औंशीको रात, हरेक दुःख, सुखको साथ
कोमल हृदय सम्हाली पतिलाई दिन्छिन् हात
एक शब्द बोलीमा खिच्दै आफ्नो मात
चिसो सपनीमा बिताउँछिन् अनेकौं रात
तिनै हुन् नारी दुःखद् घडीमा लुकाउँछिन् धेरै बात।
छाउ, झुमा, सतिप्रथा करणी अनि बलात्कार
सबैको चपेटामा लुकेका छन् यिनका चीत्कार
खेलौना बनाइन्छ, दबाइन्छ यिनलाई कठै छ धिक्कार
निर्मला काण्ड, बालकाण्ड यसै मौन छ सरकार
तिनै हुन् नारी जिउँदै जले त्यागी छन् अपार।
जिन्दगीका खुट्किलासँग खेल्दै जुहारी
कहिले छोरी, सासू,आमा अनि बुहारी
घरको चुल्हो चौको कहिले घरकी पुजारी
मुस्कुराउँछिन् मुसुक्क सबै पीडा गुजारी
सबैलाई मिठास दिने तिनै देवी हुन् नारी ।
सधैं सुख होइन दुखाइमा जिउन सक्ने
खुसीले मन रिझाई फाटेको मन सिउन सक्ने
हत्केलामा चन्दन अनि तरबार लिन सक्ने
आफ्ना सारा इच्छा मारी खुसीहरू दिन सक्ने
तिनै हुन् नारी धितो राखी ऋण लिन सक्ने।
सृजनाका हत्केलाले उचालेर सगरहरु
पौरखले सजाइदिने एक्लो फाँट र बगरहरु
दियो बाली सुगन्धले ढाकिदिने नगरहरु
मेसिन बनी काम गर्छिन् मुस्कुराई अधरहरु
तिनै हुन् नारी चुकाउँछिन् ,झुकाउँछिन् नजरहरु।
जीवनसाथीका लागि त्याग्ने माता पिता नै
उनका गाथाका सामु फिक्का सिङ्गो गीता नै
लक्ष्मी, दुर्गा, सती, तारा द्रौपदी हुन् उनी सीता नै
पहाड नै तगारो बनोस् साहस उनका मिठा नै
तिनै सारथि हुन् नारी त्यागले बन्ने सिठा झैं।