(डिस्क्लेमरः यो लेखसँग कुनैपनि व्यक्ति, संस्था वा देशको स्थितिसँग मेल खान गएमा केवल संयोग मात्र हुनेछ। हल्का व्यंग्य फ्लेवर हालिएको भएपनि यो परिकार मृत्युको विषयलाई मजाक बनाइएको भने कति पनि होइन।)
खासमा यो ओलम्पिक खेल हेर्न, भोग्न चाहेकै थिएन। बरु आईपीएल, युरो, टोक्यो ओलम्पिकको पर्खाइमा थिए विश्व जगत।
विश्वकप २०२२, २०२६, २०३० सम्मको आयोजक थाहा भैसकेको थियो, ओलम्पिक २०२४, २०२८ सम्मको घोषणा भैसकेको थियो। तर अहँ, कोरोना ओलम्पिक चीनको वुहानमा वा वुहानबाट सुरु होला भनेर कसैले कल्पना समेत गरेको थिएन।
रोचक कुरा के रह्यो भने, यो ओलम्पिकको आयोजना स्थल समयक्रमसँगै फेरिँदै गयो। सार्स, बर्ड फ्लू, स्वाइन फ्लूमा जस्तै यो ओलम्पिक चीनले मात्र वा चीनमै मात्र सम्पन्न होला भन्ने आँकलन गरिएको थियो।
जसले गर्दा युरोप तथा अमेरिकाका अन्य विकसित देशहरुले आयोजना गर्नु परिहाल्यो भने आयोजना स्थल (अस्पताल) र खेल सामाग्री (पिपिई सेट, भेन्टिलेटर) तयार गरेकै थिएन। भरे, एकैपटक यो ओलम्पिक एक देशबाट अर्को देशमा गर्नुपर्ने बाध्यता आईलागेपछि मै हुँ भन्ने विकसित देश पनि तिल्मिलाए।
विश्वभरीका सबैजसो देशले यो खेलको आयोजना सकेसम्म गर्नु नपरे वा यस खेलमा सहभागिता जनाउन नचाहेपनि यो सुरु भएको दुई/ अढाई महिना पुग्दा नपुग्दै अन्य देशलाई पनि अभिभारा आई नै लाग्यो। यो खेलमा गोल्ड मेडल होइन, डेड मेडल पाइन्थ्यो। सहभागीहरुले लेभल लेभलको खेल खेल्दै जान्थ्यो, फाइनलसम्म पुग्ने सहभागीले डेड मेडल पाउँन्थ्यो नै भन्ने निश्चितता थिएन।
सहभागीहरुको संख्या अनि मेडल तालिकामा सुरुआती निकै हप्तासम्म चीनको आधिपत्य रह्यो भने पछि इटाली र स्पेनले मज्जाले पिछा गर्यो। खेल सुरु भएको सयौं दिन (चैत्र २९ गते)सम्म आईपुग्दा अमेरिकाले अन्य राष्ट्रहरुलाई उछिनी छाड्यो।
यो ओलम्पिक खेलको प्रत्यक्ष प्रसारण प्रत्येक देशको राष्ट्रिय टेलिभिजनबाट भैरहन्थ्यो। दर्शक, श्रोता सबैलाई अधिकांश देशले दिनैभरी, रातैभरी घरमा थुनिएर हेर्नुपर्ने नियम थियो। दर्शकहरुलाई खेल आयोजना अवधिभर सामाजिक दूरी कायम गर्नुपर्ने, पटक पटक साबुन पानीले हात धुनुपर्ने वा स्यानिटाइजर प्रयोग गर्नुपर्ने नियम जारी गरेको थियो।
यो खेलको अनौठो नियम खेलाडी, प्रशिक्षक होइन, दर्शकलाई लकडाउन (एल्लो कार्ड) तथा कर्फ्यू (रेडकार्ड) सम्मको व्यवस्था गरिएको थियो। यसमा अटेरी गर्नेलाई सम्बन्धित सरकारले नभई आफ से आफ खेलमा सहभागी भईने जोखिम हुन्थ्यो। त्यसो त उक्त खेलमा पक्का सहभागिता जनाउन वाइल्ड कार्ड (पोजिटिभ टेष्ट) पाउनै पर्ने नियम छ।
यो ओलम्पिकको अर्को अनौठो नियम भनेको खेलाडीहरु, सहभागीहरु मुख्य आयोजना स्थल (चीन, युरोप, अमेरिका) पुग्नु पर्दैनथ्यो। प्रत्येक देशले छोटो समयमा नै भएपनि खेलस्थल (अस्पताल), प्रशिक्षण स्थल (आइसोलेसन एवं क्वारेन्टिन)को व्यवस्था गर्न थाल्थ्यो। आ-आफ्नै देशमै खेल खेलेपनि डेड मेडलसम्मको व्यवस्था प्रत्येक देशमा गरिएको थियो।
सहभागी खेलाडीहरु, प्रशिक्षक, मेडल, खेलस्थलहरु सबैको रेकर्डिङ र मोनिटरिङ यो पटकको सर्वोच्च निकाय विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)बाट भैरहेको देखिन्छ। आयोजक राष्ट्रले आयोजना गर्न नपरेपनि हुन्थ्यो भन्ने अभिलाशा राखेपनि सबै देशले आंशिक रुपमा भएपनि खेल आयोजना गर्ने वा स्थानीय सरकारको इच्छा बेगर खेलमा सहभागिता जनाउने परिस्थिति निस्किहाल्थ्यो।
यस ओलम्पिकको अर्को रमाइलो नियम सहभागी (संक्रमित)ले ड्रेस लगाउनु पर्दैन। तर प्रशिक्षक (डाक्टर), प्रशिक्षिका (नर्स)ले भने बकाइदा खेलस्थल वा प्रशिक्षण स्थलमा रहेका सहभागी खेलाडीहरुको लेभलअनुसार पिपिई (पूरै सेट) वा आंशिक (गाउन, मास्क) लगाउनु पर्थ्यो। यसो हेर्दा खेल आयोजना गर्नेदेखि खेलको नीति नियम, दर्शकहरुको लागि बनाइएको नियम पनि विगतको ओलम्पिकभन्दा ठीक उल्टो बनाइएको छ।
प्रशिक्षकलाई पनि हैरानी थियो। घर जान पाइन्नथ्यो, कम्तिमा दुई हप्ता प्रशिक्षण स्थलसँगै छुट्टै कोठामा बस्नु पर्थ्यो। कतिपय बेला प्रशिक्षकहरु आफैँ पनि सहभागी खेलाडीहरुको हेरचाह गर्दागर्दै वाइल्ड कार्ड पाइसक्थे। कतिपय देशमा त प्रशिक्षकले पनि डेड मेडलसम्म हासिल गरेको रिपोर्ट छ।
विश्वकप फुटबल, ओलम्पिक करिब एक महिनासम्म चल्ने कुरा हामी सबैलाई अवगत भएपनि यो ओलम्पिक कति अवधिसम्म चल्ने वा कहिलेसम्ममा टुंगिन्छ कुनै निधो छैन। ग्रिसको एथेन्समा आयोजना भएको पहिलो ओलम्पिकमा १४ राष्ट्रका २४१ जना खेलाडीले ९ खेलका ४३ इभेण्टमा सहभागिता जनाएकोमा पछिल्लो रियो ओलम्पिकमा २०६ राष्ट्रका ११ हजार २३८ जना खेलाडीले २८ खेलका ३०६ इभेण्टमा भाग लिएको थियो।
तर यो ओलम्पिकमा त अहिलेसम्म विश्वका २०९ राष्ट्रका लाखौं सहभागीहरुले सहभागिता जनाएको देखियो भने एक लाखभन्दा बढीले डेड मेडल पाइसकेको देखिन्छ। दुखको कुरा यो क्रम जारी नै छ। यस ओलम्पिकमा टिभी पत्रकारहरु खेलस्थलसम्म जान नसक्ने परिस्थतिका कारण दर्शक, श्रोताहरुले पदक तालिका र सहभागीहरुको संख्या मात्र थाहा पाउँथ्यो। खेलस्थल भित्रको गतिविधीको प्रत्यक्ष प्रसारण गर्न वर्जित पनि थियो।
खुशीको कुरा वास्तविक ओलम्पिकमा जस्तै यो ओलम्पिकमा पनि विकासोन्मुख देशहरुले त्यति सहभागिता जनाउन र पदक हासिल गर्न सकिरहेको देखिँदैन। तर पनि साफ गेममा जस्तै दक्षिण एशियामा पनि भारत, पाकिस्तानले दक्षिण एशियाको बिँडो थामिरहेको छ।
यो पटकको ओलम्पिकको लागि पनि आवश्यक पूर्वाधारहरु नभएका कारण सकेसम्म खेल आयोजना गर्न नपरे, हाम्रा देशका नागरिकहरुले सहभागिता नजनाए हुन्थ्यो भन्दाभन्दै विदेशबाट फर्किएका नेपालीहरुले बढ्ता सहभागिता जनाइरहेको कारण हैरानी उत्पन्न हुन थाल्यो।
यसअघिका ओलम्पिक खेलहरुमा आफ्नो देशले कति पदक जिते, कति राम्रो प्रदर्शन गर्न सके भन्ने जिज्ञासा हुन्थ्यो भने यो पटकको ओलम्पिकमा भने सबैजसो देशका दर्शक, श्रोताहरुलाई आफ्नो देशका खेलाडीहरुले सहभागिता नजनाए हुन्थ्यो, आफ्नो देशले सकेसम्म पदक नजिते हुन्थ्यो भन्ने पुकार गरिन्छ। यसका लागि दर्शकहरुले घरभित्रै बसिरहेर, बन्दाबन्दीमा रहेर सहयोग गर्नुपर्ने बाध्यकारी नियम छ।