हरेक बिहान मेलोडीको मोबाइलको घण्टीसँगै बिउँझन्छ, समर्पण। अनि उनको 'गुड नाइट' शब्दसँगै निदाउँछ। यो उसको बाध्यता हो। आमाको साथ र ममता आजकाल उसलाई प्रतिक्षाको परीक्षाझैं भएको छ। पास गर्न सके प्राप्त हुने नसके गुम्ने जस्तो।
उनले छोरालाई नभेटेको निकै भयो। विछोडको पीडा सम्मिलित टेलिफोन संवाद उनको दैनिकीमा थपिएको छ। वर्षदिन पार गरिसकेको छ। तर छोरालाई भेट्ने पूर्वनिर्धारित मिति सरेको सर्यै छ। अझै कति लम्बिने हो केही टुंगो छैन।
छोराबाट टाढा हुन त कहाँ मन थियो र उनलाई? आखिर केही पाउन, केही त गुमाउनै पर्थ्यो। उनी आफैंले रोजेकी थिइन्। यो रोजाई उनको बाध्यता पनि थियो।
उनको परिवारमा तीन सदस्य छन्। उनी, ९ वर्षे छोरा समर्पण, अनि उनकी वृद्ध आमा। नाताभन्दा पनि भावनासँग धेरै जोडिएका पात्र हुन् यी। समर्पण, उनको जीवन जिउने एक उर्जा हो भने आमा, जीवन रथ गुडाउने एक सारथी।
सायद यिनै दुई पात्रकै कारण उनले आजसम्म आफ्नो रंगमञ्चको पर्दा बन्द गर्न सकेकी छैनन्। त्यसैकारण हजारौं दर्शकहरुले उनको अभिनयबाट एक भिन्न जीवनको कथा पढ्ने मौका पाएका छन्।
गत मार्च महिनामा उनीसँग मेरो भेट भयो। एक परिपक्व नारी, निकै कम बोल्थिन्। उनको अभिव्यक्तिबाट म जति उनलाई बुझ्थेँ, त्यसभन्दा धेरै उनको भावनाबाट। साझा भाषामा उनको खासै दख्खल थिएन, तर उनले के भन्न खोजेकी हुन् भन्ने कुरा शब्द बिना पनि बुझाउन सक्थिन्। उनको त्यो कलाबाट म प्रभावित भएको थिएँ।
भेटघाट पातलो हुन्थ्यो, तर गहन विषयमा कुराकानी हुन्थ्यो। मौका मिल्दा आफ्ना जीवनका भोगाई एकअर्कामा पस्किने गर्थ्यौं। कुराकानीमा कहिले सुख त कहिले दुःखका विषयले प्रवेश पाउँथे। हामी एकअर्काको जीवनबारे सामान्य जानकारी राख्ने भैसकेका थियौं।
१५ अप्रिलको साँझ तज्जुज रेष्टुरेन्टमा सँगै डिनर गर्ने सल्लाह भयो। भेटपश्चात् सामान्य कुराकानी गर्दै थियौँ। उनले पारिवारीक विषयको पोको फुकाउन सुरु गरिन्। उनीप्रतिको मेरो चासो अनि उनका कुरामा चाख दिएर सुन्ने बानीले होला, उनी प्रशस्तै खुलिन्। आफ्ना विगतबारे बताउन थालिन्।
कुराकानीकै क्रममा अचानक उनी भावुक भइन्। दुबै आँखामा आँशुका थोपा टिल्पिलाए। मोबाइल फोन मलाई दिँदै रेकर्ड गर्न भनिन्। अनि लामो सुस्केरा हाल्दै विरक्तिएको भावमा बोल्न थालिन्।
'बाबु समर्पण, आज म तिमीलाई सदाभन्दा धेरै याद गरिरहेको छु। सायद तिमीले पनि। आज राती निद्रामा मलाई बोलाउँदै रुंदै थियो रे। तिमीबाट टाढा हुँदा मलाई पनि निकै पीडा भएको छ बाबु। तिमीबाट टाढा हुनु मेरो बाध्यता हो भनि तिमीलाई कसरी बुझाउँ?
बाबु, तिम्रा बाबु जीवित हुँदाहुँदै पनि तिमी टुहुरो भएको छौ। तिमी गर्भमा आएपछि हाम्रो खुशी खोज्न गएका उनी आफ्नै खुशीमा अल्झिरहेका छन्। अझै फर्केका छैनन्। आजसम्म न तिमीले उनलाई देखेका छौ, न त उनले तिमीलाई।
एउटा आमाले सन्तानलाई हुने बाबाको अभाव त कसरी मेटाउन सक्थिन् र, असफल प्रयास गरिरहेँ। तिम्रो बाबालाई स्मरणबाट हटाउन पनि सक्दैनथें। तिमीलाई निराश बनाउन पनि चाहन्नथें। त्यसैले हरेक पटकको तिम्रो प्रश्नमा बाबा बिदेशमा हुनुहुन्छ अर्को वर्ष आउनुहुन्छ भनेर ढांटिरहें।
तर त्यो अर्को वर्ष तिम्रो लागि कहिले नि आएन। सायद तिम्रो बाबा हामीसँग भैदिएको भए हाम्रो जिन्दगी अर्कै हुन्थ्यो होला। तर हामीलाई त्यो नलेखेको रहेछ। अब त उनी बिना नै जिउने बानी परिसकेको छ मलाई।
बाबु, हाम्रो बाल्यकाल दुखमा नै बित्यो। ज्यालादारी श्रमिकको परिवारमा जन्म हुनु र निमेक गरेरै दुई छाक टार्नु हाम्रो साझा विशेषता थियो। गरिबीले हाम्रो पढाईलाई भने असर पारेको थिएन। हरेक वर्षको अन्तिम नतिजामा प्रथम र द्वितिय स्थान हाम्रै भागमा हुन्थ्यो।
आमाबुबा सानैमा बितेसँगै उसलाई काकाकाकीले हुर्काए। मान्छे असल त थियो। टुहुरो भएकोले पनि होला, मेरो बुबाआमाले उसलाई निकै माया गर्नुहुन्थ्यो। हामी धेरैजसो सँगै पढ्थ्यौं, सँगै खेल्थ्यौं। हाइस्कूल सँगै पास गर्यौं।
उच्च शिक्षा कसरी लिने भन्ने चिन्ता थियो। पापी दैवले बुबालाई ह्दयघातबाट लग्यो। हामी सहारा बिहीन भयौं। दुःखको समयमा उसले निकै साथ दियो। पहिलेदेखि नै नजिक थियो, अब त झन् हाम्रै परिवारको सदस्यझैं भयो।
समयक्रममा एक अर्कालाई माया गर्न थालिएछ। साथीबाट प्रेमी प्रेमिकाको सम्बन्धमा जोडियौं। लगत्तै विवाह गरियो।
उच्च शिक्षाको लागि उ, म र आमा तीनै जना सहर पस्यौं। उसले कन्सल्टेन्सीमा प्राइभेट नोकरी सुरु गर्यो। अनि मैले प्राइभेट स्कुलमा पढाउन।
जसोतसो गुजारा चल्दै थियो। आमा सडक दुर्घटनामा पर्नुभयो। एक पछि अर्को पिडा थपिदै गयो।
हिट एण्ड रन केश थियो। ठक्कर दिने सवारी साधन र चालक पत्ता लाग्न सकेन। आमाको उपचारमा निकै ठुलो खर्च लाग्यो। वर्षदिनसम्म दुःख गरेर कमाएको पैसाले छेउ पनि लागेन। निकै ऋण लाग्यो। तर पनि आमालाई पहिलेजस्तो बनाउन सकिएन। अपांग हुनुभयो।
त्यति नै बेला कोरियामा कामदारको माग भयो। आकर्षक तलब सुबिधाले उसलाई लोभ्यायो। ऋणमा परेकोले हामीले पनि नाईं भन्ने अवस्था रहेन। उ कोरियाको लागि उड्यो। आमा, म अनि गर्भमा रहेको तिमीलाई छोडेर।
उ गएको तेस्रो महिनादेखि नै हाम्रो जीवनले नयाँ मोड लियो। सुरुको दुई महिनाको पारिश्रमिक पठाएदेखि उ सम्पर्कमा आउन छोडेको थियो। अब फर्केर आउँदिन भनि पठाएको खबरले हामी मर्माहत भयौं। सम्पर्क गर्न धेरै प्रयास गरें। हरेक प्रयास असफल भयो। दिन महिना गर्दै वर्षौं बिते। न फर्केर आयो, न नै सम्पर्कमा।
मनमा धेरै कुरा खेल्ने, निद्रा नलाग्ने, मन व्याकुल हुने र हरेक रात आँशुले सिरानी भिज्ने क्रम चलि नै रह्यो। एकातिर उसको पीर, अर्कोतिर ऋणको बोझ। निकै मुश्किल हुँदै गयो जीवन धान्न।
गह्रौं ज्यान थियो। शारिरीक अस्वस्थता बढ्दै गएको थियो। मेरो आशाको दियो बनेर तिमी जन्मियौ। तिमीलाई हेरेर आफूलाई सम्हाल्ने कोशिस गरें। आफूले पाएका सारा दुख र कष्टलाई पेवा ठान्दै अँगाल्दै गएँ। कहिले पनि हरेश नखाने अठोट गरें। अनि तिमीलाई हुर्काउने र बढाउनेमा ध्यान केन्द्रित गरें।
गन्तव्य त अनिश्चित थियो। तर पनि अपांग आमाको साथमा आशाको दियो धिपधिप बाल्दै जीवन धकेलिरहें।
आँट मात्रै गरेर नहुने रहेछ, बाबु। न्युनतम् आवश्यकताका सामान समेत जोहो गर्न नसक्दा जीवन धान्न गाह्रो हुँदै जान थाल्यो। तिमीलाई हुर्काउनु अनि राम्रो स्कूलमा पढाउनु निकै चुनौतीको विषय बन्दै गयो।
प्राइभेट स्कुलले दिने न्युनतम तलवले तिम्रो जन्मसँगै बढेको खर्च धान्न मुश्किल हुन थाल्यो। राम्रो नोकरीको आवश्यकता भयो। प्राइभेटमा भन्दा राम्रो तलव सुविधा भएकोले सरकारी नोकरीको लागि प्रयास गरें।
तिमी एक वर्षको थियौ। प्रहरीमा भर्ना खुलेको जानकारी पाएँ। परीक्षा दिएँ। छनौट पनि भएँ। सरकारी तलबले हातमुख जोड्न र तिमीलाई स्कूल पढाउने त आधार भयो। तर पनि महिना बित्दासम्म तलब जत्ति नै सापटी लिइसकेको हुन्थें।
तलव आएपछि पहिलेको सापटी तिर्यो अनि फेरि उही पुरानै रितलाई पछ्यायो। यसैगरी तिमीलाई बढाउँदै अनि पढाउँदै लगें।
विभिन्न आरोह अवरोहका बीच नोकरी चल्दै थियो। जागिर सातौं वर्ष पुगेपछि एउटा मौका प्राप्त गरें। अफ्रिकाको द्वन्दग्रस्त क्षेत्रमा गई शान्ति स्थापनाका लागि काम गर्ने। यसबापत संयुक्त राष्ट्र संघबाट प्राप्त हुने दैनिक भत्ता आकर्षक हुने भएकोले यता आउने निर्णय गरें। आमाको साथमा तिमीलाई छोडेर।
म त एक्लो छैन बाबु। तिम्रो याद हरपल मसँग छ। तिम्रो सुन्दर भविष्य र खुशीका लागि सँगालेको 'एमएसए'ले मलाई भुलाएकै छ। यसैलाई सुम्सुम्याएरै तिम्रो स्पर्शको आनन्द लिन खोज्दैछु। अनि यसैलाई काखमा राखी हल्लाउँदै तिम्रो तृष्णा मेटाउने कोशिस गर्दैछु।
बाबु, आज मेरो आँखामा हाम्रो विगत घुमिरहेको छ। कतिपय सम्झना प्यारा लागेका छन्। तिनलाई अँगालोमा राख्न खोज्छु तर मसँग तर्की तर्की भाग्दैछन्। कतिलाई भने कोसौं टाढा धपाउन खोज्छु, तर झम्टी-झम्टी नजिक आई गिज्याउँदै छन्। अनि खाटो बसेको घाउ कोट्याउँदै आलो रगत निकाल्दै हाँस्दैछन्।
मैले जीवनमा पाएका चोट र भोगेका पीडा मानसपटलमा घुमिरहेका छन्। तिम्रो स्कूलको फी समयमा तिर्न नसक्दा रिजल्ट रोकिएको, धेरै उधारो भयो भनेर पसलेले सामान दिन छाडेको अनि समयमा डेराभाडा तिर्न नसक्दा घरबेटीले कोठाबाट टिभी लगेको घटना सबै ताजै छ।
कतिपय अवस्थामा परिस्थितिसँग जुध्न नसकी संयमता गुमाएको घटना आलै छ।'
उनी बोलिरहेकी थिइन्। मानौं कि उनले यी भावनाहरु व्यक्त गर्न वर्षौंसम्म पर्खेकी थिइन् र आज नै सही मौका हो जसलाई उनी उम्कन दिने छैनन्।
म उनलाई रोक्न त चाहन्नथें। तर मोबाइलको ब्याट्री सकिन लागेको संकेत आयो। उनको मैले उनीतर्फ ईशारा गरें। अहँ, उनी रोकिइनन्। हतार गरेर मेरो मोबाइलमा रेकर्डिङ सुरु गरें। उनी बोल्दै गइन्। अनि म भावहीन प्राणीझैं उनका वेदना मिश्रित सन्देश कैद गर्दै रहें।
'मेरा सबै दुःख गरिबीकै कारण सृजित थिए। गरिबीले नै हाम्रो खुशी लुट्यो। तर आज समय बदलिएको छ, बाबु। सामान्य हिसाबले जीवनयापन गर्न सक्ने भएको छु। तिमीलाई उच्च शिक्षा दिलाउन सक्ने सामर्थ्य पनि छ मसँग।
तर के गर्नु, मानिसको आवश्यकता समय र परिस्थिति अनुसार फरक हुँदो रहेछ। जतिबेला जे आवश्यक पर्ने हो, त्यस बेलामा पाइएन भने पछि यसको महत्व नहुने रहेछ।
दुई वर्षसम्म यहाँ काम गरेर फर्किएपछिको जीवन सुखी हुने मेरो विश्वास थियो। तर अहिले चाहना उल्टिएको छ। कतिबेला घर फर्कुं र तिमीलाई अँगालोमा बाधौं झैं भएको छ।
जब म त्यहाँको बारेमा सोच्न थाल्छु, मेरो मन आत्तिन्छ। उपलब्ध दक्ष स्वास्थ्यकर्मी र साधनस्रोतका सिमितताले चिन्ता बढाउँछ।
दिनहुँ हजारौं संक्रमित भइरहेका छन्। यो अवस्थामा जो कोहीले पनि म सुरक्षित छु र रहीरहन्छु भन्ने अवस्था रहँदैन। मलाई केहि भइहाल्यो भने तिमीलाई भेट्ने मौका समेत पाउँदिन कि भन्ने चिन्ताले जलाइरहेको छ।
बाबु, यो रेकर्डिङ तिम्रो लागि हो। तर म चाहन्न कि मभन्दा पहिले यो भिडियो तिमीकहाँ पुगोस्। अनि यो पनि चाहन्न कि कतै तिमीप्रतिको मेरो चिन्ता सत्य होस्। मलाई विश्वास छ, मैले आजसम्म सँगाली राखेको खुशी लुट्ने हिम्मत कसैले गर्ने छैन।'
मेलोडीले वालेटबाट एउटा सानो तस्बिर निकालेर छातीमा टाँसिन्। अनि दुवै आँखाबाट बलिन्द्र धारा आँशु बगाउँदै रुन थालिन्।
म असमञ्जसमा परें। मोबाइल बन्द गरी टेबुलमा राखें। अनि उनलाई सान्त्वना दिदै भनें, 'हरेकको जीवनमा दुःखपछि सुख अवश्य आउँछ। अब तिम्रो सुखी अनि खुशी हुने पालो हो। छिट्टै सबै कुरा ठिक हुँदै जान्छ। चिन्ता नगर कसैलाई केही हुँदैन। तिमी छिट्टै छोरा भेट्न जादैछौ।'
मैले यसो भनिरहँदा कसैले मलाई बोल्न नदिएको आभास भयो। एक अनौठो आवाजले म झस्किएँ। अचानक आफूलाई बेडमा पाउँदा डराएँ पनि। हतारिएर मोबाइल खोजें अनि त्यही रेकर्डिङ खोजें। तर कुनै रेकर्डेड भिडियो पाइन।
मेरो आंखाले मेलोडी खोजे, तर उनी देखिइनन्। बल्ल चाल पाएँ। मैले सुनेको मेलोडीको कथा, मेरो सपना रहेछ। अनि बिहानीको अलार्मले मलाई बिउँझाएको रहेछ।