कविता
कालो बादल मडारिएको यो भूगोलमा
आज कुनै जीव छट्पटाएको छ
ठूल्ठूला पर्खाल बीच
उकुसमुकुसमा गुज्रेको छ
उसलाई नीलो गगन आँखामा टिप्नुछ
गुराँसको सुगन्ध फोक्सोमा रोप्नुछ
तर ऊ चाहान्न खुला संसारमा टेक्न
किनकी मृत्युुको त्रास फैलिएको छ
टोर्नाडोकै स्पीडमा
हिजो प्रतिस्पर्धा अर्को ब्रह्माण्डसँग थियो
किनकी ऊ सोच्थ्यो
ऊ विकसित भयो, जित उस्कै भैसक्यो
ढुंगे युगमा बाँच्नका निम्ति गरेको
आफ्नो संघर्ष उसले भुलिसक्यो
र ऊ हिँड्यो छुट्टै दुनियाँ खोज्न, बसाउन
कहीँ कतै ठूलो छलाङ्ग मारेको ऊ
बिर्सियो आफ्नै अस्थित्व अनि धर्म
तर आज एकपल्ट चुनौती ऊ आफैंलाई आएको छ
युद्ध उसले ऊ आफैं सँग जित्नुछ
कहीँ कतै चकमन्न अँधेरीमा
जुनकीरीले आफ्नै ज्योति छर्दै अघि बढेझैं
ऊ उठ्नुछ मधुर भरोसाका किरणहरू छर्दै
जुर्मुराउनु छ आफ्नै, आफ्नै निम्ति
अनि मयुरझैं नाच्दै, डाँफेझैं उड्दै
छुनुछ नीलो गगन
महशुस गर्नुछ सगरमाथाको
वायुमा मिसिएको गुराँसको सुगन्ध