म मेरै घर भित्र
आफ्नै दाजु-भाइसँग लड्दै थिएँ
उसले कहिले मेरो भाइलाई उकास्यो
कहिले मेरो दाइलाई उकास्यो
उसले कहिले कहिले त
मलाई पनि रनभुल्लमा पारेको छ
मैले थाहा पाएको छु
उसले हाम्रा बालाई पनि उकासेको थियो
दिदी बहिनीका कान पनि फुकेको थियो
हामी एक आपसमा मिल्न नसकेर झगडा गरिरह्यौं
उसले हाम्रो घर झगडा बल्झाइरह्यो
हामी हाम्रै घर भित्र मिल्न नसकेपछि
उसको आँगनमा गएर भन्यौं
उसको भान्सा घर भित्रै घुसेर
ऊ सुत्ने ओछ्यानसम्मै पुगेर भन्यौं
कृपया हाम्रो घर झगडा मिलाइदेऊ
उसले हाम्रो झगडा मिलाई दिने भन्दै
उसको आली हाम्रै बारीमा घुसायो
हामी सबै मिलेर रोपेको पीपल
हामी सँगै त्यो मेरो हो भन्छ
मेरो बारीमा बग्ने कूलो
अहिले ऊ आफ्नै ठान्छ
मैले बकाइनो रोपेको खेत
भैंसी-बाख्रा चराएको जमिन
फापर र जौं उमारेको धर्ती
मकै, धान र तोरी फलाएको टुक्रो
ऊ अहिले आफ्नै मान्छ
हाम्रै आँखा अगाडि हडपेको हाम्रो बारी
हामीले वर्षौंसम्म हाम्रो हो भन्न सकेनौं
अहिले घर झगडा साम्य भएपछि
दाजुभाइको मन सग्लिएपछि
हामीले कूलो र बारी फिर्ता लिन्छु भन्यौं
ऊ अहिले रन्थनिएर बर्बराई रहेछ
यो टुक्रा मेरा बाले मलाई अंशमा दिएको टुक्रा हो
हेर्नुस् त मेरो निर्लज्ज छिमेकी
कस्तो लबस्तरो छ।
@tdahal1