घामको बर्को ओढेर
बुर्तिबाङको आफूजस्तै जब्बरे भीर
भत्काउँदै गर्दा
जङ्गली फूलमाथि झरेको
नन्दकिशोरको पसिनाको बुँदमा
र यो चौँरीगोठ जलिरहँदा
दसगजा नाघेर
टोरोन्टो सहरको जुवाघरभित्र
कौडा हान्दै गर्दा झरेको
हिमालधनको पसिनाको बुँदमा
किन होला फरक-फरक सुगन्ध आउँछ ?
. . .
स्टुटगार्ड एयरपोर्ट नजिकै
पातलो छायामा बसेर
पुराना जुत्ताहरू टल्काइरहेको
जटियासिंहको मधौरू कारखानामा
किन बज्दैनन्
विश्रामका शंकालु घन्टीहरू - यतिखेर ?
छेवैको दु:खी नेकार नदीजस्तै
पीडाका भेलहरू उराल्दै
किन ऊ आफैंभित्र चुपचाप-चुपचाप बगिरहेछ ?
र एक सप्को थकाइ नओभाउँदै
यो समयको लंगुर
किन यति हतार-हतारमा फन्को मारिरहेछ ?
. . .
हिउँले खाएका सडकहरूमा
एक हूल सपनाहरू
एका बिहानै झाडू बोकेर
किन यसरी पीडाको कवाज खेलिरहेछन् ?
र चर्किएर फुटेको सिसाझैं
फेरि किन जोडिँदैनन्
यो जिन्दगीका रंगीन काँचका टुक्राहरू ?
कहाँबाट चुहिँदै छ
खरूकीले छाएको घरको धुरी
र मक्किरहेछन् - विश्वासका ओछ्यानहरू ?
. . .
बकिङ्घम दरबारको ऐनाले
कसरी पुछिरहेछ
एउटा अनुबन्धित समयको अनुहार ?
कहाँ हरायो
सुकनारानले ओढेको आकाशको रङ ?
र बरफ बनेर
यो जमिनको चिसो याक्साभित्र
किन जमिरहेछ - देश रोएर झरेको आँसु ?
. . .
ए कोही छ ?
थमाऊ यी हातहरूमा
तिमीजस्तै एउटा सन्की बन्दुक !
मृत्युसँग तेलकासा खेलेर
म आफ्नो योग्यता पुष्टि गर्न चाहन्छु !
हिँडाऊ मलाई
अन्डरवर्ल्डको अँध्यारो सुरुङको गल्ली
सिसिलियनको कीर्तिमान तोडेर
म आफूलाई प्रमाणित गर्न चाहन्छु !
. . .
विश्वास लाग्दैन ?
एकचोटि पुर्याएर त हेर
गोरखपुरको रोगी कसाइ घरमा
आफ्नै मिर्गौला झिकेर
म यो देशको भोक मेटाइदिन सक्छु !
. . .
लैजाऊ मलाई
कुनै अनकन्टार जंगलमा
र बाँध औलोका विषालु लहराहरूले
उर्वरता बनेर
म पुनः अर्को देश उम्रन सक्छु !
थुन मलाई
कालापत्थरको बञ्जर पहाडमा
ढुंगा खिपेर
म भीरैभीर सिल्करोड दौडन सक्छु !
. . .
सक्छौ भने झिक
आवाजको घाँटीमा ठोक्किएका
यी तिम्रा हिंस्रक बालसिरी काँटीहरू !
आमाले गाउँदा-गाउँदै टुटेको
लोरीको त्यो प्रिय बाँकी भाग सुनेर
अब अन्तिम निद्रा
म ढुक्कले निदाउँछु - बालुवाको ओछ्यानमाथि !