'हाम्रो पार्टी, जिन्दावाद!
'भोट के मा? बादलमा!'
'बादल पार्टी, हाइहाइ!'
'अरु सबै, बाइबाइ!..
चुनाव आउन लागेको छ। जिन्दावादका नारा जताततै घन्किदै छ। सुदिन ल्याउने नारा लेखिएका पम्पलेट र झन्डा जताततै टालिएका। चोकमा, पार्कमा, रुखमा ढुंगामा, चिहानमा, चर्पीमा, पार्टीवालाका घरमा।
प्रेसका मान्छेलाई भात खाने फुर्सद छैन। नेतालाई फोन गर्दैमा समय बितेको पत्तो छैन। आसेपासे धुपौरेहरु झन् उस्तै। सालघारी गाउँमा हावालाई पनि धेरै हतार छ जस्तो। मुटु छेड्नेगरी चल्छ, सिरिरिरि।
'नमस्ते हजूर! मलाई भोट दिनुभयो भने घरैमा धारो झार्दिन्छु। उ त्यो पारिको बाटो पनि तपाईंको आँगनसम्मै ल्याइदिन्छु,' कृष्णमुरारी भण्डारी हात जोड्दै सालघारीका घरघर पुगे।
'ल हजूर एक छाप बादलमा। मलाई जिताउनुभयो भने वृद्ध भत्ता बढाइदिन्छु। ओतन नहुनेलाई बनाइदिन्छु घर। व्यापारीलाई घटाउँछु कर। भूमिहीनलाई जग्गा, किसानलाई भाउ, विद्यार्थीलाई छात्रवृत्ति। पाँच वर्षमा हाम्रो गाउँलाई स्वर्गको टुकुरो जस्तै बनाउँछु। सालघारीको नाम फेरिन्छ त्यतिबेला, समृद्ध नगरमा। तर एक छाप बादलमै दिनुपर्छ है।'
आफ्ना पार्टीका मान्छेका घरमा हामी त घरभित्रकै भनेर, आफ्ना जातिका घरमा हाम्रो नाक मिल्छ भनेर, गाउँलेका घरमा हामी त मर्दाका मलामी जिउँदाका जन्ती हौं भनेर। केही नपर्नेकामा ज्वाइँ, भान्जा, ससुराली, सात पुस्तातिरको साइनो गाँसेर।
देख्दै नदेखेकालाई पनि हामी त मनमिल्ने चिनेकै साथीभाइ हौं नि भनेर। कहीं कतैबाट पनि जोडिन नसकेकालाई नगदनारायणको पोको फालेर भएपनि भोट एकोहोर्याए, बादलचिन्हे कृष्णमुरारीले।
आफ्ना पार्टीको नाताले, नाकको नाताले, छिमेकीको नाताले, साथीभाइको नाताले, पैसा–रुपैयाँको नाताले सबैले भोट हाले। गाउँको गरिब-धनीले पनि हाल्यो, गाउँघरको छिमेकी ठानेर। कृष्णमुरारीले भोट जिते सालघारीमा।
'कृष्णमुरारी हाइहाइ!...बाइबाइ!'
सालघारी घन्कियो, खरी लाइसकेर चैते घाममा सुकाएको छतिवने मादलजस्तै।
उनको भव्य स्वागत भयो सालघारीमा। माला, अबिर र खादा त कति हो कति।
उनले आफ्नै सालोलाई सहयोगी राखे। भान्जीलाई जागीरमा पनि लगाए अलिपछि। सालाको छोरालाई ड्राइभरमा नियुक्ति गरे।
विकास आउँदैछ अरे गाउँगाउँमा। गाइँगुई हल्ला फैलियो यताउता। एक दिन कृष्णमुरारीले पठाएका कर्मचारी गाउँ आए। सालघारीको चौतारीमा बसेर दुई/चारजना गाउँलेलाई बोलाए। योजना टिपे।
सालघारीको पुच्छारमा रहेको भूमिहीन वस्तीबाट पनि खानेपानीको योजना मागियो। सिरानको रातमाटे गाउँले पनि सिचाइँ पैनीको कुरा उठायो। बीचगाउँका महिलाहरुले सिलाई-बुनाईको तालिम मागे। विद्यालय व्यवस्थापन समितिले विद्यालय भवन, खेलमैदान र कम्प्यूटर माग्यो विद्यार्थीहरुको लागि।
सबैतिरबाट आएका योजनाको चाङ उनको अगाडि थुप्रियो। उनका सल्लाहकार र मनले खाएका अरु जनप्रतिनिधिहरुलाई डाके गोप्य बैठकमा। गोजीबाट निकालेको योजनाको लिष्ट देखाए। अरुहरुले पनि निकाले। सबैले ल्याएको अलिअलि हालेर योजना सूची बनियो।
योजना बाँड्ने बैठक बस्यो। आफ्नो बहुमत छदैंछ। सदस्यहरुलाई ताली पढ्काउन लगाइयो। उनले ल्याएको योजना बहुमतले पास भयो। सदस्यहरुले भत्ता बुझी मासुभात खाएर घर फर्किए।
'सालघारीमा ३० करोडको बजेट पेश। छलफलसहित सभाको दुई-तिहाई बहुमतले पारित' स्थानीय पत्रिकाले फ्रन्टपेजमा गोरुआँखे अक्षरमा छाप्यो भोलिपल्ट।
समय बित्दै गयो। उनका अघिपछि हिंड्ने पेशुवा वायूहरुले ठेक्का–टेन्डर पारे। उपभोक्ता समितिमा उनकै पार्टीका मान्छे बसे। साली महिला समितिकी अध्यक्ष बनिन्। सालीकी छोरी विद्यार्थी क्लबकी संयोजक। बीच गाउँका ज्वाइँ समितिका कोषाध्यक्ष। कार्यक्रममा प्रमुख अतिथिको बिल्ला लगाएर भाषण गरे कृष्णमुरारीले।
'हाम्रो गाउँको कायापलट फेर्दैछौं हामी। मेरो कार्यकालमा बाटो बनिदैछ। पैनीको टेन्डर लागिसक्यो। खानेपानीको धारो बनाउन कम्पनीसँग कुरा हुँदैछ।.....'
अलिपछि सहरमा जग्गा किनेर घर बनाए उनले। पत्नी, छोराछोरी सहरतिर पनि आउजाउ गर्न थाले बेलाबेला। जेठा छोराले गाडी किनेर भाडामा खेप्न थाले सालघारीदेखि सहरसम्म।
पाँच वर्षे कार्यकाल सकियो कृष्णमुरारीको।
पेशुवा वायूहरु कहाँ कुलेलाम् ठोके पत्तो भएन। ज्वाइँ, भान्जा, साली आउँनै छोडे उनको घरमा। हिजो एकछिन साथ नछोड्नेहरु आज कता हराए कता। घरकी पत्नि पनि फन्केर सहरतिर लागिन्। छोरो गाडी लाइनमा, घर आउने हैन। छोरी पनि आमासँगै।
एक्लो जिन्दगी उराठलाग्दो भयो कृष्णमुरारीको। परिवारले समेत साथ छोडेपछि उनलाई प्रेसर र सुगरले सतायो, शायद मनमा धेरै चिन्ता भएर होकि? उनी दिनदिनै कमजोर हुँदै गए।
आफन्तबाट टाडिंदै पनि। पानी दिने चरोमुसो भएन उनको घरमा। थकित, गलित र चिन्तित मुद्रामा दिन काट्न साह्रो हुदै गयो उनलाई।
बिरामी भएर उनी ढले। छिमेकीहरु कोही आएनन् उनको घरमा। तातोपानी दिने मान्छे पनि पाएनन्। सहरमा पत्नीलाई फोन डाइल गर्यो, कहिले बिजी, कहिले ‘सम्पर्क हुन सकेन’ मात्र भन्छ। हिजोका पेशुवा वायूहरुको नम्बर थिच्यो, ‘यो नम्बर त प्रयोगमै छैन’ भन्छे फोनकी केटीले।
एकदिन धने कृष्णमुरारीको घरछेउबाट कतै जाँदैथियो। ‘ऐया! मरें! पानी!’ भनेको आवाज उसको कानमा ठोक्कियो। धने हतारहतार भित्र पस्यो। कृष्णमुरारी पो रहेछन् कराउने त। घर उजाड छ। भान्सामा आगो पनि बलेको खै?
घर वरिपरि झारैझारले छोपेछ। गाई–भैंसीका गोठ पनि रित्तै। घरका अरु मान्छेहरुको पनि चालचोल छैन। ‘कृष्णमुरारीको हिजोको दरबार जस्तो घर, खै आज त मसानघाट जस्तो पो भएछ’, धनेले मनमनै बात मार्यो।
गाउँको ठूलोठालू। पार्टीको नेता। फेरि आफ्नै ठाउँको गाउँले। धनेका आँखा रसाए। ग्वालीबाट डोको झिक्यो। नरम तन्ना ओछ्यायो। नाम्लो लगायो। कृष्णमुरारीलाई राख्यो। घुँडा टेकेर भित्तो समाउँदै उठ्यो।
दुई हत्केलाको बीचमा थुक्दै रगट्यो। देब्रे हातले नाम्लाको बरीयोछेउको डोरी समायो। दाहिने हातले चिलाउनेको लौरो टेक्दै उकालियो, स्वास्थ्य चौकी ताकेर।
बरडाँडाको चौतारीमा धनेले डोको बिसायो। कृष्णमुरारीलाई फलैचाको अडेसा लगाएर। घाम पनि थामचुलीमाथि आइपुगेछ। दौराको फेरले निधारको पसिना पुछ्यो धनेले। कृष्णमुरारीले टुलुटुलु हेरिरहे। हेर्दाहेर्दै गुनमुनेतिरबाट उड्दै आएका एकजोर कुर्लेढुकुर बरको हाँगामा बसे।
एकापसमा ठुँगाठूँग गरे एकछिन। पखेटा फ्याफ्याट पार्दै अलिबेरमा भूर्रर उडे। तल सतासीको जंगल ताकेर उडेका कुर्लेढुकुर सँगसँगै कृष्णमुरारीको मन पनि पछिपछि दौडियो अतीततिर।
मलाई भोट दिनुभयो भने घरैमा धारो झार्दिन्छु। उ त्यो पारिको बाटो पनि तपाईंको आँगनसम्मै ल्याइदिन्छु...। पाँच वर्षमा हाम्रो गाउँलाई स्वर्गको टुकुरो बनाउँछु। तर खै?
धनेले फाटेको दौरा अझै टालेको रहेनछ। भूमिहीनको झुप्राको छानो पनि छापेको खै? माथि गाउँकी बुहारी पानी लिन गएकी, एक घन्टामा पनि घर आइपुगिनन्। हिजो मैले गरेको विकास खै भूमिहीन वस्तीमा पुगेकै रहेनछ।
महिलाको हालत उस्तै रहेछ। आदिवासी जनजाति उस्तै। दलित, उत्पीडित उस्तै। अपाङ्गता, जेष्ठ नागरिक र बालबालिका उस्तै। गरिबहरु उस्तै। मैले खै के गरेछु र? हिजो पद र प्रतिष्ठामा हुँदा मेरो पछि लाग्नेहरु खै आज कता गए? देख्दिन त। कृष्णमुरारी बिउँझिए झसंग भएर।
हिजो आफूले गरेको कमजोरी सम्झिए उनले। 'खै मैले शिक्षामा एक रुपैयाँ खर्च गरिनँ। शिक्षाभन्दा ठूलो के छ यो संसारमा? विकास गर्नुभन्दा अगाडि किन? केको लागि विकास? खै बुझाएँ गाउँलेलाई? भौतिक सुविधा त जसरी पनि पाउन सकिएला। तर ज्ञानको ज्योतिले मात्र संसार बदल्न सकिन्छ। मैले त ज्ञानको ढोका बन्द गरेछु। सत्यनाश गरेछु। थुक्क मेरो कुबुद्धि!
मेरो जस्तै गल्ती कसैले नगरोस् है!' कृष्णमुरारी चिच्याए। उनको आवाज बरडाँडादेखि टाडाटाडसम्म फैलियो, तीनकुने पोखरीमा उठ्ने छाल जस्तै।