कविता
हो हजुर म भोकै फर्कन चाहन्छु
म प्यासै फर्कन चाहन्छु
म मेरो देशको सपनाको लागि हिजो रातो बाकसमा फर्किएको थिएँ
तर म आज जिउँदो फर्कंदैछु
फेरि पनि सपना लिएरै फर्कंदैछु
म खाली खुट्टा, खाली पेट र रित्तो गोजीनै फर्कंदैछु
हजारौं मिलको मातृभूमि यात्रा
हिजोसम्म मेरो स्वागत थियो गोजी भरिएर फर्किंदा
आज म किन रोकिएको छु सीमानामा? मेरो खल्तीको तौल र गहिराइले मेरो
राष्ट्रियता ननापियोस्
ए महाकाली बेचेर जनताको लागि लड्नेहरू, देशप्रेम खोज्नेहरू
म महाकालीमा हाम फालेर देशप्रेम कसरी देखाऊँ?
हिजो दशगजा मिचिँदा सीमा नदेख्नेहरू
म मेरो खाली शरीर लिएर मेरो आत्मा सँग जोडिन आउँदैछु
म - म सँग जोडिन आउँदैछु
ए बेच्न पल्किएकाहरू
मैले मेरो देशको लागि मुम्बईको कोठरीमा अस्मिता बेचेको छु
अफगानिस्तानमा टाउको रेटेको छु
मरूभूमिसँग यौवन साटेको छु
लडाइँमा छाती थापेको छु
म कायर छैन यो सीमाले रोकिने
म आफ्नै छातीमा लात टेकेर म-म हुन चाहन्नँ
मलाई अंगालोभरि प्रेमले बाटो देखाउनुस् म देशको माटो हिँड्न चाहन्छु।
ए चप्पल लगाएर सिंहदरबार छिर्नेहरू
म खाली पैतालाले नाप्दैछु सीमानाको यात्रा अपनत्वको यात्रा पहिचानको यात्रा मातृभूमिको यात्रा
चिन्नुहोस् म त्यही नागरिक हुँ
जसले देशको घर चलाएको छ
यो देश सगरमाथा मुनि छ
तर यसको सास र यसका मुटुहरू मरूभूमिमा छन्
म त्यही मुटु फर्कंदैछु
मैले बनाएका मालिकहरू म रोकिन चाहन्नँ
यो अपरिचित देशमा
म फर्कंन चाहन्छु मेरै माटो
मलाई मेरो देशकै झरीले चुटोस्
हावाले उडाओस्, नदीले बगाओस्
म भोलिको घाम मेरो सपनाको मेरो देशको अग्लो हिमालबाट नियाल्न चाहन्छु
मलाई मेरो हिमालले खोजिरहेछ
पहाडले पर्खिरहेछ र तराईले आशाको अन्जुली लिएर कुरिरहेछ म-म हुनुको यात्रा
मातृभूमि यात्रा