नाम हरिहर बाजे। उमेर ७३। पेशा जजमानी अर्थात् बेलासपुर गाउँको एक्लो पुरोहित। गाउँमा बस्ती घट्दो क्रममा छ । अधिकांश युवा विदेशमा छन्। विदेशिनेहरूका परिवार सहरमा।
अचेल परिवारको परिभाषा फेरिएको छ। विदेश जानेहरू भन्छन्, ‘फ्यामिली सहरमा राखेको छु। बाआमा चैं गाउँमै छन्।’
परिवार भित्रबाआमा अटाउन छोडिसके। तिनै फ्यामिलीमा अटाउन नसकेका बाआमाका पुरोहित हुन् हरिहर बाजे।
हरिहर बाजेको घरमा सानो रेडियो छ। अचेल रेडियोमा बेटरी हाल्नु पर्दैन। गाउँमा हरेकको घरमा सोलार जोडिएको छ। त्यही सोलारले बिहान साँझ रेडियो मज्जाले घन्किन्छ। भर्खर जोडिएको सोलारको कथा लामो छ। तर छोटकरीमा भन्छु।
एकदिन बाजे नित्य स्नानका लागि बिहान सबेरै उठे। हातमा घडी बाँधेका छन्। तर घडी हेर्दैनन्। आकाशको तारा हेरेर रातको प्रहर थाहा पाउने बाजेको पहिलेदेखि कै बानी। त्यही बानीले उनलाई हरेक बिहान सबेरै पँधेरो पुर्याउँथ्यो।
त्यो बिहान पनि, बाजे १५ मिनेट परेको पँधेरो पुगे।
सायद पूर्णेको अघिल्लो रात हुँदो हो। बाजेले पँधेरो जाँदा टर्च बोकेनन्। खोल्सीको पँधेरो। वरिपरि ठूल्ठूला रूख। बिहान साँझ चिरबिर गर्ने चरा पनि सायद ब्युँझिएका थिएनन्। बाजेले दुई चार पटक खोकेर आफू पँधेरो आइपुगेको जनाउदिए। त्यो जनाउ तिनै चराहरूका लागि होला।
नुवाई-धुवाई सकेर घर फर्किंदा बाजे सद्दे फर्किएनन्। बाजेको हातमा चोट थियो। खुन बगिरहेको थियो। पुरेत्नीआमई धामीको घरतिर कुदिन्। बाजे आलस-तालस भएर पिँढीमै पछारिए। धामी आइपुग्दा बाजे बेहोस् भइसकेछन्। तब थाहा भो, बाजेलाई त नागले पो डसेछ। पुरेत्नीआमई पन्छाउन थालिन्। भाकल गर्न थालिन्। धामी भने बिख झिक्न थाले। गाउँलेहरूलाई खबर गरियो। गाउँले जम्मा भएपछि धामीले सल्लाह दिए, बाजेलाई हस्पिटल लानुपर्छ। उज्यालो नहुँदै बाजेलाई स्टेचरमा राखेर सहर झारियो।
सहर पुग्दासम्म बाजेको होस् फर्कियो। सायद, सर्प त्यति बिखालु थिएन। कि त नुहाउँदा बिख पानीले पखालियो। असर खासै देखिएन। हस्पिटल पुग्दासम्म बाजे बोल्न सक्ने भइसकेका थिए।
डाक्टरले सामान्य ओखती दिएर फर्काइदिए। जाँदा स्टेचरमा गएका बाजे, फर्किंदा ठमठम हिँडेर फर्किए।
त्यो बिहान बाजे, ठीक समयमा ब्युँझेका थिएनन्। उनको मनको घडी गडबड भएको थियो। हातको घडी हेरेनन्। तारा हेरेकै हुन्, तर आफ्नै आँखाले पनि धोका दिए। आधा रातमै स्नानका लागि पुगे। घरमा बत्ती थिएन। धिप्री (टुकी) बाल्न जाँगर चलेन। गाउँले सबैको घरमा सोलार बल्थ्यो। तर बाजेको घरमा धिप्री। लोभले लाभ। लाभले विलाप। त्यही दिन निश्चय गरे म पनि सोलार जोड्नेछु। हातको घडी हेर्नेछु। एउटा भित्ते घडी पनि राख्नेछु।
सोलारको कथा १० वर्ष अघिको हो। अब अहिलेको कथा सुनाउँदै छु।
हरिहर बाजेको घर गाउँको सिरानमा छ। उकाली ओराली गर्नेहरू बाजेको आँगन टेकेरै जान्छन्। कोही चाहिँ पिँढीमा टुसुक्क बस्छन्। पुरेत्नीआमईसँग पानी माग्छन्। पुग्नुपर्ने गाउँ र बाटो सोध्छन्। अनि जान्छन्। कोही कोहीले सन्चो बिसन्चो पनि सोध्छन्। उनीहरूलाई आमईले चिया खुवाएरै पठाउँछिन्। फिक्का चिया। तर चिनी चाहिँ बेस्मारी हालेर। चिया खान पाएकाहरूको जिब्रो ओठतिर घुमिरहन्छ, घुर्बिसे डाँडो नकट्दासम्म।
हरिहर बाजे एकाबिहानै रेडियो सुन्छन्। धार्मिक कार्यक्रम नछुटाई सुन्ने बानी छ। अनि समाचारमा पनि चाख मान्छन्। आज बाजेले अनौठो समाचार सुने। कोरोनाभाइरस विश्वभरि फैलियो। नेपालमा पनि आयो। अब घर बाहिर निस्किन नपाइने। कतै भीड र भेलामा जान नहुने। अरूलाई भेटे कोरोना सर्न सक्छ। सरसफाइमा ध्यान दिनुपर्छ। साबुनपानीले हात धुनुपर्छ। यस्तै यस्तै.. ।
रेडियोले सासै नफेरी थुप्रै कुरा भन्यो। बाजेले आधाउधी बुझे। बुझेकोमध्ये आधाउधीमात्रै सम्झिए सम्झेकोमध्ये बुढीलाई सुनाउँदासम्म कोरोनाभाइरस करूवा हुनपुग्यो। तर हरिहर बाजेले एउटा कुरा चाहिँ बिर्सनै नसक्ने गरी सम्झिए। घर बाहिर निस्किनै नहुने कुरा। बाजेलाई यही कुराको पीर पर्यो। घर बाहिर ननिस्किए, जजमानी कसरी गर्नू? जजमानी नगरे भोको पेट कसरी पाल्नू?
जग्गा जमिन नभएको होइन। आँखाले नभ्याउन्जेल खेतैखेत छ। तर सबै बाँझै। खेती लाउन छोडेको जुग भइसक्यो। बाहुनले हलो जोत्न हुँदैन भन्थे। हली पाउन्जेल्, बाजेले खेती नगरेका होइनन्। हली पाइन छोडेपछि खेत चउर बनेको छ।
महिनामा दुई चार वटा श्राद्ध(सराद्धे) पथ्र्यो। एकादुई मराउ पराउ। अनि बिहे बटुल र रुद्रीपूजा। हरेक दिनजसो जजमानकै घरमाभान्सा।
बेलुका घर फर्किंदा पाथी चामल र दुई चार सय दाम। दुई बूढाबुढीको जन। दश दिन जजमानी गरे एक महिनालाई ढुक्क।
हरिहर बाजेले आमईलाई सोधे ‘चामल कति दिनलाई पुग्छ ?’
‘दिन चारेकलाई पुग्ला’आमईले जवाफ दिइन्।
त्यसपछि के खाने त ? हरिहर बाजेले मलिन अनुहार बनाए।
‘बिहे गरेर आको ३ बिसा नाघिसको। अहिलेसम्म यस्तो कहिलै परेन। खै के भनुम्, के खाने के खाने ?’ आमईको जवाफ।
बाजेलाई आफू पुरोहित भएकोमा पहिलो पटक ननिको लाग्यो। थकथकी लाग्यो, किसानी गर्न पाको भए। भकारी भरी धान हुने थियो। थाङ्क्राभरि मकै। हलगोरू र माउ पाडा भैंसी गोठमा हुने थिए। दुई चार वटा खसी बाख्रा पनि हुन्थे होला। काम भ्याई-नभ्याई हुन्थ्यो। खान पनि मीठो मसिनो खाँचो हुन्थेन।
विहानै उठेर पँधेरा कुद्नु पर्थेन। बरू ढुंग्रो बोकेर गोठ जानुपथ्र्यो। फिक्का चियाको सट्टा दुई डाडू दूध पिउन पाइन्थो। के थ्यो र, दुई बूढाबुढीले दिनदिनै खीर खाएनि पुग्थ्यो। हरिहर बाजेको जिब्रो रसिलो भो। बाजेले घुटुक्क थुक लिने।
‘हैन, यी बूढा कि न टोलाका?’ बाजे थुकले घाँटी भिजाउँदै थिए। आमईको बोलिले झसंग भए।
‘टोलार बसेर मुखमा माड लाग्ला त अब?हप्तादिन त जसोतसो पुराम्ला। त्यसपछि ?’ आमईको स्वर उच्च भो।
बाजेले पुलुक्क आमईको आँखामा हेरे । अडिन सकेनन्। नजर झुकाए। बिहे गरेको ६० वर्षपछि पहिलो पटक बाजे आमईको आँखासँग हारे।
निस्कन हुन्न भनेपछि, घरबाट निस्किने कुरो पनि भएन। भोकसँग नहारेसम्म रोगको डर मान्नै पर्यो। बाजेले ३ भाई छोरा र ४ बहिनी छोरी काखमै गुमाएका हुन्। सातै जना छोराछोरीले अस्पतालको मुख देख्न पाएनन्। त्यो फेरि ४० वर्षअघिको कुरो। त्यही कुरोले बाजेलाई रोगसँग थर्कमान बनायो।
बूढाबुढीले सल्लाह गरे, सकेसम्म फारो गरेर पकाउने। बरू एक गाँस थोर खाने। तर खेर नफाल्ने। यसैगरी १५ दिन बित्यो। सात दिनसम्म पुग्ला भनेको अन्न १५ दिन टिक्यो।
१५ औं दिनको बेलुका। घाम डुब्नै लागेको थियो। आमई चिम्टा र डालो बोकेर जंगलतिर लागिन्। फर्किंदा डालोभरि सिस्नु थियो। आज घरमा अन्न पाक्ने छैन। सिस्नु उमालेर हरिहर बाजेका बूढाबुढीले छाक टार्नेछन्।
रेडियोले बारम्बार फुकिरह्यो। राहत बाँडिएको छ। घर घरमा चामल, दाल र नुन तेल पुर्याइएको छ। कुनै कुराको खाँचो छैन। कतै खाँचो परेको भए सरकारले टार्नेछ। हरिहर बाजेले रेडियोको कुरा सुने तर पत्याएनन्। जिन्दगीमा पहिलो पटक लिएको सिस्नुको स्वादले रेडियोको कुरा पत्याउन दिएन। बाजेले पत्याए पनि पेटमा पच्दै गरेको सिस्नुले फिटिक्कै पत्याएन।
एकाबिहानै चिया पकाउनु र पिँढीमा बसेर पिउनु आमईको आदत हो। आज चिया रङ सकिएछ। खयरको चोइटो उम्लिँदै गरेको पानी हालिन्। पानीले रङ लियो। बूढाबुढीले त्यही खयर पानीलाई चिया जस्तै पिए। सुरूप् सुरूप्!
१६ औं दिनको बिहान। बाजे कोदालो बोकेर खेततिर लागे। आजका लागि खानाको जोहो गर्नुछ। अन्न छैन। कन्दमूल पाइएला कि भन्ने आश छ। नभन्दै खेतले धर्म छोडको रहेनछ। जंगल बन्दै गरेको खेतमा प्रशस्तै बाँको भेटियो। दुई चार बोट गिठा पनि। बाँको र गिठा खनेपछि बाजे रूखो खेत हेरेर भक्कानिए। पहिलो पटक आफ्नै खेतको मायाले रूवायो बाजेलाई। पसिनाले सिँचिनु पर्ने धरती। तातो आँसुले के भिज्थ्यो।
गाउँ घुम्न छोडेको २० दिन बितेछ। यो बीचमा बाजेलाई खोज्दै कोही आएनन्। इष्टमित्र र जजमान भनेका, सबै कुरा ठीकठाक हुँदामात्रै रहेछन्। कतिवटा श्राद्धे फुत्कियो। तिथिको हिसाब रहेन। न त दान दक्षिणाको। अब हिसाबमात्रै छाकको रह्यो। बिहान सिस्नु खाए, बेलुका बाँको। बेलुका बाँको खाए, बिहान सिस्नु। सुरूका दिनमा सिस्नुको चिउलामात्रै खाए। दिन घर्किंदै जाँदा डाँठ पनि पकाए। तर डाँठ र छिप्पिएको पातले जिब्रो बेस्कन चिलाउँथ्यो। पेट रित्तिनुभन्दा त जिब्रो चिलाएकै बेस।
एक साँझ बाँकोले खुबको क्यायो। पकाउँदा के मिलेन के। कोक्याटो मार्न बूढाबुढीले नै नुनको फाँको हाले। र्याल सिंगान बनायो। तर कोक्याउन छोडेन। त्यसै साँझ निधो गरे अब भोकले मरिन्छ तर बाँको चाहिँ खाइन्न।
रेडियो पनि तरह तरहका खबर सुनाउँछ। बेलासपुरमा चामल बाँडियो रे। गरिब र विपन्नको घरघरमै पुर्याइयो रे। हरिहर बाजे त बाहुन परे। अझ गाउँकै गन्ने मान्ने पुरोहित। बाजेको घरमा राहत आएन। सायद बाहुनको घर भएर, राहत दिन आवश्यक ठानिएन।
हरिहर बाजे र आमई दुई दिनदेखि भोकै छन् र सोचिरहेछन्, बाहुन पनि विपन्न हुन्छन् र ! बाहुनलाई पनि भोक लाग्छ र!