कविता
महाशय,
तिमी ढुंगाले बनेको मुटुमाथि
आफ्ना आँखा ओछ्याएर दृष्टिगोचर गरिरहेछौ
धिमा गतिमा धड्किरहेको मुटुको चालले
तिम्रा आँखाको दृष्टिमा प्रभाव पारेको छ
रातभर पैदल हिँडेर भर्खर सडक छेऊ
विश्राम गर्दै छ एक मानिस
जो थाकेर लखतरान परेको छ
तर तिमी देख्दैछौ तन्दरूस्त
जसका पैताला पट्पटी फुटेका छन्
तर तिमी देख्दैछौ सग्लो ।
पिँजडाभित्र तिमीले बन्दी जीवन बिताइरहँदा
बिताउन त आज उसले
निस्फिक्री जीवन बिताएकै छ
तर भोकै,नांगै र काकाकुल अवस्थामा ।
थाहा छैन अझै कति दिनसम्म
अनवरत हिँड्नुपर्ने हो?
बाटाका धारिला काँडाहरू पन्छ्याउँदै
कहिले पुग्ला ऊ आफ्नो गन्तव्यसम्म
यदि ऊ सकुशल पुग्यो भने त
फक्रिएला उसको ओठमा मुस्कानको फूल
र बिस्तारै सजिएला जिन्दगीको सुन्दर फूलबारी
अन्यथा आधा बाटोमै उसले जीवन गुमायो भने ?
महाशय,
त्यसपश्चात् तिमीले
एक नागरिकलाई सहिद घोषणा मात्र गर्छौ
या त्यो पनि गर्दैनौ
या अरू केही गर्छौ
यतिबेला अर्को एक नागरिक
तिमीसँग जवाफ मागिरहेको छु
के तिमी मलाई चित्तबुझ्दो
जवाफ दिन सक्छौ ?