गुम्सिएको कोठाभित्र खुम्चिएका बालापन
प्रश्नको ओइरो लाग्दा जवाफको मुख झन्
खोल्नै बोल्नै नसक्ने गरी थलिएका छन्
बालजिज्ञासा मेटाई बुझाउनुछ तिनको मन
'बाबा, हाम्रो आँगनमा किन काँडेतार लागेको?
स्कुल खोइ त? हामीदेखि किन टाढा भागेको?'
आवाज कानमै ठोक्किन्छ र टाँसिरहन्छ, जानै मान्दैन
ध्यानले उक्काउन खोज्छ, सक्दैन वा जान्दै जान्दैन
शब्दशून्य प्रत्युत्तरमा आँखामा आँखा जोडियो
डिलको आँसु टिलपिल गर्दै छटपटाउँदै थियो
ऊ पनि सहन नसकी त्यहीँबाट बिलाइदियो
मुटु यति चस्कियो कि, बिझेजस्तो गरी सियो
हेर्छु वरपर सबैतिर नियाल्नु सारा सेरोफेरो
आज त केही छैन हातमा, हिजोसम्म तेरोमेरो
जब भाइरसले गला दबायो, अँध्यारो छायो
एकवित्ता आँठोमा कल गर्नेले आज के पायो
प्रकृतिमा पोतिएका रङ भा'छ नि गमिलो
तर आँखा धमिलो, मन हुँदा अमिलो
रस्वादनमा किन हुन्थ्यो र रसिलो
नाता गोताका दुरी बन्न नसक्दा कसिलो
हर प्रहर प्रकृतिले सहेकै हो कहर
ऊ बेला घोलीघोली पिलायौ जहर
यसमा भएन कसैको गतिलो ठहर
डम्पिङभित्रै बेबारिसे बनेको यो सहर
लडिराछ वल्लो बेडमा विज्ञान, पल्लो बेडमा ज्यान
मुखामुख, एकदम चुप, भएनि एक अर्काका फ्यान
कोरा वस्त्रधारी, कवच बनेका मेटाउनलाई महामारी
अहोरात्र खटिरहेका छौं परिवारकै ज्यान दाउमा पारी
विज्ञानको कमाई, हर्ष बढाइँ भइराथ्यो रमाईरमाई
झ्याप्पै आयो घाँटीमा हात लायो सबैलाई बनायो दुहाई
चुनौती र अवसर दुवै हात लागिरा'छ हरेक कर्मलाई
बुझ्न सके यसको मर्म, स्वीकारेर सनातन धर्मलाई
(लेखक प्रकाश कुमार सिग्देल श्री बालसिद्ध मा.वि, वालिङ–७, केवरे भञ्ज्याङ्, स्याङ्जामा शिक्षक छन्।)