने कोरोना तिमीले पाठ सिकायौ।
म एक सानो कमिला !
के म एक सानो कमिला,
यो धरतीमा हिँडने मेरो अधिकार होइन र?
जे होस् ! जे होस् , मेरो अधिकारको पनि
आज अनुभूति गरायौ।
सर्वश्रेष्ठ प्राणी, मानवप्रति नै आज,
मेरो चोरी औंला ठड्यायौ।
सब मनुष्यलाई कोठै भित्र
आज लकडाउन गरायौ।
साधुवाद् छ कोरोना तिमीलाई।