कविता
म ज्ञानी बन छोरा भन्छु,
ऊ जुरुक्क उठेर एउटा गिलास फोड्छ,
म रिसाएर मुख बिगार्छु,
ऊ हाँसेर हात जोड्छ,
म कृतज्ञ हुँदै उसलाई अंगाल्छु,
ऊ अंकमाल गर्दै मुस्कुराउँछ,
म खाना खान बिन्ति गर्छु,
ऊ मुख बाँधेर आँगन घुम्छ,
म कचौरीमा मिचेको भात लिएर पछि पछि लाग्छु,
ऊ हातले आफ्नो मुख थुन्छ,
म आँगन चहार्छु उसैको पछि पछि,
ऊ छिन छिनमा बाटो निहार्छ,
म दूध खाऊ छोरा भन्छु,
ऊ आइस्क्रिमको फर्माइस गर्छ,
म लुगा धुन बस्छु,
ऊ ढाडमा चढ्छ,
म भुइँ पुस्छु,
ऊ पानी पोखी दिन्छ,
म एक छिन सुत्छु,
ऊ आँखा घोची दिन्छ,
म पढ छोरा भन्छु,
ऊ कपि केर्छ,
म घरको खाजा लैजाऊ भन्छु,
ऊ स्कुलको क्यान्टिन देखाउँछ,
म गृहकार्य गर भन्छु
ऊ भुसुक्क निदाउँछ,
ऊ मार्कसिट लिएर आउँछ,
म खुसीले फुरुङ् हुन्छु,
ऊ मुसुक्क हाँस्छ,
म आफैंलाई बिर्सन्छु।
गर्भमै छँदा पनि ऊ सलबलाउँथ्यो,
म तरंगित हुन्थें,
ऊ ढक्क गाँठो परि एक छेउमा बस्थ्यो,
म आफ्नो पेट समाउँथें,
मैले मेला बाट ल्याएको खाजाले,
ऊ कति रमाउँथ्यो,
म उस्कै खुसीमा अघाउँथें,
ठूलो भयौ छोरा,
परदेश गयौ छोरा,
तिम्रो साथको अनुभव गरेदेखि,
म सधैं तिमीमै हराएको छु,
तिम्रो यादमा छोरा,
सपनीमा पनि कति कराएको छु,
छोरा धेरै वर्ष भयो,
एक्लै बर्बराएको,
तिमीले पठाएको विदेशी मुद्राले घर चलाएको,
राम्रा छैनन् छोरा,
यी विदेशी सारी अनि अत्तरहरू,
तिमीलाई छुन मन छ छोरा,
तिम्रो काखमा मलाई पनि,
रून मन छ छोरा,
मलाई पनि तिमीलाई,
घुर्की लाउन मन छ छोरा,
फकाएर यति खाऊ आमा,
भनेको सुन्न मन छ छोरा,
छोरा सुन्छु,
वृद्धा लाई लाग्छ रे यो रोग चाँडै,
अनि चाप्छ रे पनि,
उमेरले डाँडो काटी सक्यो छोरा,
म अस्ताउनु भन्दा पहिले,
तिमी आऊ न छोरा,
सबैका छोरा आएका छन्,
धेरै भयो तिमीलाई छुन मन छ छोरा,
मलाई पनि तिम्रो काखमा रून मन छ छोरा।