कविता
जहाँ बाट दौडिन सुरू गर्यौ
फेरि त्यही आइपुगेका छौ।
असिन पसिन भैइ
सास फुलाएर,मुटु ढुकढुकाएर
टाउको फुट्ला झै गरी
दौडिएका थियौ
लाग्यो निकै दूरी पार गर्यौ होला
र
पुग्यौ क्षितिजपारिको आकाश छुन
तर
जति नै दौडिए पनि
तिम्रो दौड फगत एउटा
ट्रेडमिलको दौड न रहेछ
बस् दौडी नै रहौ
शून्यताबाट सुरू भएको
तिम्रो दौडको अन्त्य आखिर
शून्यता न रहेछ।
ज्ञानी-विज्ञानी भयौ
परम बुद्धिमानी भयौ
धनीमानी भयौ
लाग्थ्यो
विश्वविजेता नै भयौ
ज्ञानको गर्व गर्यौ
बुद्धिको अंहमता राख्यौ
धनको घमण्ड देखायौ
विजयको उत्सव मनायौ
आफैं मपाई गरी
सर्वश्रेष्ठ,
सर्वगुण सम्पन्न ठान्यौ
तर
तिम्रो प्राप्ति फगत एउटा
पानीको फोका न रहेछ
जति नै उम्लिए पनि
अन्तत:
बाफ बन्नु र सेलाउनु
अनि
हुनु रहेछ पानी पानी।
तिम्रो दौड त्यो थिएन
जहाँ
तिमीलाई गन्तव्य नै थाहा नहोस्।
तिम्रो प्राप्ति त्यो थिएन जहाँ
तिमी धनको अमिर
तर
मनको फकिर बन्नु परोस्
तिम्रो ज्ञानको दायरा
त्यति साँघुरो पनि
नहुनु पर्ने थियो
जहाँ आफू को हुँ
भन्ने सम्मको चाल नपाइयोस्
र जसले तिमीलाई
अज्ञानी सावित गरोस्
तिमी जति नै उडे पनि
आकाश होइन क्षितिज
सम्मको मात्रै हो
पखेटा पलाएको
कमिलाको उडान मात्रै हो
जसले त्यही क्षितिजमा
ठोक्किएर पुनः बजारिनु नै थियो जमिनमा
फर्किनु छ धर्ती मै
बिर्सेर दौडिँदा
तिमी फगत माटो बन्यौ
बस माटो
र
बिलायौ यतै कतै