कविता
प्यारा गाउँबासी,
हाम्रो श्रम शिविरमा बिहानको सवा ५ बजेको छ
नेपालमा आठ
सयौं हण्डरीले खाएको मनमा
यही तर्कना बजिरहन्छ
देश नफर्कन भनेको छ सरकारले
भनेको छ, यो राष्ट्रिय गान गाउने टाइम हो
कम्पनीले भनेको छ
यस महिनाको तलब कोरोनाले खायो
उताबाट जहानले र बच्चाले भनेका छन्,
बाउ छिट्टो घर आऊ ।
ठ्याक्कै दस दिन भो आज
सुख्खा खाना र पानी खाको यता
उता काठमाडौंबाट तीन दिन अघि
लाला बाला च्यापेर गाउँ हिँडेको दाजु
घर पुगेकै छैन।
भुइँचालोले भत्काएको घर बनाइयो जसो तसो
साथीभाइको ऋण तिरिइसकेकै छैन
महामारीले लगेन भने
भोकमरीले लग्ला कि अर्को साल ?
बेच्न सद्दे एउटा किड्नी छ
बाँचियो भने बेचिइएला त्यही।
हवस् त आजलाई मेरो
राष्ट्रिय गान यही सकिन्छ।
जय जय नेपाल।