कविता
परार साल सँगै दिवस मनाएका
सबै साथीसँग पोहोर मनाउन पाएनौं
पोहोर मनाएका साथीहरूमध्ये कति सम्झनामा मात्र छन्
के थाहा सरकार !
अर्को वर्ष साथीहरूले मलाई नै नपाउन सक्छन्
मेरो नाममा एउटा दीयो बाल्न सक्छन्
सरकार, तर म त्यो चाहन्नँ
त्यसैले म बाँच्न चाहन्छु।
हिमोफिलियाले जन्माएका
शरीरका नीलडामहरू
रक्तस्रावले सुनिएका अंगहरू
सुकेका मांसपेशीहरू
बिग्रिएका जोर्नीहरू
सानो चोटमा पनि निरन्तर बगेको रगत
त्यो रगतको भेल हेर्न चाहन्नँ सरकार!
त्यसबाट म मर्न चाहन्नँ
अनि, मेरा साथीहरू गुमाउन चाहन्नँ सरकार,
सरकार! म मर्न चाहन्नँ ।
म देशका लागि पसिना बगाउन चाहन्छु,
पसिनाका थोपाले मातृभूमि सिञ्चित गर्न चाहन्छु,
मेरा पसिनाका थोपाहरू
मुलुकको प्रगतिपथका लागि
सहयात्री बनाउन चाहन्छु सरकार!
छुटिसकेका मेरा साथीहरूका पनि
राज्यको मुहार बदल्ने र
समृद्ध नेपाल हेर्ने चाहना थिए।
सरकार, उनीहरूका सपना
केबल मिथ्या भए,
म त्यो चाहन्नँ सरकार!
हाम्रो विगत अति कष्टकर रह्यो
वर्तमान पनि खासै परिवर्तित छैन
तर,
म बाँच्न चाहन्छु सरकार,
उज्वल भविष्यको कल्पनामा।
मेरा छुटेका साथीहरूलाई
रक्ततत्वको अभावमा गुमाउन पर्यो
उनीहरूको समीपमा बसेर
रूँनु सिवाय मसँग विकल्प थिएन सरकार!
अन्तिम विदाइका लागि उपस्थित हामीहरूले
यसरी नै अब कसलाई गुमाउनुपर्ने हो
अब, कोसँग छुट्टिनु पर्ने हो भन्दै
एकअर्कालाई ट्वाल्ल परेर हेर्थ्यौ
र आज पनि हेरिरहेका छौं
एकसाथ आँसु झारिरहेका छौं।
सरकार,
हामी बाँच्ने आधार
अनि अधिकार खोजिरहेका छौं
संविधानमा, ऐनमा, सन्धि, महासन्धिमा
सबैतिर लेखिएको छ
देखिएको छ भन्छन्
तर त्यसमा
हजुरको नजर पुग्न सकेन सरकार!
र त खोसियो हाम्रो बाँच्ने अधिकार।
लेखिएर मात्र भएन सरकार!
हाम्रो स्वास्थ्यको हक खै?
हामीले मौलिक हक पाएनौं सरकार
त्यो पाउने अधिकार हामीलाई छैन र सरकार?
सानो चोटको पीडाले छटपटाउँदै गए
धेरै साथी रहेनन् सरकार!
हाम्रा प्रत्येक कार्यक्रमहरू,
साधारण सभा, अनि दिवसहरू
वर्षै पिच्छे दिवंगत साथीहरूको
सम्झनामा मौनधारण गर्दै
प्रारम्भ गर्नुपरेको छ सरकार
हामी यो विवशताको अन्त्य चाहन्छौं
अकालमा ज्यान गुमाएका साथीहरूको
सूची बनाउन र त्यसमा चढ्न चाहन्नौं सरकार
त्यसैले सरकार!
म बाँच्न चाहन्छु
र हामी बाँच्न चाहन्छौं।
हामी अनन्तसम्म पनि विकासका लागि
साझेदार बन्न, हातेमालो गर्न चाहन्छौं सरकार
त्यसैले सरकार हामीलाई बचाउनु पर्यो
सरकार! व्यवहारमै हाम्रो अभिभावक बन्नुपर्यो
हैन भने सरकार,
अरू नै देखाउन सक्नुपर्यो
सरकार! मलाई हिमोफिलिया छ भन्दैमा
के म बाँच्न पाउँदिनँ सरकार ?
उपचारको अभावमा
रगत बगाएर मर्न चाहन्नँ
सरकार! म बाँच्न चाहन्छु
विश्व हिमोफिलिया दिवस
जसोतसो मनाउने गरेका छौं सरकार!
अर्को दिवसमा फेरि,
यस्तो सूची बनाउन चाहन्नौं सरकार!
शुभकामना मात्र साट्न चाहन्छौं सरकार
त्यसैले सरकार, म मर्न चाहन्नँ
म बाँच्न चाहन्छु।
साथीहरू गुमाउन चाहन्नँ र बचाउन चाहन्छु सरकार!
सरकार म बाँच्न चाहन्छु।