रेशा भट्टराई
बाबु उठ् आज आज रिजल्ट लिन ८ बजे नै स्कुल पुग्नु पर्ने होइन र? सात बजिसक्यो।
बा को आवाजले म बिउझिएँ। हिजो राति हेडसरलाई निवेदन लेख्दा सुत्न निकै अबेर भएछ।
हत्तपत्त उठेर हिजो रातिनै खामबन्दी गरेर राखेको निवेदन बाका हातमा थमाउँदै भने- बा मेरो रिजल्ट बुझ्नुभन्दा पहिले नै यो निवेदन हेडसरको हातमा लगेर दिनुहोला। म आज अनिँदो छु। स्कुलमा रिजल्ट लिन जान सकिनँ। हेडसरले पढ्नु हुनेछ। हजुर र अरू सबै सर मेडम बसेर सुन्नु होला।
बा स्कुलतिर लाग्नु भयो। म फेरि सुतेँ। यो सोच्दै अबको एक घण्टामा मेरो निवेदन पढिने छ।
श्रीमान् प्रधानाध्यापक ज्यू,
श्री राष्ट्रिय माध्यमिक विद्यालय।
विषय: साँच्चिकै फेल हुन पाऊँ।
महोदय,
यो निवेदन मैले हजुर लगायत सबै सर मेडमलाई लेखेको हुँ। सर्वप्रथम त मलाई अक्षर चिनाएर सामान्य जोड घटाउ एवम् प्रतिशतको हिसाब जान्न सक्ने बनाएर यो निवेदन लेख्नेसम्म बनाउनु भएकोमा सम्पूर्ण सर मेडममा हार्दिक आभार प्रकट गर्दछु।
पोहरसाल बा र म रिजल्ट लिन आँउदा मलाई दुइटा विषय लागेर फेल भएको कुरा बा लाई थाहा नभए पनि मलाई थाहा भैसकेको थियो। रिजल्ट सुनेर फर्किएका साथीहरूबाट। आधा बाटो आइसकियो स्कुलसम्म पुगेर फर्कौंला भनेर बासँग स्कुल गएको थिएँ।
सर मलाई फेल हुँदा पनि पटक्कै दु:ख लागेको थिएन। लागेको भए त आधा बाटोबाटै रूँदै घर फर्कन्थे होला। कहाँको स्कुलसम्म पुग्नु नि। नढाँटेर भनुम् भने मलाई भित्रभित्र खुसी लागेको थियो किनकी बाले मलाई बेला बेलामा भन्ने गर्नु हुन्थ्यो। फेल भइस् भने म तँलाई स्कुल नै पठाउन्न। म जस्तै माटोमै भुलेर जिन्दगी काट्नु पर्छ बुझिस्।
अब मलाई स्कुल जान नपर्ने भयो। मैले मेरो रुचि अनुसारकै काम गर्न पाउने भएँ। बाले बनाएका भाँडाकुँडामा मेरो दिमागमा आएका बुट्टाहरू भर्न पाउने भएँ।
सर जब हामी स्कुल पुग्यौं। हामी बाउछोरा अफिस कोठामा छिर्ने बित्तिकै हजुरले मेरो मुखतिर पुलुक्क हेरेर भन्नुभएको थियो "बाबु के गर्छौ। तिम्रो रिजल्ट बिग्रिए छ। दुइटा विषय लागे। पीर नगर। अर्को वर्ष ......."
हजुरले आफ्नो कुरा सक्न नपाँउदै बाका आँखाबाट बर्रर आँसु झरेको थियो। लौ बा फेल हुनु भाको कि म। मलाई अचम्म लागेको थियो।
बाले भक्कानिँदै भन्नु भएको थियो "सर म माटाको भाँडाकुँडा बनाएर गुजारा चलाउने मानिस आफूले पढ्न नपाए पनि छोरालाई पढाउने मन छ। यसपालिलाई पास गराइदिनु पर्यो। मैले यसलाई राम्रोसँग सम्झाउला बरू साँझबिहान ट्युसन राखिदिउँला। मेरो छोरा कहिल्यै बरालिएर हिँड्दैन। घरमा पनि पढिरहन्छ। कहिल्यै स्कुल जान्न भन्दैन। यो साल खै के ग्रह बिग्रेछ म राम्रो ज्योतिषी हेराएर ग्रह जप गरौंला। यसपालिलाई पास गरिदिनु पर्यो।"
सर बाले आफ्नो कुरा नसक्दै आँखाबाट बर्रर आँसु खसाल्नु भएको थियो। बा क हिक्कहिक्क आवाज सहितको बलिन्धारा आँसु देखेर मैले पनि आफ्नो मन थाम्न नसकेर पढ्छु पढ्छु भन्दै रोएको थिएँ।
आफ्नो अगाडि दुई जोर आँखाका आँसु र एकजोर मानिसका हिक्का सुन्दा हजुरलाई पनि मन थाम्न गार्हो भएको थियो होला तर हजुरले मलाई पास गर्न मिल्थेन। यदि बाले अन्य स्कुलको दुइटा विषय लाग्दा पनि पास गर्न सकिने प्रावधान सप्रमाण पेश नगरेको भए।
हामी बाबु छोराको आँसु, बाको छोरालाई पढाउने दृढ इच्छा, आगामी वर्ष राम्रोसँग पढ्ने मेरो प्रतिबद्धता, अन्य स्कुलको दुई विषय लागे पनि पास बनाउन सकिने प्रावधान। मुख्य यी तीन कारणले गर्दा हजुरले मेरो मार्कसिट सच्याउँदै प्रमोटेड पास लेख्न बाध्य हुनु भएको थियो।
"लाटा! त्यो रिजल्टको फेल त ख्याल ख्याली को पो त! मेरो छोरा कहाँको साँच्चिकैको फेल हुन्छ।" बाले माटो लागेको हातले आफ्नो आँखा र नलागेको हातले मेरो आँखा पुछ्नु भएको थियो।
सर मलाई पढ्न साह्रै गाह्रो लाग्छ। मिनिङ नै नबुझेका अङ्ग्रेजी विषयको सिनोनिम र इन्टोनिम घोक्नु पर्दा, बुझ्दै नबुझिने हिसाबमा दिमाग खियाउनु पर्दा, सजिलो नेपालीलाई पनि व्याकरणले गाह्रो बनाइदिँदा, मेरो टाउको यति भारी हुन्छ कि फाइनल परीक्षा सकिएको दिन नै मेरो वर्षभरिको सबभन्दा खुसी र आनन्दको दिन हुन्छ। क्विन्टलको भारी भुइँमा झारेजस्तो हलुंगो हुन्छ। ज्यान कपास र मन चङ्गा हुन्छ। अझ परीक्षा राम्रो होस् त के को मन चङ्गा मात्र रकेटनै हुन्छ नि। खुट्टाले जमिन छोडेर आठ हातमाथि हुन्छ।
छोरालाई डाक्टर पढाउने रहरले मलाई अप्सनल म्याथ लिन कर लाग्यो। अप्सनल म्याथ नलिए साइन्स पढ्न र साइन्स नपढे डाक्टर पढ्न गाह्रो हुन्छ रे म्याथ सरले भन्नु भाको।
अप्सनल म्याथको साइन थिटा र कस बिटा लेख्दा म आफैं झुकिन्छु यो गणित हो कि अंग्रेजी विषय। थिटा र पाइलाइ भाँडाकुँडामा कोर्न मिल्ने एक प्रकारको बुट्टा बाहेक केही पनि देख्दिनँ र बुझ्दिनँ पनि। अनिवार्य गणित त नबुझ्ने मेरो दिमागले अप्सनल म्याथ त झन् के बुझ्नू!
म्याथ पढाउने सरले ब्ल्याक बोर्डमा हिसाब सिकाउँदा अङ्क काट्दै लेख्दै गर्नु हुन्छ। सर किन काट्दै लेख्दै गर्नु भएको हो जे लेख्नु पर्ने हो सुरूमै त्यही लेखे हुन्न र भनेर सरलाई प्रश्न गर्दा हिसाब गर्नेनै यसरी हो लाटा भनेर मुसुक्क हाँस्नु हुन्छ।
सरले मायाले लाटा भने पनि म आफूलाई कक्षाको सबैभन्दा गोज्याङ्ग्रो लाटो नै ठान्छु। धन्न मेरा बा आमाका भाग्यले हजुरहरू जस्तो कहिल्यै गाली नगर्ने, नपिट्ने, माया गरेर पढाउने सर मेडमले पढाउने स्कुलमा पढ्ने अवसर पाएँ। अरू स्कुलको जस्तो विद्यार्थी पिटेर पढाउने भएको भए त मैले अक्षर नचिन्दै स्कुल छोड्थे होला। कहाँको यत्तिको निवेदन लेख्न सक्ने हुनु। छोरालाई डाक्टर बनाउने सपना देख्ने बाउको छोरो निरक्षरनै रहन्थ्यो होला।
सर घरमा म जब किताब लिएर पढ्न बस्छु। अक्षरहरूलाई बुट्टा देख्छु। सर विज्ञान र गणितका अनावश्यक शुत्रहरू घोक्नु पर्दा मेरा दिमागमा आएका बुट्टाहरू ओझेल पर्न सक्दछन्। जब हिसाब लेख्न थाल्छु हातले अनायाशै सामानका डिजाइन कोर्न थाल्छन्। अनावश्यक नोटकपीका खातका खात लेख्नु पर्दा डिजाइन कोर्ने मेरा हात थाक्न सक्छन्। मेरा सपना साकार पार्ने प्रयासको पहिलो पाइला हजुरको आशिर्वाद लिएर गर्न चाहन्छु। सृजनामा अघि बढेका मेरा हात नरोक्नुहोस् मलाई साँच्चिकै फेल गरिदिनुहोस्।
सर मलाई थाहा छ। यसपालि पनि बाले रिजल्ट लिन आउँदा पोहोरकै व्यवहार दोहोर्याउनु हुनेछ। म बासँग रिजल्ट लिन नआउनको कारण हजुरले बुझिसक्नु भयो। दुई जोरभन्दा एक जोर आँखाको आँसुले कम छोओस् भनेर किनकी यसपालि पनि मलाई दुइटा विषय लाग्ने कुरामा म विश्वस्त छु।
सर मन दह्रो बनाउनु होला कडाभन्दा कडा बन्नु होला। दुइटा त के एउटा विषय लागे पनि फेलै हुन्छ। हाम्रो स्कुलको नियम अन्यभन्दा फरक छ। त्यसैले त यो स्कुल राम्रो छ। बालाई थर्काउनुहोला।
कृपया सर बालाई मेरो चाहनाको महत्व बुझाइदिनुहोस्। मलाई मेरो रुचिको क्षेत्रमा अगाडि बढ्न दिनुहोस्। मलाई साँच्चिकै फेल गरिदिनुहोस्।
यो उमेरमा मैले आफ्नो रुचिको क्षेत्रमा पाइला राख्न पाइनँ भने ममा डिप्रेसन आउन सक्छ। अनि ७-८ वर्षपछि मेरा छिमेकी काका-काकीले जस्तो मेरा बा-आमाले पनि आफ्नो छोरालाई छ महिना सुधार गृह र छ महिना आफ्नो घर बनाउने अवस्था आउन सक्छ। म मेरा बा-आमाको त्यस्तो अवस्था कल्पना पनि गर्न सक्दिनँ। सर मलाई कुलतमा फस्नबाट जोगाउनु होस्। मलाइ साँच्चिकै फेल बनाउनुहोस्।
एक महिना अगाडि एक ग्रुप टुरिष्ट हाम्रो गाउँ घुम्न आएका थिए। हाम्रो आँगनभरि फिजाइएका भाँडा आफ्नो हातमा लिएर नाइस् भन्दै त्यही छाडेर गएका थिए। यदि मैले मेरो दिमागमा आएका बुट्टा त्यहाँ भर्न पाएको भए मलाई विश्वास छ सर आइ वान्ट टु बाइ दिस इन एनि कस्ट भन्दै किनेर लाने थिए तर के गर्नु बाले छेउ पर्न नै दिनुहुन्न। माटो त झन् छुनै दिनु हुन्न।
शनिबार घरमा मैले पढिरहँदा आमा विस्तारै ढोका खोलेर मेरो छेउमा आउनु हुन्छ। अनि खानेकुरा दिँदै मुस्कुराउँदै भन्नु हुन्छ बाबु पढ्दा पढ्दा काम गरेको भन्दा पनि बढी थकाइ र भोक लाग्छ रे। सर! मैले पाठ पढेको होइन आमाको अनुहारको मुस्कान रहिरहोस् भनेर किताब अगाडि बसेको। म झोला भिरेर स्कुल जाँदा बाले अनुहार उज्यालो बनाउँदै भन्नु हुन्छ बाबु बिस्तारै जाऊ।
सर म स्कुल जान चाहेको होइन। बाको अनुहारमा बादल ल्याउन नचाहेको हो। अब म मेरा सोझा बा-आमालाई छक्याउन चाहन्न। हजुरले बालाई राम्ररी सम्झाइदिनुहोस्। मलाई साँच्चिकै फेल बनाइदिनु होस्।
सर आजभोलि म नेपालमा हस्तकलाका सामान के के उत्पादन हुन सक्छन् सोच्दै छु। कुन देशले कुन सामान चाहन्छन् नेटमा सर्च गरेको छु। विदेशमा नेपालको कस्तो हस्तकलाको माग बढी हुन्छ बुझ्दै छु। कस्ता बुट्टा रूचाइन्छन् हेर्दैछु।
बिए, एमए पास गरेका छरछिमेकका दाजु बेरोजगार भएर चोक चोकमा क्यारमबोर्ड खेलेर दिन काटेको देख्दा लाग्छ यदि मैले मेरो रुचिको क्षेत्रमा समयमै प्रवेश गरिनँ भने मेरो पनि त्यसरी नै समय काट्ने दिन आउने छन्। सर मलाई बेरोजगार हुनबाट जोगाउनु होस्। मलाई साँच्चिकै फेल बनाउनुहोस्।
मैले समयमै आफ्नो रुचिको काम सुरू गरे भने म त बेरोजगार हुँदै हुन्न अरूलाई पनि रोजगार दिन सक्ने हुनेछु।
विश्वास गर्नुस् सर अबको बाह्र वर्ष भित्रमा हजुरले गर्वका साथ भन्नुहुने छ। मैले फेल गराएको विद्यार्थी टोप बहादुर कुमाल।
मलाई थाहा छ, मैले यो निवेदनमा लेख्न बाँकी रहेका अरू धेरै कुरा पनि हजुरले बुझिसक्नु भएको छ। निवेदन न हो यो भन्दा कति लामो लेखूँ त्यसैले सर पाउ परि बिन्ति छ पोहोरको जस्तो ख्याल ख्यालीको होइन यसपालि मलाई साँच्चिकै फेल गरिदिनुहोस्।
उही हजुरको आज्ञाकारी छात्र
टोपे कुमाल साँच्चिकै फेल हुने आशामा