चोकमा उभिएको छु। मलाई कतै जानुछ। कतै पुग्नुछ। कसैलाई भेट्नुछ। बस हर्न बजाउँदै आइपुग्छ। केही क्षण रोकिन्छ। खलासी गन्तव्य बताउँदै चिच्याउँछ।
जानुपर्ने ठाउँ अनुरूप मान्छेहरू गाडी चढ्दैछन्, झर्दैछन्। स्टेशनबाट गाडी एकएक गर्दै छुटिरहेको छ। चोकमै उभिएको छु। मलाई कतै जानुछ। कतै पुग्नुछ। कसैलाई भेट्नुछ। केही माइक्रो फेरि हर्न बजाउँदै आइपुग्छ। केही क्षण रोकिन्छ। खलासी उसैगरी गन्तव्य बताउँदै चिच्याउँछ।
मान्छे चढ्ने, झर्ने गरिरहेका छन्। र, केही क्षणमै माइक्रो स्टेशनबाट छुटिरहेको पनि छ। तर, यतिबेला मलाई कतै पुर्याउँने बस/माईक्रो चढेर तत्काल कसैलाई भेट्नु जानु छैन। अर्थात् भेट्ने मन पनि छैन।
चोकमै उभिएको छु। उभिएरै म मान्छेहरूले टेकेको खुट्टाको डोब हेरेर टोलाई रहेको छु। केही अनजान अनुहारहरूले भर्खर पैतालाका पदचाप छाडेर गएका छन। म पैतालाको पदचापबाट नजर हटाउँदै उभिएकै स्थानबाट वरपरको भूगोल नियाल्छु।
एकापट्टी ठडिएका चिटिक्क घरहरू। अर्को छेउमा रहेका पुराना वस्तीहरू। स्टेशनको तल्लो छेउमा बुढो अनुहार ढाकरीमा साग बेच्न बसेको छ। यो बुढो अनुहारले जीवनमा के के छुटायो हँ? म सोचमग्न हुन्छु। छुट्नु र संगाल्नु दुवै जीवनको एक हिस्सा हो। र, शुन्यता (खालिपन) पनि।
आफैँलाई आश्वस्त पार्न खोज्छु। म बुढो अनुहारलाई एकटक हेरिरहन्छु। बुढो अनुहार उसैगरी मलाई हेरिरहन्छ। यतिखेर, हाम्रो आँखा जुँधेको छ। सायद, भर्खर दुई आत्माको मिलन।
म उभिएको जमिन सहरको कुनै चोक। र, म हुर्केको जमिन कुनै गाउँको स्थान। जीवन जिउने जीजिविषा एकै, अनुभूति फरक। जहाँ भएपनि बसोबास र जीवनयापनको श्रृखला एकै। भूगोलको संरचना र बाँच्ने तरिका फरक।
अनज एकै, स्वाद फरक। यो कस्तो संवेदनाको श्रृखला हो, जहाँ एकै व्यक्तिभित्र कैयौँ समानता र फरकपना एकै पटक घोलिएर रहेको छ। पत्याउनुस्, म गाउँको खोलामा बल्छी थापिरहँदा बाँचेको क्षण बिर्सन्छु। समय बिर्सन्छु।
जसरी नदीका छालहरूले किनारामा हल्लाइरहेको डुंगामा जीवनका अहोरात्र यात्रा बिर्सन्छ। यथार्थ बोध त तब हुन्छ, जब सहरमा पानी बिनाको मान्छो जस्तै विराट छटपटाहटमा जीवन बाँचिरहेको हुन्छ। अनि, अनेक अनिश्चिततामा तर्सिरहने मनमुटु।
ओहो! कस्तो नजाती। कस्तो फरकपन। पत्याउनुस्, म गाउँको कुनै रूख, कुटी, भूगोलको छहारीमा सितलता बटुल्दै सुखिल जीवन बिताइरहेको हुन्छु। यथार्थ बोध त तब हुन्छ, जब मान्छेको घना जंगलभित्र हुर्किरहेको असिम आकांक्षा र रहरहरू सपनाकै हाँगामा अट्किएर बाँचिरहेको छु। कैलेकाही लाग्छ- सहरको जीवन न सकसपूर्ण छ, न सहज। सहरले दिएको केही छैन, तर थुप्रै पाए जस्तो।
लागिरहन्छ, अदृश्य जालोहरूमा अल्झिन पुगेको एउटा शरीर जो सजिलै फुत्कन सक्दैन। प्वाप्वा-टीटीट गाडीको हर्नले म अचानक झसंग हुनपुग्छु। म कताकता अल्झिन पुगेछु।
मैले सुरूमै भनिसके- चोकमा उभिएको छु। मलाई कतै जानुछ। कतै पुग्नुछ। कसैलाई भेट्नुछ। तर, यतिबेला मलाई कतै जानु छैन। जान त्यहाँ मन छ जहाँ जीवनबाट छुटेर गुप्त गुफाहरूमा पुगेका सम्झनाका पोकाहरू छन्, जो खोतल्न मन छ।
म आँखा बन्द गर्छु। घरैमुनि अमलाको रूखमा चिवेले लगाएको गुँड सम्झिन पुग्छु। त्यो गुँड हेरेरै मात्र कस्तो आनन्द मिल्थ्यो। अनुहारमा कता-कताबाट बगेर आउथे अज्ञात खुशी। घरका खोपाहरूमा सारौँले बँचेरा हुर्काएको देखेरै हुर्किएको समय सम्झिन पुग्छु।
दलिनको देब्रेपट्टी घरजम जमाएको मौरीका डुँड लिपेर बिताएका क्षण सम्झिन पुग्छु। निकैबेर गाउँको घर सम्झिन पुग्छु। अनि, आँखा खोल्दै आफैँलाई प्रश्न गर्छु- सहरले त्यस्तो के दियो जसलाई निकैपछि फर्केर हेर्न सकियोस्?
पछिपछि निकैपछि फर्केर आफ्नै जीवनलाई रिवाइन्ड गरेर नियाल्न सकियोस्। पत्याउनुस्, सहर कहिल्यै जीवनको केन्द्र हुन सक्दैन र त्यहाँ हरघडा ढुकढुक गर्ने जीवनको मुटु हुन सक्दैन।
अचानक, कोलाहोलले कान चिरिक्क हुन्छ। आँखाहरू यी तमाम दृश्यहरूमा तिरमिराइरहेका छन्। म फेरि आँखा बन्द गर्छु। म घरै अगाडिको अग्लो टाकुरा देख्छु। म त्यो टाकुरा हेरेर घन्टौँ समय बिताउनसक्छु।
त्यो टाकुरामा आँखा र मन दुवैलाई तानिराख्न सक्ने के जादु छ हँ? त्यस्तो जादु सहरमा ठडिएका प्रत्येक स-साना टाकुराहरूमा पनि भइदिए...। म अलमल्ल हुन्छु। बाबै! आँखाले कतिनै देख्न सक्छ र? संसार हेर्ने त मनले हो। हजुरी सुनाउदै बुइगल चढ्नुहुन्थ्यो।
एक डाली मकै बोकेर ओर्लनुहुन्थ्यो। ती बुढा औँलाहरूले छोडाउन नसकेपछि मकैको डाली मतिर धकेल्दै गर्दा हजुरीका आँखासँग मेरो आँखा जुध्थे। भर्खरै दुई आत्माको मिलन भएको मलाई आभास हुन्थ्यो र म ती आँखामा उनकै जीवन छर्लङ्ग कुनै सिनेमा हेरे झैँ हेर्न सक्थे।
पत्याउनुस्- के तपाईहरू यो सहरका प्रत्येक आँखाहरूमा कुनै त्यस्तो सजिव जीवन देख्न सक्नुहुन्छ? अहँ, मैले त कहिल्यै देखेको छैन। केवल ती आँखाहरूमा तृष्णा, सपना, आकांक्षा, प्रतिष्ठा, मान, सम्पत्ति, मोजमस्ती, तडकभडक, घृणा, रहर र आडम्बर मात्र सलबलाई रहेको देखेको छु।
सहरका आँखाहरू मलाई हरेक साँझ डाँडाबाट निभ्ने घामझैँ लाग्छ। जो बेलुका मस्त निद्रामा डुबेपछि सदियौँ वर्षदेखि बिहानी प्रहरमा उघ्रिन सकेको छैन।
झर्नाको कलकल ब्याकग्राउन्ड धुन अनि विशाल आकाशको पर्दामा झुन्डिरहेको जुन। अहो! कस्तो दृश्य। आँखा चिम्लेर मनबाट एकपटक महशुस गर्नुस् त। आँगनमा खिपेको टांगामा पल्टिएर आकाश चहार्दाको क्षण। म त्यसबेला कता-कता पुगे हुँला।
के मैले आकाशको कुनै निश्चित क्षेत्रको मात्र यात्रा गरे हुँला? आकाशका ताराहरू गन्दै आँखा र मनले जान्न खोजे हुँला। तिनलाई हत्केलाले छेक्न र टिप्न पनि खोजे हुँला। यो सहर छिरेदेखि एउटा सानो कोठाभित्र छु। कुनापट्टी रहेको खाटमा पल्टिएको छु।
घरीघरी सिलिङ नाप्छु। सिलिङमा टाँसिएको बत्ति हेर्छु। सिलिङको क्षेत्रफल आँखाले निमेषमै नापिसक्छु र फेरि दोहोर्याएर नाप्न खोज्छु। म भित्तामा टाँसिएको झ्याल खोल्छु। झ्यालको डेढ मिटर पर फेरि उही अर्को घरको भित्ता देख्छु।
फरक यत्ति हो- म आकाशको जतिनै विशाल कोलाजमा हराए पनि तत्क्षण आफ्नै घरको आँगनीमै शीतका चिसा थोपाझैँ तपक्क खस्न सक्थे। छुन सक्थे आफ्नालाई। महशुस गर्न सक्थे मैले माया गर्ने प्रत्येक चीजहरूलाई।
तर, यो सानो कोठामा म केवल यादहरूको टुटीबाट खसिरहेको हुन्छु। जसरी आँखाबाट खसिरहेको हुन्छ, आँशु सम्झेर मनदेखि मनसम्मै गाँठो परेर बसेका ती अतीतहरू। आजभोलि मलाई कतै पुग्नु र कतै नपुग्नुले खासै फरक पार्दैन।
मलाई थाहा छ, जति नै टाढा पुगेपनि एक दिन गुँडमा फर्कनै पर्छ। अग्ला-अग्ला टाकुरा चढे पनि अन्तत: मैदान झर्नै पर्छ। नदी बनेर समुद्रमै पुगेपनि पानीले बादल बन्नै पर्छ र फेरि पहाडमा ठोक्किन आउनै पर्छ।
त्यसैले, कतै पुग्नेहरू फर्किदैनन् कि भन्ने चिन्ता त खाडी पसेकाहरूको लागि मात्र लागू हुनसक्छ। जो नफर्किन पनि सक्छ। फर्किए पनि बन्द बाकसमा आउन सक्छ। त्यसैले मभित्र मैले हरेक चीजको एउटा समान तर उत्तिकै विपरित समरेखाहरूको अर्थ कोर्ने कोशिस गरेको छु। र, त्यस अर्थहरू बुझ्ने कोशिस गर्दैछु।
जस्तै: भेट्नु-छुट्नु, पुग्नु-फर्कनु, अगाडि-पछाडि, सुख-दुख, दिन-रात, नारी-पुरूष यस्तै-यस्तै अनेकौँ। मलाई सहरको जति माटो मन पर्छ, गाउँको पनि उत्तिकै। म सहरको वस्ती जति मन पराउँछु। गाउँको पनि उत्तिकै।
तर जब माटोको सुगन्धको कुरा आउँछ, म अलि बढी गाउँ मन पराउन थाल्छु। जब मान्छेका भाव र सम्बन्धका कुराहरू आउँछ, म अलिक धेरै गाउँका मान्छे मन पराउन थाल्छु। गाउँ-सहर बीच हेराइमा फरकपना आउनुमा केही कारण छन्। तपाईहरूले गाउँघरतिर गोरू जुँधेको दृश्य देख्नु भएको छ? गोरू जुध्नुको अर्थ छ- घाँस र ससर्गको लागि।
कुनै राम्री गाई हुलमा आएपछि ससर्गकै लागि गोरू जुँदेको दृश्य मैले कैयौँपटक देखेको छु। बारीका कान्लाकुन्लीमा उम्रिएका घाँसका त्यान्द्राका लागि गोरू जुँधेको दृश्य, गाउँ बाँचेरै सहर पसेकाहरूका लागि कुनै नौलो कुरा भएन।
मकै थन्काएपछिको बाँझो बारीमा उसै छाडिएका गाईगोरू जुँधेको यो दृश्यले मलाई कैयौँ पटक झट्का हानेको छ। सायद, उस्तै गोरू जुँधाइको तौरतरिकामा सहरका मान्छेहरू त बाँचिरहेका छैनन्? मिठोमसिनो एक छाँक गाँसको लागि। केही आना जमीन र सानो आवासको लागि।
र, मनोरञ्जनको विविध ससर्गको लागि। गाउँमा गोरू जुध्नु र सहरमा मान्छेहरू। बिम्बात्मक रूपमा एउटै हो। सायद, त्यसैले पो हो कि म थाहा पाएरै वा थाहा नपाएरै सहर भुल्न खोज्छु, छोड्न सक्दिन। गाउँ सम्झन खोज्छु, जान सक्दिन। एउटा अदृश्य बाध्यता, कस्तो अदृश्य आपत।
मलाई एक पटक सपनाहरूमा गाउँ देख्न मन छ। मलाई जीवन भोग्न एकपटक विपनीमै गाउँ जान मन छ। गाउँमा म त्यस्तो मिराकल देख्छु जुन मैले कहिल्यै सहरमा देख्न सकिन। सहरमा म केवल त्यस्ता कुराहरू मात्र देख्छु जसले मेरा आँखा र मन दुवैलाई खुशी दिन सक्दैन।
भनौँ, भित्री तृप्त मिल्दैन। सहर एकसरो हेराई मात्र हो, जीवनको गहिराई होइन। गाउँ एकसरो हेराई मात्र हुनै सक्दैन, जीवनको गहिराई पनि हो। म फेरि गाउँका ती तमाम् परिदृश्यको गहिराइमा डुबुल्की मार्न चाहान्छु। मैले गाउँ छाडेरै आएको वर्षौपछि गाउँ छाड्नुको पश्चताप बुझ्दैछु।
मेले सहर अंगाल्न खोज्दै गर्दा भर्खर अंगाल्न खोजेको सहरको अर्थ पनि बुझ्दैछु। अर्थ बुझ्दैमा जीवनयापनको श्रृखलामा फरकपना सायद नआउला तर, जीवन बुझ्न, भोगाईहरू अति महत्वपूर्ण छ। जुन समयले पत्तै नपाई ती भोगाईका पदचाप एकदिन छाडेर जानेछ। अनि, छुटेर जानेछ जीवनबाट थुप्रै कुराहरू, सुस्तरी।
त्यसबेला निकै ढिलो भईसकेको हुनेछ। न समय रोक्न सकिन्छ, न जीवनले भोगिरहेको वा बाँचिरहेको कुनै क्षण। केवल त्यसबेला लाग्नसक्छ- जीवन अन्तत: दुई दिने भ्रम मात्र त होइन?
केहि दिनअघि अग्रेजी सिनेमा 'लायोन' हेरिसकेपछि म मज्जाले रोए। निकैबेर आँशु थामिएन। एउटा पूर्णसजिव जीवन जस्तो सिनेमा। हैन-हैन, कुनै गहिरो मृत्युबोध जस्तो सिनेमा। केही छुटेर कतै बिलाएजस्तो सिनेमा। फेरि यतैकतै केही भए जस्तो सिनेमा।
ओहो! कस्तो सार्थक परिदृश्यको सिनेमा। धेरै सययपछि सोचमग्न भए- जीवन बाचुन्जेल के-के छुटेर जान्छ हँ? अनि, के-के संगालेर राखिन्छ? छुटेर जानु नै सायद संगालिनु पो हो कि? अनि, त्यसैलाई सम्झना भनिएको पो हो कि? फेरि, सम्झनामा त के नै हुन्छ र बाबै? न पाए जस्तो, न गुमाएजस्तो, तर पनि कतै भएजस्तो।
म यतिबेला झनै अतीतका असीम सम्झनाहरूको रूझानमा छु। म संकलन गर्न खोज्दैछु- के-के छुटाएँ हँ मैले जीवनमा? र के-के पाए हँ मैले जीवनमा? कुनै बसले भूगोल छुट्टाएर गुड्न सक्छ? सक्दैन, तर मान्छे भनिरहेको हुन्छ- एक भूगोल छाडेर अर्को भूगोल पुगे।
भूगोल एउटै हो। जमिन एउटै हो। दृश्य मात्र फरक हुन्। प्यासेन्जरहरूले पर्खिरहने कुनै स्टेशनले के छुटाउँछ? परिचित अपरिचित अनुहारहरू। छेउछाउ ठडिएका घरहरू। घरसँगै टाँसिएका जान/अन्जान वस्तुहरू। यी मान्छेहरू।
मानिलिनुस्, तपाई उभिएकै ठाउँबाट छुटेको हावाहरू। हावाहरू त फेरि कुनै भूगोलमा वहदै आइपुग्न सक्छ, हावाको खुश्बु उही नहोला, तर जरूर आइपुग्नेछ। कुनै पहाडबाट डुबेको सूर्य अर्को कुनै पहाडबाट उदाइरहेको हुनेछ।
बादलमा देखिने सेतो र कालो रंग एउटै हुन सक्नेछ, एउटै नहुन सक्नेछ। सायद, त्यस्तै जीवनबाट छुटेर जानेहरू र ठोकिन आउनेहरू एउटै नहुन सक्छ। सायद, एउटै हुनपनि सक्छ।