लालिगुराँसले रातम्मै बनेर लिगलिगकोटहरू
कोइलीहरूलाई बोलाँउदा,
ऐंसेलु र काफलले ढप्पकै ढाकिएका रानीवनहरूले
शितलताको दियो बनेर हामीलाई कुर्दा
नयाँ वर्ष तिमी आउने गर्दथ्यौ ।
पिरतीका कुरा गर्दै दरौदी र भुसुन्डीहरू
समिबोट्मा मिलन हुँदा
वर्षायामको उर्लदो जवानी बिर्सिएर करङ खोलाहरू
हजुरआमाका कथाका राजाहरू जस्तै दयालु बनेर
नयाँ वर्ष तिमी आउने गर्दथ्यौ।।
भित्ताका पात्रोहरू फेर्दै कर्म वीरहरू,
हलो जुवा बोकेर उकाली ओराली गर्दा
खुसीले गदगद हुने दारिम्बोटेका खेतहरू सँगै
सिर्जना र उत्पादनका असीमित पाउलाहरू लिएर
नयाँ वर्ष तिमी आउने गर्दथ्यौ ।।।
तर खै !
तर खै! यसपालि त नयाँ वर्ष तिमी,
जसरी आउनु पर्ने हो त्यसरी आएनौ
थोत्रा त्रिपाल सँग सपना साटेका भूकम्प पीडितलाई
छाना लिएर आएनौ, माना लिएर आएनौ
टालो हाल्ने कपडाको टुक्रा सम्म पनि लिएर आएनौ
आयौ त् केबल
संसारभर डर त्रास फैलाउँदै
हजारौं मानिसहरूको रक्त पिपासु बनेर आयौ
बढ्दै गरेका हाम्रा पाइलाहरूलाई
कोरोना को भूत देखाउँदै आयौ
हाम्रा भविष्यहरू अन्धकार मा राखेर
मृत्यु को सुपारी लिएर आयौ
नयाँ वर्ष तिमी
जसरी आउनु पर्ने हो त्यसरी आएनौ।
तर पनि !
तर पनि ! नयाँ वर्ष तिमीसँग म डराएको छैन
सगरमाथाको शिर भएको म, तिमीसँग डराएको छैन
चन्द्र, सूर्य अंकित झन्डा भएको म, तिमीसँग डराएको छैन
कहिल्यै हार्न नजान्ने पूर्खाको सन्तान म, तिमीसँग डराएको छैन
शान्ति र अहिंसाको पर्याय भएको म, तिमीसँग डराएको छैन
तर पनि नयाँ वर्ष तिमीसँग म डराएको छैन । ।