कविता
म निन्द्रामा मस्त रहँदा मेरी आमा,
मेरै निम्ति कयौं रात जाग्राम बस्थिन् होला
मेरो एक थकान मेटाउन मेरी आमा,
मेरा पाउ अनि हत्केलाहरूमा
कति तेल घस्थिन् होला ।।
मेरै निम्ति मीठो पकाउन,
नबल्ने दाउरासित संघर्ष गर्दै,
धुँवामयी चुल्होको समिपमा अश्रुधारा बगाउँदै मेरी आमा,
कति श्वास फाल्थिन् होला
पत्तै हुन्नथ्यो मलाई ,
मेरी आमा कतिबेला त्यस्तो दियो बाल्थिन् होला ।।
तब त ,
मेरो घरमा बिहान आशा बोकेर आउथ्यो,
दिन उज्यालो हुन्थ्यो अनि रात झिलिमिली हुन्थ्यो
घरमा सधैं खुसीयाली हुन्थ्यो ।।
देखाउदिनन् दु:ख कहिल्यै मेरी आमा,
न त कहिल्यै सुनाउँछिन्
रूँदिनन् मेरो अगाडि आमा,
न त कहिल्यै रूवाउँछिन्
मेरी आमा ।।