कविता
म एउटा कुशल संगीतकारजस्तै
एक कुशल शासकको खोजीमा छु
संगीतकारले हात नचाएपछि
किन मादल र बाँसुरी झगडा गर्दैनन्?
ड्रम र गितार किन पानी बाराबार गर्दैनन्?
किन संख-घण्टको आवाज कर्कश सुनिँदैन?
किन पियानो र सेक्सोफोन कर्णप्रिय हुन्छन्?
हार्मोनियम र झ्याम्टा एकैसाथ
कसरी एउटै लयमा बज्दछन्?
ढोलक र खैजडीले हामीलाई
कसरी आनन्दित बनाउन सकेका हुन्?
पञ्चैबाजा त्यति मीठो कसरी सुनिन्छ?
किन सारंगी रेटिएको पनि मधूर लाग्छ?
तवला ठट्याएको किन झर्को लाग्दैन?
कसरी त्यति बिघ्न भाँडाहरू
संगीतकारको औंलाकै इशारामा
मधूरलयमा बज्न सक्छन्?
मेरा शासकहरू पनि
बाँसुरी र मादलजस्तै छन्
हार्मोनियम, ढोलक र खैजडीजस्तै छन्
उनीहरू संख र घण्टको झैं पवित्र बोल्न पनि खोज्दछन्
उनीहरू सारंगी रेटाइको नक्कल पनि गर्छन्
पञ्चैबाजाको अलौकिक झन्कारको आभास दिलाउन पनि खोज्छन्
तर, दुर्भाग्य उनीहरू कहिल्यै
मधूरलयमा बज्नै सक्दैनन्
उनीहरू हमेशा कर्कशमात्रै सुनिन्छन्
म मेरो शासकलाई पनि
संगीतकारको संगत जरूरी देख्दैछु
ओ संगीतकार मित्र!
मेरो शासकलाई पनि सबैकुरा
मधूर लयमा चलाउन सिकाइदेऊ न
प्लिज!
@tdahal1