कविता
मेरी आमा निसास्सिएर तिमीलाई खोज्दैछिन्
सन्देश तिम्रो आँसुसँगै सबलाई सुनाउँदैछिन्
मेरी आमा रूँदै तिम्रो नाम पुकार्दै छिन्
बुद्ध तिमी आऊ
तर आमाको आवाज कसैले सुन्यौ कि
बुद्ध तिमी आऊ
बुद्ध तिमी आऊ
आमाको छातीमा यहाँ गोलाबारुद चले
सन्तानका लासमाथि हारजीतका खेल चले
आमाको मुटु घोची रगत बग्दा
स्वयम्भूका शान्ति स्तम्भ पनि ढले
तर कसैले सोच्यौ कि
सिद्धान्तको खेलमा, सत्ताको मोहमा
उजाडिएको सिउँदो अनि टुहुरिएको बालक
रित्तिएको कोख अनि खुसीको मलामी देख्यौ कि
त्यसैले मेरी आमा छाती पिट्दैछिन्
तर कसैले देख्यौ कि
रोदन आमाको पीडाको
तर कसैले सुन्यौ कि
बुद्ध तिमी आऊ
बुद्ध तिमी आऊ
सुन्दर शान्त कर्मभूमिमा, दुष्कर्मको बोलबाला भयो
रहेनन शुद्ध मनहरू, मानवतामा भोटे ताला लाग्यो
जन्मभूमिको पवित्र काखमा, छलकपटको कैंची चल्दा
स्वयम्भूका आँखाबाट, मेचीकाली कति बग्यो बग्यो
तर कसैले सोच्यौ कि
आ-आफ्नै स्वार्थमा, धनमुकुटको लोभमा
जनताको आँसु अनि मातृभूमिको पीडा
रोग, भोक, शोक अनि देश दुखेको देख्यौ कि
त्यसैले मेरी आमा शान्ति खोज्दैछिन्
तर कसैले सुन्यौ कि
क्रन्दन आमाको चित्कारको
तर कसैले सुन्यौ कि
बुद्ध तिमी आऊ
बुद्ध तिमी आऊ
सुन्दर तपोभूमि अस्थिर र दास भएको देख्दा
स्वाभिमानका सगरमाथाहरू कति झुके होलान्
अन्याय, असमानता र अपराध हाबी भएको देख्दा
धर्म पशुपतिनाथमा शरणार्थी भएर बसे होलान्
तर कसैले सोच्यौ कि
शक्तिको संघर्षमा, अहंकारको ज्वालामा
दन्किएको राप र पाप, हत्या हिंसाको जालोमा
नारीको अस्मिता लुटिएको, गरिबको झुपडी जलेको देख्यौ कि
त्यसैले मेरी आमा फेरि बुद्ध पर्खंदैछिन्
तर कसैले चिन्यौ कि
पुकार आमाको आवाजको
तर कसैले सुन्यौ कि
बुद्ध तिमी आऊ
बुद्ध तिमी आऊ
सन्तानले मातृभूमिको अंशबण्डा गर्न खोज्दा
एकआपसमा शत्रुता, घातप्रतिघात भएको देख्दा
थरीथरी भगवान, थरीथरी मूर्ति र मन्दिर
फरक आस्था र पूजा पनि बाँडिएको देख्दा
अल्लाह, जिजस र भगवानै पनि रोएको देख्यौ कि
प्रकृतिको विनाशमा, स्वघोषित विकासमा
मान्छे एउटै हो, धर्म जात र सीमारेखा खिचेर
एउटै फूलबारी पनि डढेलो लागेको देख्यौ कि
मानवता, धर्म र स्वतन्त्रता बन्दी भएको देख्दा
अरनिको, भानुभक्त, पृथ्वीनारायण स्तब्ध रहेका
जनक, सीता, वीर र शहिदपूर्खा रोएको देख्यौ कि
नेपाल आमा रोएको देख्यौ कि
त्यसैले मेरी आमा रूँदै तिम्रो नाम पुकार्दै छिन्
बुद्ध तिमी आऊ
तर आमाको आवाज कसैले सुन्यौ कि
बुद्ध तिमी आऊ
बुद्ध तिमी आऊ