कविता
जलेका चिताका ती
धुवाँहरू बाट निस्केका
गन्धहरूले
जब जब मेरो समाजमा
प्रवेश पाउँछ
तब तब म ती
तुलसीका मोठहरूमा
संचित हावाहरू खोज्न
भौतारिन्छु ! अनि
ती खरानीका भीष्म
डल्लाहरूमा ठेस लागि
चेत खान पुग्छु !!
म कतै ती चिताहरूमा
मेरा समाजका
तुलसी त कतै ती
पिपलका वृक्ष लम्पसार
निन्द्रामा सुतेको पाउँछु!
कतै ती खरानी धसेका
जोगीहरू अँधेरी रातमा
निस्पट अन्धकारमा
धु धु ध्वनिका वेगहरूमा
हिजो आज सन्हैका फेरि
लगाएको सुनी तृप्त हुन्छु, त
कतै जिउँदो मुर्दा दिवा मै
नचाएको हेरी मस्त हुन्छु !!
कहिले लाग्छ
ती जिउँदो मुर्दा
नचाई हिँड्ने ती
झाँक्रीका डम्मरु बोकी
आफैं मसान घाटको यात्रा गरूँ,
त! कहिले जोगीको भेषमा ती
कुटीहरूको दक्षिणा थाप्न म आफैं दौडिऊँ !
लाग्छ ती घाटहरूमा
बनेका चौताराहरू
अन्धकारमा कति
व्यस्त हुँदा हुन! अनि
ती अन्धकारमा मसान खेलाई
नाच्ने ती नर्तकीहरू
कति सुन्दर हुँदा हुन्!
बिडम्बना ती
व्यस्त चौतारीका
मसिहाहरू लाई के पत्तो
भोलि कि त नर्तक कि त
ती खरानी कै फन्कोमा रमेको
नर्तकीको जीवन को लिला!
हेर्छु त्यही बाटो अनि
त्यही चिता!
आज पनि कोही
अज्ञात त्यही नाच्दैछ
अनि त्यही विलिन हुँदैछ!