कविता
हिँडेको थिएँ साइत गरी, म खुसी बोकेर,
सम्झँदै पर्छ मुटुमा गाँठो, ढुक्ढुकी रुकेर।
नरोए आमा हेरेर बाटो, म जान पाउँदैन,
विदेशी भूमि यो बन्दाबन्दी, जहाज आउँदैन।
जे सोच्छु मैले दिनमा कुरा, भैदिन्छ सपनी,
रोएछु धेरै साक्षी छ यहाँ, भिजेको सिरानी।
खाँदैछन् बाबा ती नानाथरी, डाक्टरी ओखती,
लान्छ रे भन्छन् वृद्ध र रोगी, खोजेर छन् जति।
किन हो किन यो पापी मन, उल्टो पो सोच्दछ,
जिउँदाको पनि अन्तिम मुख, हेर्न पो खोज्दछ।
सकियो होला ओखती पनि, किनेर राखेको,
खुत्रुके फोडी गुजारा टार्नू, आफैंले साँचेको।
के भनूँ अरू म टाढाबाट, आफैंमा बचे है,
फिर्नेछु घर जितेमा रोग, कालले साँचे है।
बग्दैथ्यो मेरो पसिना यहाँ, तिमी थ्यौ गफमा,
छोरोको गफ छाँटेर आज, के पायौ नाफामा?