तिम्रा पटपटी फुटेका गोडा हेरेर म टोलाएको देख्दा
कतै यसले देख्लीझैं गरी धोतीले कुर्कुच्चा छोपेको सम्झन्छु
अनि
चिसो पानीले सुनिएका औंला तिम्रा नाडी जत्राहुँदा
कोसौ टाढाको खोरिया खोस्रिएर बारी बनाएका गह्रा
बेलुकीको चुल्हो बलाउने झिंजा समेटेको भीमकाय भारी
निगालाको सुइरोरूपी तिम्रा खुट्टीले थाम्दो हो कसरी ?
र पनि तिमी खुसी नै थियौ
नभए हाम्ले तिमी रोएको
अथवा गुनासो गरेको सुन्नुपर्ने हो
कि खरको छानोमाथि तरतरी चुहेको बलेनीले छेकेको हो?
कि बाँसले बारेको भित्ता ले रोकेको हो??
तर तिम्रो मनले नै रोकेका
दुःख पीर र बेदनाका पोका
कहिल्यै हाम्रा सामू फुकाइनौ आमा
आफ्नो गाँस कटाएर हाम्रो भरपेटको यात्रा
तिम्रालागि कति महाभारत थियो त्यो !
तर नमरी स्वर्ग देखिन्न त्यसै भनिएको होइन रहेछ
दुई छाकका लागि लडाइँ लड्नु नपर्नेहरूलाई
तिम्रो कहानी एकादेशको कथा मात्रै होला
तर तिम्रो सङ्घर्षका साक्षी बनेका हामी चिचिला
तिम्रो जस्तै अभाव झेल्न तयार हुँदैथियौ झुपडीमा
अहँ तिमीले कहाँ दियौ र हामीलाई तिम्रो सारथी बन्न
आफू अनपढ भएको बदला लिँदै थियौ
कोसौ परको शिक्षालय भेटाइदिएर
सरस्वती दाहिना हुने आशिक जो दिन्थ्यौ
हाम्रा पेटले अघाइन्जेल अन्न नभेटे पनि
किसिम किसिमका नाना नदेखे पनि
तिम्रो सपनाले पालुवा हाल्दै थियो
दाइले स्कुलको इतिहासमै प्रथम श्रेणीमा एसएलसी पास गर्यो
अब मेरो पालो थियो
नभन्दै मैले पनि दाइको विरासत थामेरै छोडें
हामीले जोगाएको स्कुलको नाक धेरै वर्षसम्म कसैले तोड्न सकेन
आमा हामीले तिम्रो सपनामा जग हाल्दै गयौं
संयोग !
दाइलाई डाक्टर पढ्ने सौभाग्य मिल्यो छात्रवृत्तिमा
मेरो नर्स बन्ने चाहना पनि पूरा भयो
एकै अस्पतालको छहारीमा दाजुसँग काम गर्दा
निको भएका बिरामीको मुहारले झल्काउने खुसी
थलिएका बिरामी ठमठमी हिँडेर बिदाइ गर्न पाउँदाको आत्मसन्तुष्टि अन्त कहाँ मिल्नु !
बिरामीको स्याहारमा रम्दा रम्दै
कैले घरमा छोराछोरीले आफ्नो बाटो हेरेको भुलिँदो रैछ
त्यसै हामी भगवान भएका होइनौं
अहिले झन् परिस्थिति जटिल भएको छ आमा
कोरोनाको कहरले विश्वलाई कायल बनाएको छ
सेतो कोट लगाएरै जित्नेछौ त्यो भाइरसलाई
मलाई भेटघाट अनि रमाइलो जमघट मन नपर्ने कहाँ हो र
फोन गरेर धरधरी नरूनु आमा
दुई चार दिनमा, नभए महिनामा
तिम्रा छेवैमा बसेर मकै भटमास खान आउँला
मलाई भगवान बनाउने आमा ।।