समीरको दैनिकी सामान्यरुपमा चल्दै थियो। जिम्मेवारीको हिसाबले सबै दिन उस्तै नै थिए। उसको 'रुटिन्ड लाइफ' मा गत नोभेम्वर १० भने फरक सावित भयो। त्यस दिन टेलिफोनको रिसिभरले उसको कानमा मधुर आवाज गुञ्जायो। आवाज कर्णप्रिय थियो जसले उसलाई तरङ्गित गर्यो।
समीर संयुक्त राष्ट्र संघीय मिसनमा कार्यरत थियो। ड्युटी स्टेशन डार्फरको अल-फासिरमा रहेको मिशन हेडक्वार्टरमा थियो। एउटा अफिसियल काममा सामान्य सहयोगको अपेक्षा गर्दै आएको टेलिफोन कल थियो त्यो।
त्यस मधुर आवाजकी धनि रोज थिइन्। उनी मिशनको अर्को हेडक्वार्टर जालिन्जीमा कार्यरत थिइन्। उनीहरुको डिउटी स्टेशन करिब २०० किलोमिटर दुरीमा थियो। कार्यालय र स्थान फरक भएपनि जिम्मेवारीमा केही समानता थियो। त्यसैले पनि प्रिय आवाज पछ्याउन उसलाई सहज भयो।
कुराकानीका बहाना पनि मिल्दै गए। संवादको दायरा फराकिँदै गयो। सुरु-सुरुमा कामको सिलसिलामा सामान्य भलाकुसारीबाट सुरु भएको उनीहरुको सम्बन्धमा विस्तारै हाँगा पलाउन थाल्यो।
यस बीचमा दुबैले एक अर्कालाई सामाजिक सञ्जालबाट परिचित गराइसकेका थिए। आवाजबाटै प्रभावित समीरले रोजको तस्वीर देखेपछि झनै मन पराउन थालेको थियो।
'ब्रदर एण्ड सिस्टर' बाट सुरु भएको उनीहरुको सम्बन्ध रोजको प्रस्तावमा 'साथी-साथी' मा परिणत भएको थियो। रोजको एक्टिभनेस समीरलाई 'के खोज्छस् काना आँखो!' झैं भयो। 'साथी-साथी' को सम्बन्धलाई 'मोर द्यान फ्रेण्ड' मा परिणत गर्न प्रस्ताव गर्यो। रोजले 'थम्स अप' गर्दै पठाएको 'स्माइली' र 'फर्वार्ड बोइ' ले उसको प्रस्ताव स्वीकृत भयो।
उनीसँग सम्बन्ध गाँस्न लालायित समीर अब झन् उत्साहित देखिन थाल्यो। समयक्रमसँगै उनीहरुको 'कन्भर्सेसन' ले बेजोडको गति लिन थाल्यो।
समीरको मनमा रोजप्रतिको प्रेम अंकुरण भइसकेको थियो। उ यसलाई नयाँ उचाईमा पुर्याउन चाहन्थ्यो। त्यसैले उनीलाई नजिक राख्न सकिने कुनै पनि मौका चुकाउन चाहेन। समीर शब्दसँग धेरै खेल्ने गर्दथ्यो। सही समयमा उचित शब्दको प्रयोग गर्न जान्दथ्यो।
यसबाट रोज प्रभावित थिइन्। तस्वीर हेरी-हेरी उनको सौन्दर्यको असीमित बयान गरिदिन्थ्यो। यस्तो लाग्थ्यो कि 'आफ्नो प्रशंसामा हरेक व्यक्ति रमाउँछ' भन्ने तथ्यलाई समीरले आफू अनुकुल प्रयोग गर्न जानेको थियो।
एकदिन समीरले संयोगवश रोजकी साथीलाई भेट्यो। उनी काम विशेषले अर्कै ड्युटी स्टेशनबाट त्यहाँ आएकी थिइन्। उनको काममा समीरले सहयोग गर्यो र आफ्नो कोठामा लगी खाना खुवाएर पठायो। उसको सहयोगी भावना र सत्कारले प्रभावित भई उनले रोजसामु समीरको प्रशंसा गरिन्। यसले रोजमा समीरप्रतिको सम्मान थपिदियो।
चाहे स-साना वा कम मूल्यका नै किन नहोस्, उपहारले महिलाहरुलाई खुशी बनाउने कुरामा जानकार थियो। कुराकानीका क्रममा रोजलाई पत्तो नै नहुने गरी उनको चाहना र छनौट पत्ता लगाउँथ।यो र त्यसै अनुसारको उपहार किनिसकेको हुन्थ्यो। अनि उनी भएतिर जाने व्यक्ति भेटिएपिच्छे विभिन्न किसिमका उपहारहरु पठाउने गर्थ्यो। रोज समीरसँग निकै प्रभावित भएकी थिइन्। उनीहरुको सम्बन्ध झाँगिदै गयो।
फेब्रुअरी ५ को साँझ एक टेलिफोन कलले समीर असमञ्जसमा पर्यो। ३० मिनेटभित्र 'बिगेस्ट स्टार रेस्टुरेन्ट' मा डिनरको लागि उपस्थित हुन रोजले अनुरोध गरेकी थिइन्। रोजलाई भेट्न पाउने हुनाले रोमाञ्चित त भयो नै, कौतुहल पनि देखिन्थ्यो। टेलिफोन र म्यासेजमा मात्रै कुरा गरेको उसले रोजलाई प्रत्यक्ष भेट्न जाँदै थियो। च्याट गर्नु र प्रत्यक्ष भेट्नुमा निकै फरक हुने कुरामा उ जानकार त थियो नै, सचेत पनि थियो।
मनमा कुरा खेलाउँदै रोजले आमन्त्रण गरेको रेष्टुरेण्टको हलमा प्रवेश गर्यो। हल निकै सिँगारिएको थियो। हलको सजावट अनपेक्षित लाग्यो। रोजको 'बर्थडे सेलेवेरेसन' मा जाँदै थियो भन्नेबारे समीर स्वयं अनविज्ञ थियो। हलमा प्रवेश गरेपछि मात्र उसले यो सब चाल पायो। वास्तवमा रोज उसलाई 'सर्प्राइज' दिन चाहन्थिन्। उनी यस मानेमा सफल पनि भइन्।
समीरको प्रवेशसँगै हलमा छुट्टै आवाज गुञ्जियो। उसको प्रतिक्षामा रोजसहित ६/७ जना साथीहरु बसिरहेका थिए। रोजले उसलाई न्यानो स्वागत गरिन्। यो स्वागत पृथक थियो। रोजले उसलाई आफ्नोपनको आभाष दिलाएकी थिइन्। उसले फरक अनुभूति गर्यो। त्यति नै बेला रोजसँगको सम्बन्ध रंगीन हुने अनुमान लगायो।
पश्चिमा संस्कार अनुरुप 'बर्थडे सेलेवेरेसन' भयो। प्रेमिकाको जन्मदिनमा उपहार बिना नै उपस्थित भएकोमा लज्जित महशुस गर्दै जन्मदिनको शुभकामना दियो। भौतिक रुपमा समीरसँगको पहिलो भेट थियो रोजको। उनले यसलाई नै अमूल्य उपहार मानेको बताइन्। केही बेरको सामूहिक बसाई र खानपिनपछि रोजलाई उनको कोठामा पुर्याई समीर फर्कियो।
उसको मनमा रातभरी निकै कुरा खेल्यो। सपनामा रोज आइरहिन्। उसले त्यस रात रोमान्टिक सपना देख्यो। उसको सपनाको कथा सुन्दा यस्तो लाग्थ्यो कि सबै मायावी पलहरु उसले सपनामै अनुभूत गरिसकेको छ।
रोज आफ्नो डिउटी स्टेशनबाट केही दिनको बिदा लिई समीरलाई भेट्न आएकी थिइन्। यो बसाईमा हरेक दिन उनीहरुको भेट हुन्थ्यो। सधैंजसो बिगेस्ट स्टार रेष्टुरेण्टमा भेटिन्थे। हरेक साँझ डिनर सँगै गर्थे। अनि हरेक बिहीबार हुने पार्टीमा सँगै नाच्थे। दुवै राम्ररी नाच्न जान्दथे। उनीहरुको 'कपल डान्स' ले पार्टीमा थप रौनक भरेको थियो।
भिन्न परिवेश अनि प्रतिकुल वातावरणमा विदेशी भूमिमा बसाई कसलाई पो सहज लाग्थ्यो र! यी जोडीले पनि यसअघि निकै असहजता महशुस गरेका थिए। तर विस्तारै परदेशी भूमि प्रिय हुँदै गएको थियो। हरदम रमाएका देखिन्थे। एकदमै व्यस्त अनि मस्त देखिन्थे।
हरेक क्रियाकलापमा उनीहरुको प्रेम र समर्पण छरपस्ट देखिन्थ्यो। यस्तो लाग्थ्यो कि उनीहरुले जीवनमा रङ्ग भर्ने कुनै पनि मौका चुकाएका छैनन्। त्यसैले उनीहरुको मायावी सम्बन्ध देख्नेहरु इर्श्याले जल्ने गर्थे।
फेब्रुअरी ७ को दिन बिहानै समीरले रोजलाई भेट्यो। रोजको हातमा रातो गुलाफ दिँदै समीरले प्रणय दिवस सप्ताहन्तको सुरुआत गर्यो। यो पल रोजलाई विशेष लाग्यो। झण्डै एक वर्षको सुडान बसाईमा उनले गुलाफ देखेकी थिइनन्। विशेष दिनमा प्रेमीबाट दुर्लभ रातो गुलाफ प्राप्त भएपछि निकै खुशी भइन्।
उनको खुशी मुहारबाटै पढ्न सकिन्थ्यो। उनले उक्त गुलाफलाई फ्रेममा सजाएर निकै जतनसाथ राखिन्।
'रोज डे' देखि 'भ्यालेन्टाइन्स डे' सम्मका हरेक दिन उनीहरुले विशेषरुपमा मनाए। रोजको बिदा सकिँदै थियो। उनी डिउटी स्टेशन फर्किंदै थिइन्।
समीर केही दिनको लागि घर जान चाहन्थ्यो। सबै बन्दोवस्ती मिलाएर आएपछि रोजलाई घर लैजाने योजना थियो उसको। रोजले यसमा सहमति जनाइन्। उनले पनि त्यही समयमा घर जाने र आफ्नो बुबा-आमालाई भेटेर आउने चाहना व्यक्त गरिन्। मार्च ६ मा दुबै छुट्टिए छिट्टै सधैंका लागि सँगै हुने योजनाका साथ। समीरको गन्तव्य इजिप्ट थियो भने रोजको इन्डोनेसिया।
३० औँ वसन्तसम्म एक्लै बिताएको उसलाई कुनै पनि स्वदेशी महिलाले आकर्षण पैदा गर्न सकेकी थिइनन्। तर भाग्यको खेल हो वा उसको नियती! परदेशको कर्मभूमिमा विदेशी महिलासँग प्रेममा बाँधिएको थियो।
रोज एक 'डिभोर्सी' महिला हुन्। उनले गत वर्षमात्रै दाम्पत्य जीवनको अन्त्य गरेकी थिइन्। लागु औषध दुर्व्यसनीसँगको पाँच वर्षे कष्टकर सम्बन्धबाट मुक्ति पाउन निकै मुश्किल भएको थियो उनलाई।
प्रेम र आफ्नोपनको आभाष बिना बितेका ती काला दिनहरु बिर्साउन समीर उनको जीवनमा सौभाग्य बनेर आएको थियो। वास्तवमा प्रेम र जीवन के हो भन्ने उनले समीरबाटै सिक्दै थिइन्। समीरसँगको साथले अबका दिन सुनौला हुने गहिरो विश्वास थियो उनीसँग। समीरको प्रेममा डुबेकी उनले दुर्व्यसनी पतिसँग बिताएका पीडादायी क्षणहरु भुल्दै जान थालिन्।
माया र प्रेमले जीवनभर बल्झिरहने घाउ समेत निको भएको महशुस हुन थाल्यो उनलाई। अविवाहित समीर र पारपाचुके भइसकेकी रोजको प्रेम सम्बन्धमा निकै व्यवधानहरु थिए। उनीहरुको जन्मभूमी त फरक थियो नै यससँगै भाषा, धर्म, संस्कृति, रीतिरिवाज कुनैमा पनि समानता थिएन। उनीहरुको प्रेम सम्बन्धबारे जानकार उनीहरु वैवाहिक सम्बन्धमा बाँधिनेमा आशंका गर्दै थिए।
त्यसैले यो कर्मभूमिको छोटो बसाईमा पलाएको प्रेम केवल दुई दिनको घामछाया हो र फगत रोमान्समा नै सिमित हुनेछ भन्ने विश्वास देख्ने सुन्ने सबैमा थियो। तर उनीहरुको अगाध प्रेम र समर्पणले सारा असमानता चिर्दै सामूहिक जीवन जिउने बलियो आधार प्रदान गरेको थियो। समीर आफ्नो विश्वासमा दृढ थियो। उसले नोकरी र विवाहलाई व्यवस्थापन गर्ने योजना बनाईसकेको थियो। छिट्टै उनीहरु बीचको सम्बन्धले औपचारिकता पूरा गर्नेमा निश्चिन्त थियो।
समीरको परिवारमा आमा र उ मात्रै थिए। बाबुको ह्रदयघातका कारण स्वर्गवास भएको थियो। उपचारको क्रममा निकै खर्च भएकोले ऋण तिर्ने आमाले घर बेचेकी थिइन्। त्यसयता उनीहरु डेरामा बस्दै आएका थिए। समीरमाथि आमाले निकै ठूलो सपना बुनेकी थिइन्। उनको जिउने आधार नै समीर थियो।
बुढेसकालको दरिलो सहारा हुने विश्वास समेत गरेकी थिइन्। संयुक्त राष्ट्र संघी मिशनमा काम गरेपछि उसले केही पैसा जम्मा गरेको थियो। एउटा घर किन्यो। अनि छिट्टै बुहारी लिएर आउने आश्वासनका साथ आमालाई नयाँ घरमा बसाई मार्च १५ मा पुनः विदेश फर्कियो।
रोज १७ मा फर्किंदै थिइन्। अर्को महिना समीरसँग इजिप्ट जाने योजना थियो। त्यसैले मार्च १६ मा रोज सपिङको लागि निस्किन्। साँझपख घर फर्किंने क्रममा मौसममा अकस्मात् परिवर्तन आयो। कञ्चन निलो आकाश क्रमशः बादलले ढाक्दै थियो। अकस्मात् बेजोडले वaतास चल्न सुरु गर्यो। तुफानसरी आएको बतासमा लपेटिँदै हतारिँदै घर पुगिन्।
कोठाको झ्याल खुल्लै थियो। झ्यालबाट पसेको हावाले उनको कोठाको सौन्दर्य पूरै बिगारीसकेको थियो। अत्तालिंदै झ्याल बन्द गरिन् र हावाले छरपस्ट बनाएका सामानहरु मिलाउन थालिन्। अकस्मात् उनको आँखा टुटेको वस्तुमा अडियो। त्यो त्यही गुलाफ थियो जुन समीरले रोज डेमा दिएको थियो। प्रेमीको अमूल्य चिनो ठानी सँगै लिएर गएकी थिइन्।
हावाको झोंकाले भूइँमा खसेपछि फ्रेम फुटेको थियो भने फूल पत्र-पत्रमा छुट्टिएको थियो। नरमाइलो मान्दै छरिएका पत्रहरु संगाल्दै समीरलाई टेलिफोन गरिन्।
पूरै 'रिङ्' बज्यो तर फोन उठेन। हतास हुँदै ह्वाट्स एप अनि फेसबुक म्यासेन्जर दुवैमा म्यासेज छोडिन्। निकै बेरसम्म समीरले कल ब्याक गरेन। न त म्यासेजको रिप्लाई नै गर्यो।
उनको मनमा अनेकन कुराहरु खेल्न थाले। समीरले आफूसँग सम्पर्क हुन नसकेमा म्यासेज छोड्न भनि सरेसको नम्बर दिएको याद गरिन्। सरेसबाट समीर हस्पिटलमा भएको जानकारी पाई मर्माहत भईन्। भोलिपल्ट उनको फ्लाइट थियो। उनी जतिसक्दो चाँडो आएर समीरलाई भेट्न चाहन्थिन्।
मोबाइलमा एकोहोरो हेरेर टोलाउँदै थिइन्, इमेलको नोटिफिकेशनले झस्कायो। उनले भोलिपल्ट यात्रा गर्ने एयर लाइन्सबाट आएको इमेल थियो। खार्तुम एयरपोर्ट बन्द भएकोले उनको फ्लाइट रद्द भएको सूचित गराइएको थियो। उनी हतास् भइन्। वेचैनि बढ्दै गयो। मन व्याकुल भयो।
समीर शारीरिक रुपमा तन्दुरुस्त थियो। तर त्यस साँझ नियमित व्यायमको क्रममा ह्दयघातका कारण अकस्मात् ढल्न पुग्यो। उसलाई बचाउने डाक्टरहरुको प्रयास सफल हुन सकेन। उसले आल्पायुमै मृत्युवरण गर्यो। साथी वियोगको पीडालाई आत्मसाथ गर्दै सरेसले समीरकी आमा र रोजलाई दुःखद खबर सम्प्रेषण गर्नु थियो।
हिम्मत जुटाउन गाह्रो भयो उसलाई। आमाको मुटु फुटेको र रोजको सपना टुटेको दृश्य उसका आँखा अगाडि तछाड-मछाड गर्दै दौडिन थाले।
जति नै कठिन भएपनि उसले खबर गर्नु नै थियो। आमा निःशब्द भई केवल सुनिमात्रै रहिन्। उनी होसमा छिन् कि बेहोसीमै सुनेकी हुन्, उसले भेउ पाउन सकेन। उनका निःशब्द वेदना उसले पो कसरी अन्दाज गर्न सक्थ्यो र!
उता यो खबरले रोज विक्षिप्त भइन्। उनका जीवनका सारा रंग उडे। क्षणभरमै उनका सपना खरानी भए। प्रिय मानिसको वियोगमा पीडा र आक्रोस मिश्रित भावमा एकोहोरो चिच्याइरहिन्। उनलाई पुनर्जिवन दिने समीरको प्रेम सदाका लागि अधुरो रह्यो। उसैको प्रेमको प्रतिक रातो गुलाफको फूल सुमसुम्याउँदै रोइरहिन्।
चिरकालसम्म उनको मुटु बिझाउने त्यस घटना 'गुलाफ झरेको दिन' बनेर उनमा मनमा बसिरह्यो।