लोभलाग्दो एक महिने नैनी–खप्तड पद यात्राबाट काठमाडौं फर्केको दिन यात्रिक आफ्नो घर नगई सिधा चित्रवीरको 'कुसुम क्याट्स' ल्याबतिर तेर्सियो।
उसको मनसाय थियो– चित्रवीरलाई पदयात्राको भाका र आफू पुगेको जमिनका कथा सुनाउने। यात्राताका आफूले कैद गरेका सुन्दर सुदुरपश्चिमका नागबेली बाटाहरू, घाँसे पाटनभित्रका लुप ट्रेल, सेती र बुढी गंगा किनार छेउछाउ फुलेका तोरीका फाँटसँगै नोमेडिक जीवनशैलीका विशेष फोटो उसको क्यानभासलाई देखाउने। अर्थात् समग्र यात्राको उत्साह चित्रवीरसँग साट्ने।
चैतमासको दिन बाह्य वातावरण धपक्क बलेको थियो। तर चित्रवीरको ल्याबको वातावरण केही फरक थियो। ल्याबको ढोका खुला र उज्यालो। भित्र भने निष्पट्टै अध्याँरो। अनि चित्रवीर थोरै प्रकाश आफ्नो क्यानभास वरिपरि जोडेर घोत्लिरहेको थियो। कथावस्तु क्यानभासमा उतार्ने सुरमा थियो।
ल्याबभित्रै थुप्रैका चित्र क्यानभासमा उतारेको चित्रवीरसँग क्यानभास विशेष दुनियाँको अनुभव छ। अरूबेला यात्रिकका पदयात्राका कथा सुन्न र फोटो क्यानभास हेर्न निकै उत्साहित देखिने ऊ यतिबेला भने चुपचाप सुस्ताइरहेको थियो।
नजिकै गएर यात्रिकले बत्तिहरूको स्विच अन गर्यो।
'बत्ति निभाई देऊ,' यति भनेर चित्रवीर मौन रह्यो। फेरि क्यानभासमै घोत्लियो।
दिउँसै ल्याबभित्रको अत्यासलाग्दो अँध्यारोमा बसिरहेको चित्रवीरलाई यात्रिकले मुश्किलले देखेको छ।
यात्रिकले असहज महशुस गर्यो। उसले एकछिन मनमनै सोच्यो, 'हैन, यो एकमहिने अवधिमा एक्कासि चित्रवीरलाई के भएछ! के-कस्तो छ? कहिले फर्केको? पदयात्रा कस्तो रह्यो? भनेर पनि सोधेन। वास्तै छैन त!'
यात्रिकले उसको हालखबर र कामबारे सोध्यो। चित्रवीरले कुनै जवाफ फर्काएन। चित्रवीरको त्यो विचित्र व्यवहार देखेर यात्रिक फेरि छक्क पर्यो। केही सिप नलागेपछि ऊ पनि एकछिन मौन बस्यो।
निकै लामो सोचविचारपछि चित्रवीरले क्यानभासको स्वरुप तयार पार्यो। कृत्रिम अक्सिजन सकिन लाग्दा आतुर बन्ने हिमाल आरोहिजस्तै ऊ पनि हतारिँदै क्यानभासमा यत्रतत्र रङहरू पोत्न थाल्यो।
जीवन, कीर्तिमानी र मरणको दोंसाधमा अताल्लिने-बेचैन पर्वतारोही जस्तै चित्रवीर पनि आफ्नो क्यानभासको स्टेपमा बेचैन देखिन्छ। ऊ एक्लै फतफताइरहेको छ। र कसैले नसुन्ने गरी एक्लै साउती गर्दैछ, 'आज अन्तिम दिन हो, यो क्यानभासको चित्रणले मूर्त रुप दिने। नभए यसको कुनै अस्तित्व र पूर्ण सुन्दरता रहने छैन।'
झट्टै ऊ जंगली मौरीजस्तै आफ्नो क्यानभास कार्यमा फर्कियो। एकतमासले क्यानभासमा लागे पनि उसको धैर्यको बाँध ढलमलिरहेको यात्रिक नियाल्दै थियो।
यात्रिक चित्रवीरलाई हेर्दै मनमा विभिन्न कुरा खेलाएर छटपटिँदै छ। उनीहरूको मित्रताको आज पाँचौ वर्ष पूरा भयो। बिहानै ल्याब पुगेको यात्रिकको घडीमा साँझको पाँच बजिसकेको छ। ऊ मनमनै आफूहरूको मित्रताको हिसाब गर्दै छ, गहिरो सोचमा डुबेर।
यतिका वर्षसम्म यात्रिकले चित्रवीरलाई यतिसाह्रो हतास र यस्तो चालमा कहिल्यै देखेको याद छैन। किनकी उसले धैर्य सिकाउने एउटा ज्युँदा वीरको रूपमा चित्रवीरलाई जो लिएको छ।
यतिबेला यात्रिकलाई आश्चर्य मात्र हैन, मनमा सन्देह पनि उत्पन्न भएको थियो– दिन अन्तिम हो भन्दै सजाएको ३६४ दिनको क्यानभासको प्रयास कतै सुख्खायामको काकाकुल र बर्खे भेल बन्ने त हैन?
लामो मौनतापछि उकुसमुकुस भएको यात्रिकले मुख खोल्यो र सोध्यो, 'हैन, चित्रवीर आज तिमीलाई के भ'को ? आफ्नै सुरमा छौ। न बोल्छौ, न त आफ्नो छेउ पर्न दिन्छौ। न क्यानभास हेर्न दिन्छौ, नत ल्याबमा उज्यालो बाल्न दिन्छौ। मबाट भुल भएको भए, सरी मित्र !'
उसको भुल र माफीको वर्णमालामा मौन बसेको एक घण्टापछि चित्रवीरले बल्ल मुख खोल्यो। र मलिन स्वरमा भन्यो, 'माफी तिमीले हैन मित्र, मैले तिमीसँग माग्नुपर्नेछ।'
उसको कुरा सुनेर यात्रिक फेरि झस्कियो। यतिबेला यात्रिकलाई चित्रवीरको सबै मनोवृत्तान्त सुन्नु र बुझ्नु छ। र उसले इच्छुक हुँदै सोध्यो, 'तिमी साँच्चै किन अजिब व्यवहार देखाउँदै छौ? मनमा केही तर्कना छ भने भन, मिलेरै सल्टाम्।'
'ल सुन उसो भए' चित्रवीर आफू यतिन्जेल अड्किरहनुको राज खोल्न तयार भयो। र भन्दै गयो, 'मित्र, तिमीलाई मैले आजसम्म केही उपहार दिएको छैन। नयाँ वर्षको उपहारस्वरुप तिमिले २०७६ सालमा बिताएको तिम्रो विगतको जीवन क्यानभासमा कैद गरेर विभिन्न रङले सजाई यादगार बनाउन लामो समयदेखि नै यो क्यानभास तयार पार्दैछु। तिम्रो जीवनका काव्यहरू, तिमी हिँडेका गोरेटा, जंगल र निलो कर्णालीका झंकारसँगको साईनो, गुर्दुम महाभारत ट्रेलमा देखिएका सपना, ऋतुसँग बिताएका रङ, चिया चौतारीमा बसेर चिया र हुस्सुतुवाँलोसँग बिताएका समय, अग्लो डाँडामा बसेर चन्द्रमासँगको उन्माद पल। खुला आकाशमा उडेको चराजस्तै स्वतन्त्र हिँड्ने यायावर जीवनका सबै कुरा क्यानभासमा उतारिसकेँ। जीवनको यस अंशको पूर्णता दिइसकेँ। तर यसमा एउटा कुरा अझै समेट्न सकिरहेको छैन। त्यो अंश उतार्न सकेन भने यो क्यानभास अपूर्ण हुनेछ। कुनै औचित्य हुने छैन।'
चित्रवीरले आफ्नो मित्रको पदयात्रालाई अझै प्रेरित गर्ने उद्देश्यले यात्राका विषयवस्तु क्यानभासमा उतारेको थियो। क्यानभासको टुप्पोमा 'यात्रिक क्यानभास' शीर्षक राखेको थियो। तर त्यो अपूर्ण थियो। अधुरो थियो।
यतिबेला उसको ल्याब हिजोअस्तिजस्तो खचाखच थिएन। एक महिनायता त्यो लगभग सुनसान थियो। चित्रवीरले त्यो चकमन्न स्थितिमा यात्रिकको क्यानभासलाई पूर्णता दिन नसकेको महशुस गरिरहेको थियो।
लामो दुरीको यात्राबाट फर्केको यात्रिकको थकान र एकछिनअघिसम्मको खराब मुड एकाएक प्रफुल्लित बनेको थियो।
यात्रिकले अधुरै भए पनि क्यानभासको खुब प्रशंसा गर्यो, 'तिमीले मेरो २०७६ को जीवनका रङ यसरी सजाईदिसकेका छौ। यो सुन्दर उपहारका लागि म सधैं सगरमाथाको शिरझैं उच्च राख्ने छु। तिमीलाई धन्यवाद मित्र !'
चित्रवीरलाई अझै क्यानभासमा जीवन उतार्न प्रेरित गर्यो। तर चित्रवीर जति प्रेरित र फुरुंग हुनुपर्ने त्यति नदेखिएपछि यात्रिकले फेरि अचम्म मान्यो। र सोध्यो, 'सबै कुरा क्यानभासमा उतारिसकेपछि के चाँहि बाँकी रह्यो र चित्रवीर? तिमी फेरि किन खिन्न छौ?'
अन्योल मनस्थितिमै डराएजस्तो गरी चित्रवीरले जवाफ फर्कायो, 'यो क्यानभास पूर्ण भइसकेको छैन। यसमा तिम्रो जीवनको विशेष चित्रण बाँकी नै छ।'
'कस्तो विशेष चित्रवीर ?' यात्रिकले स्वभाविक रुपमा सोध्यो।
'यात्रिक, तिमीलाई भर्खरै उपहार स्वरुप दिएको त्यो क्यानभासमा तिम्रो जीवनको अर्को एउटा अंश उतार्न बाँकी छ। त्यही बाँकी एउटा अंशले मलाई सोच्न बाध्य पार्यो। त्यो अंश आजै पूर्ण गर्नु छ। रातको १२ बजेअघि नै। अनि तिम्रो त्यो ०७६ को विगत तिमीलाई उपहार दिनुछ, १२ बजेर १ मिनेटभित्रमा।'
चित्रवीरले कौतुहलता बढाउने हिसाबमा उसलाई भन्यो। यात्रिकले घडी हेर्यो, साँझ ७ बजेको थियो।
चित्रवीरको जिद्धीपनका अगाडि यात्रिकको कुनै कसर चलेन। यात्रिकले आफ्नी आमालाई फोन घुमायो र सन्देश दियो, 'म काठमाडौं फर्किसकेँ। आज चित्रवीरकोमै बस्छु।'
'ल सुरू गर उसोभए। म तयार छु,' यात्रिकले बत्तिको स्विच अन गर्यो। फ्रिजबाट एक बोतल बियर निकाल्यो र चित्रवीरलाई दियो। पंखा चलायो। अनी उसको क्यानभासअघिको कठघरामा उभियो।
चित्रवीरले हल्का लामो सास तान्यो। मन्द गतिमा अगाडि बढ्यो। गहिरो सोचाइमा परेर भन्यो, 'तिमीलाई थाहै छ यात्रिक, मैले आफ्नो जीवनमा कतिधेरै सफल र असफल प्रेमीप्रेमिकाको प्रेम जीवन चित्रण गरेको छु।'
चित्रवीरलाई सान्त्वना दिने प्रयत्नमा यात्रिकले भन्यो, 'थाहा छ। तिमी यो कलामा माहिर छौ। प्रष्ट छौ। असफल प्रेमलाई पनि तिमी आफ्नो क्यानभासमा उराठलाग्दा रङ पोत्दै कथाको वर्णन गरेर सजाइदिन्छौ। अनि सफल प्रेमलाई तिमीले उत्साहको रङसँगै उमंग भरिदिन्छौ। आज चाहिँ किन तिमी सफल र असफल प्रेम वर्णित क्यानभासका यादहरूमा अलमलिएको?'
चित्र उतार्दै चित्रवीरले भन्यो, 'आजका मोर्डन रिलेसनसिप अनि प्रेमालयको सोच विचार, सबै कमन छन्। अर्थात् सबै उस्तै छन्। तर तिम्रो भने विल्कुलै फरक भेटेँ। रोचक अनि अनौठो रुपले मिश्रित सोचविचार लागिरहेको छ। सिधाभन्दा अनकमन। असामान्य।'
चित्रवीरले आफूलाई लागेको कुरा व्यक्त गर्यो।
'तिमी भन्छौ, तिमी चौधौं र तिम्री प्रेमिकाको सातौं प्रेमसम्बन्धको मैदानमा छौ। तिमीहरूको प्रेमालयको पर्खाल सुरू भएको समय औंला भाँचेर पनि गन्न सकिन्छ। निर्धक्क प्रेमको घोषणा पनि गरिसक्यौ। अनि गर्वका साथ भन्छौ, हालको प्रेमले सफलताको शिखर चुमिसकेको छ। उनीसँग सबै बन्धन गाँठो पनि बाधिँसकेको छु भनेर। अरे बाबा ! विगतलाई वेवास्ता गरी वैवाहिक गाँठो बाँध्ने छाँट देखिँदैन। आफूहरूको प्रेमको पनि अस्तित्व छ भन्दै जिद गर्छौ। तिमीहरूको यस्तोवाला प्रेम यो समाजमा कसरी टिक्ला? अचम्म छ!'
आफूले सिर्जना गर्न लागेको अधुरो क्यानभासलाई मूर्त रुप दिँदै चित्रवीरले सुनायो।
यात्रिकले सोच्यो– सायद चित्रवीरले उठाएका सबै प्रश्न जायजै हुन्, प्रेमिकासँगको प्रेमसम्बन्ध भलै नाजायज होला। समाजले निर्धारण गरेको दायराभित्र पर्दैन होला। तर प्रेम प्रेम नै हो, जसलाई बिहेको सम्झौतामा बाँधिराख्नु जरुरी छैन। वैवाहिक बन्धनविना नै सँगै जीवन बिताउन सकिन्छ। बाँच्न सकिन्छ। सँगै संघर्ष गर्न सकिन्छ।
चित्रवीरलाई जवाफ दिँदै भन्न थाल्यो, 'हो, हाम्रो प्रेमालयको पर्खाल र सफलताको शिखरको मार्ग भिन्दै छ। सिन्दुर, पोते, मन्त्र, जन्ती, ग्रन्थ साक्षी राखेर प्रेमलाई बिहेमा टुंग्याउनु या पर्खाल लगाउनु, तिमीले सोचेको बन्धन गाँठोहरू होलान्। यिनै कुरा आधार मानेर मात्र मैले प्रेम घोषणा गर्नुपर्थ्यो। अन्नपूर्ण र निलगिरिले ११ वर्षको प्रेमसम्बन्धलाई बिहेमा परिणत गर्ने घोषणा गरेजस्तो। आस्था र भगवानले १५ वर्षको प्रेमसम्बन्धपछि मात्र खुलेर चुम्बन गरेजस्तो। म त्यस्तो चाहन्नँ। म सोचविचारमा फरक छु। तिम्रो भाषामा भन्नुपर्दा 'अनकमन अर्थात् असामान्य' छु ...।'
यात्रिकले चित्रवीरका हरेक जिज्ञासाको जवाफ विस्तारमा भन्यो, 'तिमी केवल मैले भनेजस्तो मेरो प्रेमको क्यानभासमा रङ थप्दै जाऊ। सायद तिमीले ती उत्तरलाई क्यानभासमा जस्ताको उस्तै कैद गर्न सक्दैनौं होला। किनकी तिमीले आजसम्म आफ्नो कलामा आफूले देखेको वास्तविक विषय मात्र निर्माण गरेका छौ। र तिमीलाई थाहै छ, तिमीले दिन लागेको उपहार आजै हो। तर त्यो भोलि हुनेछ। जुन सधैंभर मसँगै सजिएर बस्नेछ। मेरो अदृश्य र अनकमन प्रेमसम्बन्धलाई तिम्रो क्यानभासले मूर्त रुप दिन सक्छ त?'
चित्रवीरले अदम्य साहस देखायो र भन्यो, 'सक्छु। प्रयास पुरानै हो तर कीर्तिमान भने नयाँ हुनेछ। ल भन। म कोर्छु तिम्रो अदृश्य चिजलाई।'
यात्रिक थप्दै गयो, 'हो, प्रेमसम्बन्धको मैदानमा हरेकका आ–आफ्नै विगत हुन्छन्। तिम्रो, हाम्रो अनि मेरी प्रेमिकाको। सबैले विगत बोकरै अर्को मैदानमा प्रवेश गर्छन्। विगतसँगै विगत जोडेर प्रेमसम्बन्धको आधाअधुरा जीवन र बन्धनहरुसँगै जिउने सम्झौता गर्छन्। ती सबै दृश्यमा सर्जित हुन्छन्। विपरीत यौनाङ्गको पहिलो मिलन अर्थात् कुमारित्वलाई बढी मान्यता दिने यो सामाजिक भिडमा हाम्रो सम्बन्ध भलै असामाजिक बन्ला। आफ्ना विगतका प्रेमसम्बन्धलाई अन्तिम विन्दुमै छोडेर वर्तमान प्रेमसँग अदृश्य गाँठो कस्ने विरलै भेटिन्छन्। र मेरी प्रेमिका र मैले पनि आफ्ना विगत छोडेर नयाँ पाइला चालेका हौं। यो वर्तमान प्रेमसम्बन्धको नयाँ यात्रामा छौं। हो, मैले यसैलाई भर्जिनिटी मान्छु। मेरो लागि यही नै कुमारीत्व हो। खासमा हाम्रो प्रेमसम्बन्ध प्राकृतिक छ। सही सांकेतिक छ।'
यात्रिक आफ्नो प्रेमको फराकिलो दायराबारे चित्रवीरलाई सुनाउँदै गयो, 'हामीले औपचारिक रुपमा प्रेमसम्बन्ध सुरू गरेको पहिलो दिन। सूर्य अस्ताउने समयमा चौतारीको छायामुनि कोरिएको जग्गेमा बसेका थियौं। उनको सिउँदो रेखांकित टाउकोमा सूर्यको रापिलो सिन्दुरी रङले मैले उनको सिउँदो भरिदिएको छु। अरूहरूले जस्तै आफन्ती र जन्ती पनि लगेको छु। जो मानवभन्दा पनि उच्च छन्। आकाशमा चम्केका अनगिन्ती तारा र चन्द्रमा, धरतीमा बलेका झिलीमिली बत्तिहरू बीच। चराचुरुंगीको चिरबिर र झ्याउँकिरीको मिश्रित गीतको धुनमा। ग्रन्थ उच्चारण गर्ने केवल प्राकृतिक आवाज थिए। ग्रन्थहरु लिखित थिएनन्। किनकी उनी र मैले मिलेर लेख्नु छ त्यो नयाँ ग्रन्थ। वर्तमानमा टिकेर भविष्य पन्छाउने नयाँ वर्तमान ग्रन्थ। तिनै हाम्रो सम्बन्धका साक्षी हुन्। हाम्रो बन्धनका विम्ब हुन्। उनी र म हाम्रो नयाँ जीवनमार्गमा नयाँ कर्म गर्नेछौं। गर्भ र रगत नाताभन्दा पनि माथि उठेर एउटा हैन, सयौं बालबालिकाका बाबाआमा बन्नेछौं। निस्वार्थ निर्मल भएर म उनलाई र उनी मलाई सिँगार्ने छिन्। प्रेमसम्बन्ध भनेकै एकअर्काको सम्मान हो। साहस हो। यो साहस जोकोहीसँग पनि छैन चित्रवीर। मेरो वर्तमान प्रेमसँगको व्यवहार यही हो।'
क्यानभासमा हात सलबलाउँदै गरेको चित्रवीर रोकिएर एकपटक यात्रिकतर्फ हेर्यो। उसले एकछिन सोच्यो र भन्यो, 'हो, यात्रिक। मैले यस्तो कुरा कतै पढेको वा सुनेको हुन सक्छ। तर मलाई यस्तो कुराको प्रत्यक्ष अनुभव छैन। तिमी तिमी नै हौ। तिम्रो सोच पनि तिम्रै हो। सायद प्रेम सफल र असफलभन्दा पनि वर्तमानको सम्मान रहेछ। मैले तिम्रो जीवनको एउटा अंश अनकमन प्रेमसम्बन्धलाई यस क्यानभासमा दुइटा प्रसंगले सजाइदिएँ। नीलो र सेतो रङ अनि विभिन्न मार्गरेखाहरू कोरिदिएँ, अनगिन्ती पाइलाहरुले सजाइदिएको त्यो ब्रह्माण्डमा। त्यो हो, 'लुफीमार्ग'। यस क्यानभासको सबै अंश तिम्रो विगत भए पनि, तिम्रो अनकमन प्रेमसम्बन्धको मार्ग वर्तमान हो। सबैकुरा यहाँ चित्रण गरिदिएको छु। यसले प्रेरणा दिनेछ। जसलाई तिमी प्रत्येक वर्ष नयाँ नयाँ उमंगको सोच र मिश्रणले त्यो मार्ग सजाउने छौ। यो उपहार तयार भयो।'
चित्रवीरले यात्रिकलाई नयाँ वर्ष स्वरुप उपहार दिँदै भन्यो, 'तिम्रो नयाँ वर्ष २०७७ को तिम्रो 'लुफीमार्ग क्यानभास'। शुभकामना छ। तिम्रो वर्तमान र अनकमन प्रेमसम्बन्धलाई। यो सम्बन्धको खुला दायराको तिमीहरूको सोचलाई।'
यात्रिक र उनकी प्रेमिकाको यो सम्बन्धलाई आजीवन जिवितै राख्ने शुभकामना सन्देश र पूर्ण रूपको क्यानभास उपहार लिँदै दुवै जना आ–आफ्नो बाटो लागे