प्रिय नयाँ वर्ष,
सुनेकी छु तिमी आउँदै छौ रे, शुभ यात्रा है,
स्वागत छ तिमीलाई।
उमंग र उल्लासका बस्ती, सडक र गल्लीहरु सारा सुनसान छन् यतिबेला। तिमी झुक्किएलाउ नि फेरि यी रित्ता सडक र गल्लीहरु देखेर, आत्तिएलाउ नि फेरी ती उमंग र उत्साहका अनुहारहरु कहाँ गए भनेर, फर्किएलाउ नि फेरि म गलत समयमा गलत ठाउँमा आएछु भनेर.....।
होइन तिमी निश्चिन्त होउ, यहाँ त आँखाले देख्नै नसक्ने भाइरसहरुले सारा संसार लकडाउन गराएका छन्। मायालुहरुका मन साट्ने चौरहरु एक्लिएका छन्, सृजनाका ती सुन्दर पालुवाहरु पनि विरक्तिएका छन्।
ती वैशालु रंगीन गुलाबहरु पनि उदासिएका छन्, वसन्त आफैँ निन्याउरो मुख लगाएर झोक्राइरहेको छ। चराचुरुंगी र सडके जीव जनावरहरु पनि उत्तिकै निरश छन्।
यहाँ त भोकमरीले आफ्नो हैकम जमाइरहेको छ। गरीब, निमुखा, रोगी, बुढापाका, सुत्केरी र बालबच्चाको त भो कुरै छोडौ, बलियाबांगा युवाहरुलाई समेत त्राहिमान बनाएर कोठाभित्रै बन्दी बनाएको छ। मान्छेहरुलाई सडकको सडकमै, सहरको सहरमै, विदेशको विदेशमै अलपत्र बनाएर यो कोरोना संसारभरी राक्षसी नाच नाचिरहेको छ।
कति अत्यास लाग्छ नयाँ वर्ष तिमी आफै कल्पना गर त, दुख र आपत पर्दा आफ्नो मान्छेलाई अंगालो हालेर रुन मिल्दैन यहाँ। परिस्थिति सम्हाली सक्नु छैन। यस्तो भयावह स्थितिमा पनि, कहिलेकाहीँ टिभिका पर्दा र रेडियोका समाचारहरुमा मौकामा चौका हान्नुपर्छ भन्दै भ्रष्टचारीहरु सल्बलाएका खबरहरु सुन्दा, लाग्छ लोभी र पापीहरुलाई त यस्ता भाइरसहरुले पनि केही गर्न सक्दा रहेनछन्।
यो कोरोना नामक भाइरसले आफूलाई संसारकै महाशक्तिशाली राष्ट्र ठान्ने र उत्तरआधुनिकवादी मान्नेहरुलाई पनि हायलकायल बनायो र घुडा टेकाएरै छाड्यो।
अहिलेसम्म विश्वले एक लाख बढी मानिसहरु गुमाइसक्यो, पचासौँ हजार गम्भीर अवस्थामा छट्पटाइरहेका छन्, संक्रमितको संख्या सत्र लाख नाघिसक्यो।
दानामा पनि अरुकै भरमा पर्नुपर्ने हाम्रो जस्तो मुलुकभित्र धन्न आजको मितिसम्म पशुपतिनाथको कृपाले र तेत्तिसकोटी भागवानको आशिर्वादले त्यती धेरै अशुभ समाचारहरु सुन्नु परेको छैन, कामना छ सुन्नु नपरोस्। अस्वस्थ भएर हस्पिटलका बेडमा कोरोनासँग लडिरहेकाका नेपालीहरुलाई सीघ्र स्वास्थ्य लाभको कामना र बाँकी सम्पुर्ण नेपालीहरुलाई सु-स्वास्थ्य र दिर्घायुको शुभ-कामना भन्न चाहन्छु।
जे होस्, तिम्रो आगमनको खबर सुन्दा हृदयभित्र एउटा मिठो आशा अंकुरण भएको छ। पक्कै पनि तिमीले केही राहत लिएर आउँछेउ र यो अत्यासलाग्दो दिनचर्या केही सहज बनाउँछेउ। तर खबरादार नयाँ वर्ष, तिमीले पहिलेको जस्तो झुट्टा आश्वासन दिन पाउने छैनौ।
एक वर्ष पहिले यसरी नै विभिन्न आशाहरु देखाएर गयौ। हामीले कति दुख पायौँ तिमीलाई के थाहा? भो छोडौँ बितेका कुराहरु, अबको हाम्रो प्रयास यो कोरोना भन्ने भाइरसलाई कहिल्यै यो धर्तीमा टिक्नै नसक्ने बनाउनुछ।
अनि अर्को कुरा- तिमीले नि आफ्नो स्वार्थ पूरा गर्न अलिकति माया गरेझैँ गर्ने, अलिकति केही दिए जस्तो गर्ने र नानाथरी नाटक गरेर विभिन्न कोणबाट फोटाहरु पोस्ट गर्दै सामाजिक संजाल रंगाउनेहरुलाई पनि सम्झाइदेउ है,
अरुका समस्याहरुलाई नि बुझ्नुपर्छ र सम्मानपूर्वक माया दिनुपर्छ भनेर। अरुका काममा खोटमात्रै देख्ने र मै बाठो, मै राम्रो, मै जान्ने, मै बुझ्ने भन्नेहरुलाई पनि स्पष्ट बनाइदेउ है, अरुको सहायता विना तिम्रो केही चल्दैन भनेर।
अनि अर्को कुरा पनि, यो लकडाउनमा टाइम पास गर्न सकिएन, सुत्दासुत्दा लखतरान भैइयो। लौ न साथी हो, चाडै गरेर सुतौँ। भोली बिहानै उठेर आराम गर्नुछ भन्दै नानाभाती गफ हान्ने हाम्रा दाजुभाइहरुलाई घरायसी धन्दा कस्तो हुँदोरहेछ?
कसरी गर्नु पर्दोरहेछ? आमा, दिदि बहिनी, श्रीमती, छोरीहरुलाई घरका दैनिक कामकाजले कति सताएका रहेछन् भनेर राम्रोसँग नियाल्न लगाइदेउ न है। स्कुले केटाकेटीहरुलाई घरमै बसेर पनि सृजनशील कार्यमा लाग्न सकिन्छ भन्देउ है।
भन्नुपर्ने कुरा त कति छन कति, भो अब भेटमै कुरा गरौँला है।
उही तिम्रो