संसारभर मजदूर दिवस मनाइरहँदा,
तारे होटलहरुमा अधिकारका भाषण गुन्जिरहँदा,
अवस्था उस्तै छ अझै करोडौं मजदूरहरुको,
अनेक व्यवस्थाहरु फेरिरहँदा,
अनेक शाषक फेरिरहँदा।
देखाई क्रान्तिका झुठा सपनाहरु,
वर्गीय मुक्ति अनि समानताका।
टेकी ढाडमा किसान अनि मजदूरहरुको
चाख्दै सत्ताको स्वादहरु अनि रसहरु ,
बनाउँछन् उल्टै, पात्र हाँसोको ती क्रान्ति नायकलाई।
श्रम गर्नेहरुलाई गाह्रो छ यहाँ,
छाक टार्न साँझ अनि बिहानको।
श्रम लुट्नेहरु बन्दैछन् अमीर अनि घराना,
खरिद गर्दै हिँड्छन पद अनि प्रतिष्ठा, फ्याकेर द्रव्यहरु,
बन्दैछन् उनीहरु नै अझ खास कम्युनिष्ट।
क्रान्तिको बेला शीर फोडिने ती श्रमिकहरु,
अझै झुपडीमै बाँचिरहेछन्,
अभावमै मरिरहेछन्।
उनकै नाममा राजनीति गर्नेहरु आज,
महलमा रमाइरहेछन्, चढी विलाशी गाडीहरु,
गर्दै विदेशमा सयरहरु।
छैन यहाँ सम्मान परिश्रम गर्नेहरुको,
असर भो धेरै आर्थिक निर्धारणवादको।
दलाल पुजीँ जोड्नेहरु नै भन्छन् यहाँ
असली कम्युनिष्ट आफूलाई,
पीडा कसले सुन्ने यहाँ वास्तविक मजदुरहरूको।
देखाई आशा अधिनायकत्व
मजदूर अनि सर्बहाराको,
पोसिँदैछन् उल्टै मालिकहरु राज्यबाट,
हँसिया हथौडा त केबल ब्रान्ड मात्रै बन्यो
मजदुरहरुको मत तान्नलाई,
बोलबहाल त छ सधै यहाँ दलालहरुको।
बन्दै औजार केबल पुँजीपतिहरुको,
बाँच्ने कति दिन यहाँ हेपिएर अनि पिल्सिएर।
आफ्नै भनौँदाहरु पनि यहाँ व्यस्त छन् चाकरीमा
उनै सम्भ्रान्त वर्गहरुको,
राज्य सधैँ खिलाफमा छ यहाँ
पसिना बेच्ने मजदूरहरुको।
बोल्दैनन् कोही यहाँ पक्षमा,
ज्यालामा ठगिनेहरुको, रोजिरोटी गुमेकाहरुको।
कमरेडहरु त केबल उफ्रिरहेछन् बेतोडले
ठगिएकाहरुको पक्षमा,
बालुवाटार किन्नेहरुको।
देखेर सपना वर्गविहीन समाजको
होमिएका क्रान्तिमा ती मजदूरहरुको,
बन्दैछ अवस्था नाजुक दिनानुदिन,
बढ्दै छ वर्गीय खाडल हरेक पल,
सुन्दैनन् यहाँ कोही चित्कार अभावको
श्रम गर्ने मजदूरहरुको।
बन्ने कति सत्ताको भर्याङहरु
गर्दै आशा परिवर्तनको,
गरौं खबरदारीहरु निरन्तर कसेर मुठ्ठीहरु
हुन्छ अवश्य परिवर्तन देशको अनि संसारको
जब हुन्छ एकता मजदूरहरुको।