उहिले उहिले पितापूर्खाले आशिश दिँदा
सन्तानले डाँडाकाँडा ढाकुन् भन्थे ।
ढाकेका पनि हौँ
ढाक्ने मात्र होइन
डाँडाकाँडा काटी
हिमालपारि पुगेका पनि हौँ
मेची महाकाली तरी
सीमापारि पुगेका पनि हौँ
चिलसरि उडेर
सात समुद्रपारि पुगेका पनि हौँ ।
हामी कहाँ पुगेनौँ ?
जता पनि पुग्यौँ
जहाँ पनि पुग्यौँ
पुग्नु पर्ने ठाउँमा पनि पुग्यौँ
नपुग्नु पर्ने ठाउँमा पनि पुग्यौँ
पापी पेटको सवाल थियो
यसले हामीलाई कहाँ पुर्याएन
पुर्याउनु पर्ने ठाउँमा पुर्यायो
नपुर्याउनु पर्ने ठाउँमा पनि पुर्यायो
जहाँ पनि पुर्यायो
जता पनि पुर्यायो ।
पुर्यायो त पुर्यायो
पुग्यौँ त पुग्यौँ
गयौँ त गयौँ
चाहेर मात्र गएका पनि होइनौँ होला
नचाहेर मात्र पनि गएका होइनौँ होला
अलिअलि बाध्यता थियो होला
अलिअलि रहर थियो होला
अलिअलि आवश्यकता थियो होला ।
जेले भए पनि तिम्रो काख छुटायो
जसले भए पनि तिम्रो काख छुटायो
छुटाउन त छुटायो
तर
हामीले तिमीलाई बिर्सेका थिएनौँ
तिमीलाई माया मारेका थिएनौँ
लास उता भए पनि
साँस तिमीसँगै छाडेर गएका थियौँ
बास उता भए पनि
आस तिमीसँगै छाडेर गएका थियौँ
‘जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी’
बिर्सेका थिएनौँ
बचेरा दिनभरी जता गए पनि साँझ घर फर्की आउँछ भन्छन्
त्यसैले
सहारा कोही नहुँदा, बेसहारा तिमीलाई सम्झेका थियौँ
भर कोही नहुँदा, अभर तिमीलाई सम्झेका थियौँ
चर कतै नहुँदा, लाचार तिमीलाई सम्झेका थियौँ
वश कतै नहुँदा विवश, तिमीलाई सम्झेका थियौँ
उपाय केही नहुँदा निरुपाय, तिमीलाई सम्झेका थियौँ
तर
तिमीले यो के गर्यौ आमा?
सहारा ठानी आउँदा सिमानामै बेसहार बनायौ!
भर परेर आउँदा सँघारमै अभर पार्यौ!
लाचार भएर आउँदा कठबाँस उज्यायौ!
विवश भएर आउँदा बुख्याँचा बनी तर्सायौ!
ज्यान बचाउने उपाय ठानी आउँदा बेजान बनायौ!
हातका औँला सबै बराबरै होइनौँ र!
कसैलाई ढोका खोली
हामीलाई बन्द ढोकाले स्वागत गर्यौ
तिमी नै भन्थ्यौ होइन र?
हामी यसै नांगेझार भएका होइनौ भनेर?
गाला मुसारेर र पसिना पुछेर तिमी नै भन्थ्यौ होइन र?
‘पिर नगर बाबु, दिनहीनका दिन आउँछन्’ भनेर ।
दृश्य दुस्मनसँग त लड्यौँ लड्यौँ
अदृश्यसँग लड्न नसकी
कालीको महाकाल मुखबाट अजश्र बगिरहेको
उर्लंदो भेल तरेर आउँदा पनि
हृदयको ढोका त के
टेँढो आँखाले पनि हेरिनौ
अरूको लाख आमाको काख भन्थे
होइन रहेछ, हो?
परेका बेला तिमीले पनि पिठिउँ फर्काउँदी रहिछौ, हो?
खोइ त आज आमाको न्यानो काख?