कविता
सास्तीले घेर्छ सीमानामा
मृत्यु पर्खेर बस्छ करेसामा
बलात्कारी ढुकेर बस्छ क्वारेन्टिनमा
भरोसा भत्कियो मेरो
सपना पुरियो मेरो भग्नावेशमा
घरबाट गरिबीले लखेट्यो
मुग्लानबाट महामारीले लखेट्यो
आमाको फाटेको चोलो जस्तै
मन फाट्यो
र म मुग्लान पसें
घरदेशमा आफ्नाबाटै
परदेशमा पराईबाट जोगाएको अस्मिता
घरदेशमा घरैबाट लुटियो आमा
माइती देशको त कुकुर पनि
प्यारो हुन्छ भन्थे
मेरा दाजुभाइ कुुकुर जति पनि
मेरा भएनन् आमा
उज्यालो खोज्दै हिँड्दा
अँधेरो आँगनमा आइपुगेंं म
रक्षक नै भक्षक भए पछि
मेरो अस्मिताको
रक्षा गर्न सकिनँ आमा
मसँग मेरो लासमात्र बाँकी छ
घर लैजाऊ कि चिहानमा
मसँग अँधेरो रात मात्र बाँकी छ
लामो निन्द्रा निदाऊँ कि
म फेरि पर्खूं बिहानमा
भन न आमा
म घर फर्कूं कि चिहानमा ?