कविता
यो आगो,जस्ले आगो बाल्दछ
बले पछि आफू जस्तै अरू लाई बाल्दछ
यसरी नबलोस् आगो
कि आगो भन्दा अर्थोक केही नबलोस्
यसरी नबलोस् आगो
कि सबै आगो जस्तै बल्नु नपरोस्
र, यसरी त झन् आगो ,बल्दै नबलोस्
कि,आगोले निभ्न बिर्सियोस्।
यो आगो , हो त्यहाँ बलोस्
जहाँ यसलाई बल्नु छ
सबै भन्दा पहिले गरिबको चुल्होमा बलोस्
सहर बाट पैदलै फर्किनेहरूको बाटोमा
पुल्ठो, मशाल , लाल्टिन हरूमा बलोस्
उता गाउँमा पर्खिनेहरू को दीयोमा बलोस
यो आगो, त्यता बलोस् जता यसलाई बल्नु छ
जस्का आत्माहरू चिस्सिएका छ्न्
जसलाई कात्रो र मल्हममा पनि हिस्सा चाहिन्छ
हो तिनका, ढुंगा जस्ता मुटुमा बलोस्
शासक भए पनि, उसलाई थाहै छ
कि, कति दिन लाग्छ पैदलै झापा वा ताप्लेजुङ पुग्न
हो त्यो ट्रान्सप्लान्ट गरेको गिदीमा बलोस्
आगो लागेकै छ, र आगो लाई आगो ले नै निभाउने
मूर्ख शासकका लाठी र बूटमा बलोस्
जसलाई आगो लागेकै थाहा छैन
तिनका खोपडी मा बलोस्
तर यो आगो
मस्जिद र मन्दिर मा नबलोस्
यो आगो मानिस भित्रको मानिसमा नबलोस्
यो,आगो तैले लगाइस्!भन्दै नबलोस्
यो,आगो मा आफ्ना रोटी सेक्ने चतुरेहरूको
चतुर्याइँ मा दन्कियोस्
यो आगो, साँच्चै त्यहाँ दन्कियोस्
जस्ले यस्ता आगो हरूको कारोबार गर्छन्
तर बिन्ती छ
यो आगो, सर्वहाराको पेटमा नसल्कियोस्
पसिना बेच्न गएका परदेशीहरूको
रगतमा नसल्कियोस्
सल्किहाले पनि चाँडै निभी जाओस्
किनकी ,त्यो आगो सल्कियो भने
तिम्रो साम्राज्यमा मात्र हुनेछ
केबल हुनेछ!
आगो, आगो र मात्र आगो