जीतबहादुर दाइलाई मैले चिनेको कीर्तिपुर बस्दा हो। मेरा घरबेटी उनका साहू थिए। हाम्रो लुगा धुने इनार एउटै थियो। बेला बेला घाम ताप्ने चौर पनि एउटै।
यति फरक थियो, जीतबहादुर दाइ घरबेटीको घरसँगै जोडिएको खाली जमिनमा घर बनाउन ल्याएको इँटाले वरिपरि बारिएको घरमा बस्थे। हामी छत सहितको बन्द कोठामा बस्थ्यौँ।
जीतबहादुर बिहान त्यति बोल्दैनथे। बोलाए पनि लजाउँथे, हाँस्थे। उनी बेलुका बोल्थे। कहिले हामी डेरा गरी बस्नेसँग त कहिले एक्लै। बोल्दा बोल्दै उनी कहिले देशका नेतालाई गाली गर्थे, कहिले आफ्नै भाग्यलाई सराप्थे। कहिले घरबेटीलाई। कहिलेकाहीँ रुन्थे।
हाम्रा घरबेटी ठेकेदार हुन्। घर बनाउने उनका कामदार मध्ये एक थिए, जीतबहादुर दाइ। हामी डेरा गरी बस्दाखेरी नै हो उनी त्यहाँ आएका। एक दिन घरबेटी दाइले हामीलाई भनेका थिए- 'यसको कोही रहेनछ। यहाँ मेरो सामान पनि हेर्छ, काम पनि गर्छ भनेर ल्याएको हो। अलि इमान्दार काम गर्ने थोरै कामदारमध्येमा पर्छ यो।'
घरबेटी दाइको घरभित्र जीतबहादुर दाइ हतपत पस्दैनथे। कहिलेकाहीँ ऐला खान र जात्राको प्रसाद खान उनलाई बोलावट हुन्थ्यो। उनी सिँढी चढ्थे।
ऐलापछि जीतबहादुर दाइलाई थप तलतल लाग्दो रहेछ। हामी बसेको घरकै सटरमा उनी लुसुक्क पस्थे। पसलका बासँग खुसुक्क लोकल माग्थे, पछि तिर्ने शर्तमा। लोकल सिनित्त पारेपछि गिलास त्यहीँ छोडेर उनी मेरो कोठाको ढोका ढकढक्याउँथे। एक रात मैले उनलाई सोधेको थिएँ, 'दाइ तपाईँको घर कहाँ हो?'
'म नुवाकोटबाट आको सर।' ऐलामा लोकल मिसाएपछि जीतबहादुर दाइलाई प्रश्न मात्रै चाहिन्थ्यो। एक प्रश्नका हजार उत्तर दिन्थे उनी। मेरो कोठाको ढोका बाहिरै टुसुक्क बस्न खोजेर उनले भनेका थिए, 'आज म सरलाई मेरो कहानी सुनाउँछु।'
मैले उनलाई कोठाभित्रको खाटमा लगेको थिएँ। हत्तपत्त उनी कसैको घरभित्र पस्दैनथे। उनी घरबेटी दाइसँग डराउँथे। त्यसदिन पनि मैले बाहिर बसेर कुरा गर्दा घरबेटीले राम्रो नमान्ने भनेपछि उनी लुसुक्क भित्र पसे। भुईँमा राखेको म्याटमा बसे। एउटा लामो कहानी संक्षेपमा सुनाए।
'म जन्मेको नुवाकोटमा हो सर। बा सानैमा बिते। बा बितेपछि आमा अर्कैसँग हिँडिन्। म गाउँमै काकाहरुको घरमा हुर्किएँ। काकाका दुईभाइ छोरा थिए। उनीहरु मलाई घरको काम लगाउँथे। म गोठालो जान्थेँ। काकाले उनीहरुलाई विदेश पठाए।
म पनि विदेश जान्छु भनेँ। आफ्नो र अर्काको छोरामा फरक हुँदो रैछ सर। मलाई तँ यहीँ बस्। खान लाउन दे कै छ, किन जानु पर्यो विदेश भनेर हप्काए। मलाई विदेश जाने पैसो कसले पत्याउनु सर। काकाका छोराहरु पैसो पठाउँथे। मैरे अघि काका पैसा गन्थे।
अरु विदेश जानेलाई ब्याजमा दिन्थे। मैले भन्दा बोली भुईँमा पर्न हुँदैनथ्यो। म त्यो घरमा कामदारकोरुपमा बसेको थिएँ सर। कहिलेकाहीँ काका-काकी मलाई साह्रै गाली गर्थे। जति काम गरेपनि केही गरेन भन्थे। बाहिरबाट हेर्दा मेरा बाउआमा नै उनीहरु जस्तो। भित्रबाट हेर्दा मेरा मालिक मालिक्नी जस्तो।
एक दिन साह्रै नरमाइलो लाग्यो। राति सबै सुतेको बेला म घरबाट निस्केँ। राति विदुर आएर सडक छेउ पाटीमा बसेँ। त्यहाँबाट हिँड्दै काठमाडौँ जाने बाटो समाएँ। बाटामा आउँदाको कहानी त कति छन्, कति नि सर।
गल्छी आएपछि एउटा मान्छे सडकछेउ बसिरहेको रैछ। मैले काठमाडौँ जानेबाटो सोधेपछि उसले उ काठमाडौँमा घर बनाउने ज्यामी काम गर्ने गरेको सुनायो। उसले मलाई पनि काम गर्ने भए साहूसँग कुरा गर्ने बतायो।
मलाई त्यो मान्छे भगवान जस्तो लाग्यो। केहीबेर पछि एउटा टडकमा उ र म काठमाडौँ आयौँ। उसले मलाई साहूसँग भेट गरायो। मैले मसला मुस्ने काम पाएँ सर। पछि त्यो साहूभन्दा यो साहू मजाको लागेकोले यता सरेको।
मेरा काकाकाकीलाई घर छोडेको हल्का भएछ। अहिलेसम्म खोजी गरेका छैनन्।'
जीतबहादुर दाइ एकै रातमा सबै कहानी सुनाउन खोज्थे। म रोक्थेँ। उनी विस्तारै आफू बस्ने घरमा पस्थे। घरभित्र पसेपछि उनी आफैँसँग बोल्थे। कहिलेकाहीँ म उठेर उनलाई ‘दाइ हामी नसुत्नु?’ भनेपछि चुप लाग्थे। बिहान पानी तान्न इनारतिर जाँदा जीतबहादुर दाइसँग भेट हुन्थ्यो।
‘के हो दाइ, हिजो त तथानाम गाली गर्दै हुनुहुन्थ्यो। घरबेटी दाइलाई पनि थर्काउन भ्याउनु भयो त।’ उनी हाँस्थे। अनि म एक्लै छु भने भन्थे, 'सर मैले घरबेटीलाई नै गाली गर्यो? सुन्यो कि सुनेन सर?'
‘त्यो त म के जानौँ दाइ, साहू मेरो पैसा दिनु पर्दैन? भन्दै तपाइँले इँटाको गारोमा मुड्की बजाउनु भएको थियो।’
'राम-राम मेरो साहू देउता हो सर। मलाई पाप लाग्छ।'
उनी सेतो रंगको तर इनारको पानीले पहेलो भईसकेको बाल्टीभरी पानी बोकेर लुसुक्क घरभित्र पस्थे।
भोलिपल्ट उही साँझ दोहोरिन्थ्यो। घरबेटीले ऐला खान नबोलाए पनि उनी लुसुक्क बाको पसल छिर्थे। लोकल मगाउँथे। आफ्नै घरमा छिर्थे। उनको आवाज रोकिन्नथ्यो। गाली गर्ने शब्द र पात्र मात्रै फेरिन्थे।
उनी घरबेटीलाई देउता भन्थे, 'यो सहरमा मेरो भनेको साहू मात्रै हो सर। अरु सबै नर-पिशाच हुन्। हुन त आफ्नै जन्मदिने आमाले छोडेर गइन् नि सर मलाई।'
रातको १२ बजे पनि कहिले चुप लाग्नु भन्नु पर्थ्यो। जीतबहादुर दाइ कहाँ टेर्थे र। उनको चिच्याहटको भोलम मात्रै सानो हुन्थ्यो।
२०७२ साल बैशाख १२ मा भुकम्प गयो। भुकम्पले कुन घर कति हल्लियो र कसरी लड्यो प्रत्यक्ष देख्ने सायद जीतबहादुर दाइ मात्रै थिए। उनले भोलिपल्ट साँझ सबै कहानी सुनाए। त्यही साँझ पहिलो पल्ट जीतबहादुर दाइको सुत्ने घरभित्र म पसेको थिएँ।
ढलानका लागि सेटिङ मिलाउने फलाम र काठका सामग्रीमाथि एउटा डसना ओछ्याउने र अर्को ओड्ने गर्दा रहेछन्। नजिकै इँटाले अड्याएको चुला छेउमा सिलाबरका काला भाँडा घोप्ट्याएर राखिएका थिए।
मैले उनको घरमा पसेपछि पहिलो प्रश्न गरेको थिएँ, ‘खाना खानु भो दाइ?’ उनले मलिन अनुहारमा जवाफ फर्काएका थिए, 'आज बाहिरै खाएर आयो सर।'
जीतबहादुर दाइ ओछ्यानमा पल्टिरहेका थिए। गफ गर्ने मुडमा थिएनन्। मैले पनि थप बोलाउने प्रयास गरिन।
घर अगाडिको खाली चौरमा हामी त्रिपाल टाँगेर बसेका छौँ। हिजो अस्ति पो जीतबहादुर दाइको घर सानो थियो। आज उनी विशाल घरमा छन्, हामी त्रिपालभित्र। उनी आफैँ हामी बसे ठाउँ आए।
गफ गर्ने मुडमा रहेछन्। भुकम्पको कहानी गरे। अनि हल्का सिरियस् भए। भने, 'अब काम पनि छैन। खाना पनि सर।' जुरुक्क उठे र हिडे।
सबै बाहिर भएपनि सटरका बा सटरभित्रै हुन्थे। परकम्प गएको बेला बाहिर निस्कन्थे नत्र भित्रै। त्यस साँझ पनि जीतबहादुर दाइ बाको पसल छिरे। लोकल मगाए। त्यो साँझ बाले पनि जीतबहादुर दाइसँगै पिए। कुरै कुरामा बाले बाँकी पैसा मागे।
यो विपत्तीमा जीतबहादुर दाइले पैसा कहाँबाट ल्याउनु। उनले भोलि भने। भोलिपल्ट पनि उही भोलि। भुकम्प गएको एक हप्तापछि पसलका बाले पिर्काले जीतबहादुर दाइलाई हाने। उनको निधारमा ठूलो टुटुल्को उठ्यो।
त्यसपछि जीतबहादुर दाइ आफ्नै घरभित्र छिरे। सँधै जस्तै बालाई गाली गरे। भित्तामा मुड्कीले हाने। रोए।
जीतबहादुर दाइको पेटमा अन्न नपरेको सात दिन भयो। अब त बाको पसल जाने बाटो पनि बन्द भयो। उनी सटर अगाडिको बाटो पनि हिँड्न छोडे। सहरमा राहत बाडेको हल्ला चल्यो। त्यो कुरा जीतबहादुर दाइलाई मैले सुनाएँ।
उनी दौडेर भनेको ठाउँतिर कुदे। यसरी कुदे मानौँ उनका छोराछोरी गाउँबाट आएर सडकछेउ उनलाई पर्खिबसेका छन्। साँझ आए। राहतको कुरा सुनाए।
भने, 'हामीले कहाँ पाउनु सर। बडेबडेमानका मान्छेलाई नै पुग्दो रहनेछ। भीड थियो। हल्ला पनि। अलि परै बसेँ। एकैछिन्मा पुलिस आयो। भाग् भन्यो, भागेँ। मलाई पुलिसदेखि डर लाग्यो सर।'
भोलिपल्ट बिहान जीतबहादुर दाइ बोराको झोलामा केही थान मैला लुगा लिएर म बसे ठाउँ आए। मैले सोध्न नभ्याउँदै बोले, 'यो सिँगो सहर हामीले बनाको। तर यो सहर हाम्रो हैन रैछ सर। आज म र मेरा साथीहरु गाउँ जान भनेर हिँडेको। आफ्नो त गाउँमा पनि कोही छैन तैपनि।'
घाम अस्ताएपछि मात्रै रुने जीतबहादुर दाइ आज दिउँसै रोए। मैले बस्नु भन्न पनि सकिन। उनले भनेजस्तै यो सहर मेरो पनि थिएन। जीतबहादुर दाइका पाइला विस्तारै सडकमा अघि बढे। कसैलाई वास्ता भएन। पल्लो घुम्ती नकटुञ्जेल उनी गएको बाटो हेरिबसेँ। अहँ उनले एकपटक पनि पछाडि फर्केर हेरेनन्।
आज बन्द कोठामा बसेर संसार हेरिरहेछु। जीतबहादुर दाइ के गर्दै होलान्। भुकम्पसँग नडराएका ती शक्तिशाली जीतबहादुर दाइ पुलिससँग अझै डराउँदै होलान् कि छैनन् होला?
राहत त तिनले अहिले पनि के पाए होलान् र, कम्तिमा तिनलाई पुलिसले नकुटे हुन्थ्यो। तिनका निधारदेखि मुटुसम्म गहिरा-गहिरा चोट छन्।
जीतबहादुर दाइ, तपाई घरभित्रै बस्नु है।