गहुँगोरो अफ्रिकालाई
दाम्लोले डोर्याएर बिक्रि गरिरहँदा,
कहाँ गर्न पाएथेँ मैले अंकमाल?
अछुत दक्षिण एशियालाई
पानी अलग्गै दिइरहँदा,
कहाँ मिलाउन पाएथेँ मैले हात?
युगौँदेखि हुने र नहुनेबीचको
यो भयानक खाडलको दूरी,
कैले थियो तीन मिटरभन्दा छोटो?
सदियौँदेखिका प्रश्न
आइसोलेसनमै छन्,
म भित्रै छु, सरकार!
हप्तौंदेखि भारी खेप्न पाएको छैन
वर्षौँ भयो पार्टी सत्तामा छ,
ठर्राको तालमा,
जुलूसको नाममा,
कसरी म बाहिर निस्कन पाउँनु?
म भित्रै छु, सरकार!
अभावको आगो बाल्दै
वेदनाको भात पकाउँदै,
पटुकी च्यातेर मास्क लगाउँदै,
मानव जातीलाई रक्षा गर्ने अभिभारा बोक्दै,
नाथे किराको विरुद्ध,
म बाहिर निस्केको छैन,
ढुक्क हुनु,
म भित्रै छु, सरकार!