कविता
सभ्यता घायल भो, टाढा टाढा पुग्यो चित्कार
मानवता कायल भो, गर्न सकेन किन हुंकार ?
ब्रह्माण्ड बन्दी छ आज, बन्दी छन् नागरिक जन
कोभिड-१९ ले ल्यायो, कस्तो कष्टमय जीवन!
सुन्नेहरू सन्त्रस्त छन् बुझेर यसको गति
बेघ थामी नसक्नु छ, झेल्ने हो कसरी कति!
मान्छे मान्छेको बीचमा पर्खाल ठिंग छ खडा
आदेश बन्दा-बन्दी को, देखिन्छ नि निकै कडा
समाज आतंकित छ लौ, कोरोनाबाट बेस्सरी
भाग्ने-लुक्ने गरिरा’छन्, बच्नु छ नि कसै गरी!
देखियो कस्तो सन्नाटा, बजारै सहरै भरि
गाउँलाई पनि छोप्यो, भयले कुहिरो सरि
नदीझैं बग्ने जिन्दगी, रोकियो कसरी गति ?
सधैं सुसाउने हावा बन्द भो किन यसरी ?
निम्छरो भो विज्ञान, अपुरो आविष्कार अध्ययन
चूर चूर भयो दम्भ, जो ठान्थे बलवान महान
चुटकीमैं भगाउँछु भन्ने, घमण्ड पनि तोडियो
बनको डडेलो सरि, जगतै भर फैलियो!
मान्छे आज पनि उस्तै, डुबेको छ खोजमा
बिना विलम्ब लिनेछ, कहरलाई काबुमा
कृष्ण पक्ष पछि अवश्य आउँछ पूर्णिमा
विनाश धेरै अड्दैन, सभ्यता टिक्छ धर्तीमा!
ल्याएको हो कि यसले, सन्देश त्यो युगान्तको
उज्यालो घामले दिन्छ, आभास यो दुखान्तको
पुरानो विश्व व्यवस्था, सक्छ है पनि भत्कन
इतिहासलाई साँच्चि नै अलग धारमा हिँडाउन!
विषमता भेदभाव अब, पक्कै पर्छ मेटिन
सामाजिक न्यायले सक्छ, उच निच सम्याउन
नयाँ विश्व, नयाँ कायदा नयाँ उज्यालो चाहियो
ठान्ने छ लोकले फेरि सभ्यता अझ अग्लियो!