बिहानीको कमलो घाम जब उनको बार्दलीको झ्यालबाट भित्र सुत्ने कोठामा प्रवेश गर्दछ, तब उनी झसंग भइ उठ्न पुग्छिन्। अनि दिनभरीको योजना बनाउदैँ त्यो पूरा हुने आशमा दिनको सुरुआत गर्छिन्।
उनको सानो र सुखी परिवारमा छोरा, छोरी, निकै माया गर्ने श्रीमान अनि भगवान जस्ता सासु र ससुरा छन्। घरमा सबैजना खुशी छन्। श्रीमान त झनै श्रिमतीलाई माया गर्ने।
घरको सरसफाई पछि चिया अनि ब्रेकफास्ट तयार गरेर छोराछोरी अनि सबैलाई आवाज दिई उठाउने क्रममा श्रीमान एकैछिन अझै सुत्ने बाहानामा कोल्टे फेर्दै भन्छन्- 'लकडाउनमा अफिस जानु पर्दैन क्यारे!'
उनी पनि सोच्छिन्- 'ल ल यही बेला हो आराम गर्ने, अहिले एकछिन सुतुन्।
सबैलाई बिहानीको खाजा दिएपछि अब बच्चाहरुको जुम क्लास क्रमशः ९ बजे, १ बजे र उनी आफै पनि विद्यार्थी भएकी कारणले उनको ४ बजे सुरु हुने भएको छ।
छोरा सानै छ, छोराको क्लासको लागि तयारी गारिदिएपछि उनी हतार-हतार भान्छामा तयार पारिराखेको सब्जी अनि दाल चुल्होमा चढाउने तरखरमा हुन्छिन् ताकि सबैलाई समयमा नै खाना खुवाउन सकुन्।
अब दालमा सिठ्ठी लागिसक्यो, उता छोराले आमा-आमा भनि बोलाउँछ। सब्जी ओइरिएको आवाजसँगै के भो छोरा, नत्र दिदीलाई भन भन्दै गर्दा उताबाट 'म बाथरुममा छु' भन्ने आवाज आउँछ।
फेरि श्रीमानलाई गुहारुँ कि भनि सोच्छिन् तर होस् के डिस्टर्ब गर्नु भनि उनी अर्को कोठा तिर लाग्छिन्।
नेट स्लो भएको रहेछ। अघि नै बनाएर एक घुट्को मात्र पिएर राखेको चिया अझै पिउन पाएको छैन, चिसो भैइसकेछ। फेरि नेट अफ गरेर अन गरिदिन्छिन् अनि बल्ल राम्रो आउन थाल्छ।
यत्तिकैमा उता भान्सामा अघि ओइरेको तरकारी अलि-अलि डढेको जस्तो गन्ध आउँछ। हतार-हतार जान्छिन्।
'ल भयो त? तरकारी पनि डढिसकेछ।'
त्यत्तिकैमा उताबाट सासूको आवाज आउँछ, 'हैन खाना पाकेन भन्या? ११ बज्न लागिसक्यो खोई त?'
उनको कामको रफ्तार बढ्दै जान्छ। छिटो-छिटो सबै काम सक्काउने तरखरमा लाग्छिन्। उता प्यारा श्रीमान उठेर आउँछन् र भन्छन्-' मेरो लागि के काम छ अब भन?'
उनी भन्छिन्- 'केही छैन। ल त अब सबै जना खाना खाउँ अहिले फेरि छोरीको अनलाइन क्लास छ।'
यसो भन्दा श्रिमान् भन्छन्- 'म त खाना खान्न, भर्खर उठेको छु। तिमीहरु खाऊ।'
बरु चिया खुवाउ न ल प्यारी, म नुहाएर आउँछु भन्दै निस्किन्छन्। श्रीमानको मधुर स्वरमा मन्त्रमूग्ध हुँदै मुसुक्क मुस्कुराउँदै हस् भैइहाल्छ नि भन्दै फेरि चिया बनाउन र बाँकीलाई खाना पस्किन तिर लाग्छिन्। तबसम्म उनलाई कसैले पनि सोधेका छैनन् कि 'तिमीले के खायौ त?' भनेर।
उता सासू-ससुरालाई खाना खान बोलाउन जाँदा टिभिमा कोरोनाको समाचार ठूलो स्वरमा बजिरहेकै बीच बुवा-आमा खाना खान आउनु भनि आवाज लगाउँछिन् र पुलुक्क टिभि तिर हेर्दै टुसुक्क बसि एकछिन समाचार तिर ध्यान दिन खोज्छिन्। तर एक्कासी पस्किदिएको खाना चिसो हुने डरले फेरि भान्सा तिरै लाग्छिन्।
खाना खाने क्रममा सबैको नजर त्यो अघि डढेको तरकारीमा जान्छ, झसंग हुनेगरी सासू कराउन थाल्छिन्- 'कसरी पकाको? एउटा तरकारी पनि राम्ररी पकाउन आउँदैन?'
सासूको यो आवाज सुनेर श्रीमान् तिर पुलुक्क उनको आँखा पुग्छ तर श्रीमान् मौन छन्। यत्तिकैमा १ बजे छोरीको क्लास सुरु हुन्छ, उनी त्यसको तयारीमा लाग्छिन्।
अब सबैले खाना खाएपछि एकछिन शान्ति हुन्छ, लामो सास लिन्छिन्। अनि श्रीमानलाई सँगै खाना खान आग्रह गर्दा 'भर्खर चिया खाएको र खाना खान अहिले मन नलागेको' बताउँछन्।
उनको मुहारमा अलिकति उदासिनता छाउछ तर पनि हँसिलो अनुहार पार्दै 'ए हो? ल, ल' भन्दै एक्लै बसेर आँखाभरी आँसु छुपाई खाना मात्र के पस्किन लाग्या थिइन् बिहान सेलाएको चिया त दही जस्तै भइसकेछ।
त्यसलाई पन्छाउँदै थिइन् एक्कासी मोबाइलमा घन्टी बज्छ।
'ओहो! माइतीबाट आएको रैछ।'
'खाना खायौ नानी?' भनि आमाको आवाज आँउछ।
'अँ खान लागेको आमा' भन्दै कुरा गर्दै खाना खान्छिन् तर अचानक हिक-हिक आँउछ। भान्सामा कोही पनि हुँदैन। ल, ल पानी खाउ म एकछिनमा गर्छु भन्दै आमाले फोन राख्नुहुन्छ। अब उनलाई धेरै नरमाइलो लाग्छ।
'एक गिलास पानी दिने पनि कोही भएन, जतिसुकै जना साथमा भएपनि आखिर एक्लै बाँच्नु पर्ने रहेछ।' मन मनै सोच्दै टोलाउन थाल्छिन्। अनि खाना बल्ल-बल्ल खान सक्काउँछिन्।
मनलाई सम्माल्दै उनी आफनो काम सक्काउन तिर लाग्छिन्। अब छोरीको क्लासपनि सक्किन लागिसक्यो अनि आफू अनलाइन क्लासको लागि तयार भइ बस्न मात्र के लाग्छिन् उताबाट 'अब त अलि-अलि भोक लाग्यो जस्तो भयो' भन्दै आफैमा गुनगुनाउँदै भान्सा भित्र छिर्न थाल्छन् प्यारो श्रीमान।
अनि आत्तिदैँ 'अब हजुर आफै खानुस् है प्लिज, म क्लासमा बस्छु' भन्दै बस्न लागिन्। उनी पनि ल, ल म आफै पस्किएर खान्छु भन्दै भित्र जान्छन्। अनि केही परे छोरीलाई भन्नु है भन्न नपाउँदै उताबाट छोरीको आवाज आउँछ।
'अहँ म त सक्दिन भोलि मेरो टेष्ट लिने रे!' भन्दै ढोका ढ्याम्म लगाउछिन्। उनी अकमक्क पर्छिन र जेसुकै होस् भन्ने मनसायले क्लासमा बस्छिन्। किनकि उनलाई जसरी भएपनि क्लास लिनु नै थियो। चार पनि बजिसकेको थियो। ढोका बन्द गरि उनी आफनो क्लासमा मग्न हुने केही कोशिसमा अब केही क्षणपछि ढोकामा ढकढक्याएको आवाज आउँछ।
'प्लिज बुवा-आमा चिया पिउने रे। हेरन मेरो हात जुठो छ, म खाना खाँदै छु, एकछिन् आइदेउन ल।'
फेरि उनी भान्सा तिर लाग्छिन्। अनि केहीबेरको अन्तरालपछि क्लासमा आँउछिन्। ओहो क्लास त सक्किन पो लागेछ, खोइ? मैले त केही पनि बुझिन। त्यत्तिकैमा क्लास पनि सकिन्छ।
बिहानदेखि त्यही क्लास समयमा बस्न पाइयोस् भनेर एकैछिन पनि नबसी घरको कार्यमा तल्लिन भइन् तर सकिएन। उनी बिरक्तिन थालिन्।
अनि फेरि सोच्न थाल्छिन्- 'यो के भाको होला? पूरै देशभरी लकडाउन छ, सबैजना फुर्सदमा छन्। यो मैले मात्र समयलाई मिलाउन नसकेको होकि?'
उनी फेरि बेलुकाको खाना बनाउने तरखरमा लाग्छिन्।