वैशाख जाँदाको चर्को घाम। बिर्तामोडमा खपि नसक्नुको गर्मी। काठमाडौं फर्कने तरखरमा लागेका हामीलाई स्थानीय मित्रले गर्मी छल्न कन्याम जान सुझाए।
रितेशले पनि 'जाऔं दाइ एकपटक हेरौं न त' भन्यो। चलचित्र र केही गीतमा देखिएको कन्याम बिर्तामोडबाट नजिकै छ भन्ने हामीलाई थाहा थिएन। यात्राको समय एक दिन थपियो।
रितेश र मलाई साथीले इलाम जाने जीपमा चढाइदिए। अनि लाग्यौं चारआलीबाट उत्तर मेची राजमार्ग हुँदै। बिहानैदेखि चर्किएको घाममा जीपमा कोचिँदा उखरमाउलो भइहाल्यो। नयाँ ठाउँ र नयाँ यात्रा उत्साहपूर्ण हुनुपर्नेमा उकुसमुकुस पो भयो।
जीपमा चढेको आधा घण्टापछि नै शरीरमा चिसो हावाले छुन थाल्यो। नागबेली परेको सडक उकालिँदै गयो।
फाट्टफुट्ट देखिने घरहरू, घरका छेउमा देखिएका इस्कुसका माच, भर्खरै पलाउँदै गरेका इस्कुसका मुन्टाहरू, पिठ्युँमा दूधका ठूल्ठूला क्यान बोकेका घोडा धपाउने मान्छेका दृश्यले हामी लोभिँदै थियौं।
झापाका फाँटलाई पुछारतिर छोड्दै पहाड चढ्दा हाम्रो शरीरले कतिखेर आनन्दको महशुस गर्न थाल्यो भेउ नै भएन।
पहाडको टुप्पाबाट गाडी तेर्सिएपछि राजमार्गको दुवैपट्टि चियाबारी देखिन थाल्यो। विभिन्न नेपाली चलचित्र र गीतका दृश्य आँखै अगाडि नाच्न थाले। रितेश फोटो खिच्नमै व्यस्त।
मैले छेउमै बसेकी एक जना महिलालाई सोधें 'यो ठाउँको नाम के हो?'
ती महिलाले मपट्टि हेरेर मुसुक्क हाँस्दै भनिन् 'कन्याम हो दाजु' थप उत्सुक हुँदै सोधिन् 'तपाईंहरू पहिलोपटक आउनु भएको हो र?'
हो भनेर म टाउको हल्लाउँदै थिएँ जीप घ्याच्च रोकियो। ड्राइभरले पछाडि फर्किएर भन्यो 'बिर्तामोडबाट चढ्नु भएको दुई जना दाजुहरू उत्रनु त। कन्याम यही हो।'
बिर्तामोडबाट गाडी चढाउने साथीले ड्राइभरलाई भनेको रहेछ। मान्छेका घुँडा र खुट्टा पन्छाउँदै हामी जीपबाट फुर्लुङ्ग सडकमा झर्यौं।
चिसो हावाले हाम्रो शरीरलाई ताजा बनायो।
'धन्न आइएछ यार झन्डै मिस भएको' रितेशले क्यामरा चियाबारीतिर सोझ्याउँदै भन्यो 'वाउ क्या सानदार ठाउँ! धर्तीमा यस्तो राम्रो ठाउँ पनि रहेछ!'
साँच्चै सुन्दर रहेछ कन्यामको चियाबारी। डाँडामा रेखी हालेजस्तै सल्लाका रूख, मिलेका चियाका पोथ्रा, बीचबाट पार हुने राजमार्गबाट गाडीको ओहोरदोहोर, घाम र कुहिरोको लुकामारी, चिसो हावा, खुड्किलै खुड्किलासँगै रेलिङ बनाएर चुचुरोसम्म बनाइएको पर्यटकमार्ग अनि त्यहाँबाट देखिने वारिपारिको दृश्य। वर्णन गर्न नसकिने अद्भूत स्थल। एकछिन अगाडिको खपिनसक्नुको गर्मीको तुलनामा स्वर्गको टुक्राजस्तो ठाउँ।
चियाबारीमा घुम्दाघुम्दै चिया टिपिरहेका एक हुल महिलाहरूको नजिकै पुग्यौं। चियाका बोटमाथि हात नचाइरहेका महिलाहरूमा एक जना किशोरी मीठो लयमा गीत गुनगुनाउँदै थिइन्।
उनको सुमधुर स्वरले हरियाली चियाबारीलाई गुन्जाइरहेको थियो। रितेशले ती किशोरीलाई थाहै नदिई भिडिओ खिचेछ।
'एकपटक टिपेपछि चियाको पात कति दिनको फरकमा टिप्नुपर्छ?' मैले कुरा सुरू गरें।
'हेरी हेरी हुन्छ दाजु। दस दिनदेखि दुई हप्ता भित्रमा टिप्नुपर्छ,' गीत गुनगुनाउने किशोरीले जवाफ दिइन्।
उनको उमेर त्यस्तै १९/२० जस्तो थियो।
'त्योभन्दा ढिलो भयो भने झन् धेरै चियाका पातहरू होलान् अनि फाइदै हुन्छ होला हैन र?' रितेशले सोध्यो 'त्यस्तो कुनै नियम त छैन होला नि यति दिनमै टिप्नुपर्छ भनेर?'
'हुन्न नि दाजु। समयमा टिपेन भने त पछाइहाल्छ नि।' उनले चियाको मुनालाई दाहिने हातको बुढी औंला र चोर औंलाले च्यापेर देखाउँदै भनिन् 'सबैभन्दा राम्रो यो दुई पात एक सुइरोको मुना हो। टिप्न ढिला हुँदा पात छिप्पिन्छ र कमसल चिया हुन्छ क्या।' उनले चुरुकचुरुक चियाका मुनाहरू टिप्दै भनिन् 'हिजोआज अलिक चाँडो र ज्यादा मुना आउँछ। पछि कात्तिकतिर चैं दुई हप्तामा पनि कमै मात्र पलाउँछ। तर पनि दुई हप्तामा टिप्नुपर्छ। मंसिरदेखि चइतसम्म सुख्खा हुने भएकाले पत्ती पलाउँदैन। त्यसपछि त पत्ती तुरिहाल्छ।'
'चियाका बुट्टाहरू किन यति राम्रा भएका? चियाको बोट अरु रूखबिरुवा जस्तो अग्लो नभएर पात टिप्नलाई सजिलो बनाइएको होला हगि?' रितेशले सोध्यो। उसको सोधाइले महिलाहरू खितिती हाँसे। उनीहरूको हाँसोले छेउको सल्लाको रूखमा बसेका चराहरू भुरर्र उडे।
'यति सजिलो कुरा पनि के सोध्नु भएको हउ दाजु?' तिनै किशोरीले उल्टो प्रश्न गरिन् 'देख्नु भएन चियाका बुट्टाहरू यस्ता किन भए भन्ने कुरा?'
रितेशले पनि चियाका मुन्टा चुँड्दै भन्यो 'देखेर त सोधेको नि। तर यसको कारण चाहिँ थाहा पाइएन र पो मुश्किल भयो।'
'हामी जस्ता अपराधीको हातमा परेर चियाका बुट्टाहरू यस्ता भएका दाजु।'
ती किशोरीको कुरा हामीले बुझेनौं। उनका हातहरू चियाका बुट्टामाथि छुनमुनाइरहेका थिए। चन्चले आँखा र बाटुलो अनुहार भएकी ती किशोरी गहुँगोरो वर्णकी थिइन्। उनको कपाल कमरसम्म झुलेको थियो।
उनले टोकरीको चियालाई बोरामा खन्याउँदै भनिन्, 'चियाका यी कलिला मुनाहरू हप्तैपिच्छे निमोठेपछि कता बढोस् बिरुवा। राम्रा देखिए पनि यी पीडा र बोझले थिचिएर बाउन्ने भएका हुन्। चियाका पात र मुना नटिप्ने हो भने अरु रूख जस्तै अग्ला अग्ला हुन्छन्। उ… त्यो पर भित्तामा राजारानीले रोपेका चियाका दुई वटा रूख छन्। तिनीहरूका मुना नटिपीकन राखिएकाले अग्ला रूख भएका हुन्।'
ती किशोरीले ओठ गोलो बनाएर देखाउँदै भनिन् 'ती दुइटा बिरुवा मात्र भाग्यमानी। स्वतन्त्रपूर्वक बढ्न पाए। अरु त हामीजस्ता क्रुर मान्छेका हातमा परेर कहिल्यै उठ्न पाएनन्। बढ्ने त कुरै भएन। उनीहरूले आफ्नो सक्कली पहिचान गुमाएर मान्छेका लागि आकर्षक पोथ्रा बने। तर नि दाजु, मान्छेले कहिल्यै पनि बुझेन हउ यिनीहरूको मर्म।'
उनको कुरा सुनेर महिलाहरू गलल हाँसे। हामी पनि हाँस्यौं। हामी कुरा बुझेर भन्दा पनि बोली मीठो मानेर हाँस्यौं। महिलाहरू किन हाँसे भन्नेतिर हाम्रो चासो थिएन।
'त्यस्तो दया लागेको भए तैंले चैं किन चियाका मुना निमोठेकी नि?' समूहबाट एक जना महिलाले भनिन् 'भरे पत्ती जोख्ता उसैको धेरै हुन्छ। सधैं बिगामा हामीभन्दा बढ्ता पैसा लिनेमा उही पर्छे। गफ चैं उसैका ठूला!'
'घोडाले घाँससँग मित्रता गरेर के खाओस्?' ती किशोरीले हाँस्दै भनिन् 'बाध्यता हो नि हउ। मनले नमान्दा नमान्दै चियाका मुना लुछेर यस्तो अपराध गर्नुपरेको छ।'
महिलाहरू फेरि हाँसे।
कुरा गरेर नसकिने रहेछ भन्ने लाग्दै थियो। रितेश त गीत पो गाउन थाल्यो।
'इलामै सहर चियाबारी राम्रो त्यहीँ पर्यो घर हाम्रो
कसकी हौ छोरी नक्कली मोरी लैजाने आँट हाम्रो'
गीतको दुई लाइन गाउँदै रितेशले भन्यो 'हो रहेछ गीतले भनेको। ठाउँ जस्तो राम्रो मान्छे पनि उस्तै राम्रा। तर कुरा चाहिँ सार्है चाम्रा।'
'तपाईंले गाएको गीत मिलेन हउ दाजु। इलाममा कुनै पनि सहर छैन ल। हाम्रो इलाम जिल्लाको सदरमुकामलाई पनि इलाम भनिन्छ। त्यो सानो बजार छ। इत्रु बजारलाई कसले सहर भन्यो हउ?' किशोरीको बोलीले हामीलाई हड्डी देखिनै हँसायो। हाँस्नकै लागि रितेश कहिले मुख छोप्थ्यो त कहिले चियाका बुट्टामा छलिन्थ्यो। त्यसो त मलाई पनि हाँसो थाम्न निकै हम्मे परिरहेको थियो।
'सहर हुनलाई कस्तो हुनुपर्छ त?' रितेशले सोध्यो 'धेरै घरहरू गुजुमज्ज परेको ठाउँ जहाँ टेलिफोन, बिजुली, सडक, अस्पताल, कलकारखाना सबै छ त्यसैलाई सहर भनिन्छ। हैन र?' उसले समर्थन पनि खोज्यो।
'अब्बुई त्यो त हामीले पनि सामाजिक शिक्षामा पढेका हौं' उनले खितखिताउँदै भनिन् 'किताबमा लेखेको जस्तो कहाँ हुन्छ र दाजु व्यवहारमा?' रितेश कहिले क्यामरा त कहिले मोबाइल तेर्स्याएर भिडिओ खिच्नमै व्यस्त थियो। उनका हातहरू चाहिँ चिया टिप्न व्यस्त। हातजस्तै छिट्टो उनका ओठ फरफराइरहेका थिए।
'व्यवहारमा चाहिँ कस्तो हुन्छ त सहर? खै हामीले त यस्तै सुन्दै र मान्दै आएका छौं है।' मैले रितेशको कुरालाई आड दिँदै भनें 'तपाईंबाट सहरका बारेमा नयाँ परिभाषा सुनौं न त?'
उनले पुलुक्क मेरो अनुहारमा हेर्दै भनिन् 'उस्। हामी कुनामा बसेर दुनामा खानेले तपाईंहरू जस्ता सुकिलामुकिलालाई परिभाषा सिकाउने!हैट सूर्यलाई बत्ती देखाएर के साध्धे।'
चिया टिप्दाटिप्दै उनले आफ्नो कपाल पनि पस्नाउन भ्याइन्। उनका साथीहरू माथिल्लो डिलमा टोकरी बिसाएर लहरै बसे। सायद उनीहरूको थकाइ मार्ने बेला भएको हुँदो हो। एक जना अलिक पाको उमेरकी महिलाले भनिन् 'यो मुना बल्ल आज फेला परी। यसलाई कसैले बोलेर जित्न सक्दैन थिए। आज यी भाइहरूले तह लाउने भए।'
किशोरीले पनि आफ्नो टोकरीलाई भित्तामा अड्याएर राखिन्। रितेशले भिडिओ खिचिरहेकै थियो। आफूतिर मोबाइल सोझिएको देखेर उनी मुसुक्क मुस्कुराइन्।
उनले भनिन् 'तपाईंहरू सहरिया। हामी गाउँले। अब आफैं थाहा पाउनुहोस् सहर भनेको के हो भनेर।' उनी फेरि खितखिताइन्।
'यो मुनी एकपटक काठमाडौं गएकी के थिई, सबैलाई सहर कस्तो हुन्छ भनेर पढाउने भइसकी' उही अधबैंसे महिलाले ओठ लेप्र्याउँदै भनिन्, 'कत्ति न उसले मात्र जाने जस्तो गर्छे।'
'छेमा त्यति सारो बिल्ला चैं नहान्नु न हउ' उनले भनिन् 'देख्नु भएन। न परिचय गर्नुछ। न पहिलेदेखि चिनजान। मोबाइल निकालेर फोटो खिच्न हतार हुन्छ सहरियाहरूलाई। हाम्रो गाउँमा त कति मजाले सोधखोज गरिन्छ हैन छेमा? सन्चो-बिसन्चो। घर परिवारमा के कसो छ? छरछिमेकमा कस्तो छ? खेतीपाती, वस्तुभाउका कुरा हुन्न त छेमा?'
'लौ तैं गर् है मुना हाम्रो साटो पनि परिचय। सन्चो/बिसन्चो कुरा पनि तैं भन्। हाम्रो त उमेर गइहाल्यो। केलाई सोध्नु र सन्चो न बिसन्चो? न वस्तु न भाउ?' ती महिलाले बोली नसक्दै सबै जना एकै सुरले हाँसे।
किशोरीको अनुहार लाजले रातो भयो।
'भन्न पाएँ भन्दैमा पल्लै छेउ पुर्याउनुहुन्छ क्या छेमा पनि। अब यसो बोल्ने निहुँ त चाहियो नि। गाउँमा एकअर्कासँग बोल्नु सुखदुःख साटफेर गर्नु हो। सहरमा बोल्नु स्वार्थ पूरा गर्नु मात्र। घरको एउटा कोठाबाट मलामी र अर्को कोठाबाट जन्ती निस्कने काम सहरमा मात्र हुन्छ। संवेदना फिट्टो हुँदैन। हामीजस्ता गाउँलेलाई बिल्ला हानेर रेला गर्न मात्र जानेका हुन्छन् सहरियाले। सहरका घर मात्र होइन मान्छेका मन पनि कंक्रिट हुन्छन्। ढलान गरिएका मनमा न कुनै भावना हुन्छ न त मायाप्रेम।'
किशोरीको भनाइले म आश्चर्य चकित भएँ। हन यी नानीलाई कति धेरै कुरा आएको? मैले रितेशलाई हेरें। उसको अनुहारले पनि उही भाव दर्शाउँदै थियो। चिया टिप्ने महिलाहरू हावामा आनन्द लिँदै थिए।
'माया प्रेम त गाउँमा भन्दा बढी सहरमा हुन्छ हैन र?' रितेश प्वाक्कै बोल्यो।
'दाजु हामी त फूललाई पनि माया गर्छौं। पशुपंक्षीलाई पनि प्रेम गर्छौं। सहरियाका लागि मायाप्रेम भनेको केटाकेटी एकान्तमा भेटेर छिल्लिएर लहसिने मात्र हो।' सानो उमेरमा पनि वयस्क भाव देखाउँदै भनिन् 'चोरी, ठगी, लुटपाट, झगडा सहरमा धेरै हुनुको कारण मान्छेभित्रको लोभ, स्वार्थ, घृणा र आरिसको प्रतिफल हो। त्यसैले इलाममा सहर छैन भनेको नि दाजु। हाम्रो ठाउँलाई सहर बनाउनुपर्या पनि छैन।'
साँच्चै हामीले त परिचय गरेकै रहेनछौं। परिचय नै नगरी उनका कुरा आत्मीय थिए। वर्षौं पहिले चिनेजस्तै उनीहरूले हामीसँग कुरा गर्दै थिए। हत्तपत्त परिचय दिँदै भनें 'हामी काठमाडौंबाट आएका पत्रकार। मेरो नाम हरि अनि उसको नाम रितेश। कन्यामको चियाबारी घुम्न पहिलोपटक आएका।'
हामीसँग सुरूदेखि बोलिरहेकी किशोरीको नाम मुना रहेछ। उनकी छेमाको नाम पिङ्गला अनि अरुहरू कला, गंगा, मनिता, आरती, अन्जु…।
'कस्तो मीठो हावा है' रितेशले कुरालाई मोड्यो। साँच्चै त्यतिबेला निकै बेगले हावा चलिरहेको थियो।
'दाजु यो ठाउँको नामै हुरहुरे हो' हावाले उडाएर ठाडो भएको कपाल सम्याउँदै मुनाले भनिन् 'यो पूरै चियाबगानको नाम चैं कन्याम। अहिले हामी उभिएको जग्गा चै हुरहुरे। असार साउनमा यहाँ छाता ओडेर हिँन्नु मुश्किल पर्छ। खर्साङदेखि आएको हावाले छाता फर्लक्क फर्काउँछ भन्या। '
'खर्साङ भनेको के हो?' रितेशले सोध्यो। सायद उसलाई थाहा थिएन अथवा उनको मुखबाट सुन्न चाहन्थ्यो कुन्नि।
'उ… त्यो अन्तु डाँडा हो। त्यहाँबाट सूर्योदय झक्काँस देखिन्छ।' मुनाले सिधा अगाडिको डाँडातिर चोर औंलाले देखाउँदै भनिन्, 'अनि त्यो पर क्षितिजमा देखिएको चैं दार्जेलिङभन्दा माथिको टाइगर हिल। ती सेतै टल्किरहेका घर नै खर्साङ बजार हो। हो, त्यहीँबाट आएको हावा यहाँ ठोकिन्छ के। तल सम्ममा सिलिगुडी पनि देखिन्छ। अहिले चैं तुँवालोले छेलेको छ।' मुनाले हामीलाई एकैचोटि अन्तुदेखि सीमा पारिका ठाउँको परिचय गराइन्।
उनीहरूको चियाको मेलो पनि सर्दैसर्दै कन्यामको डाँडामा रहेको सल्लाका रुखनेर पुग्यो। हामी पनि फर्कीफर्की फोटो खिच्दै उनीहरूकै सुरमा उकालिँदै गयौं। डाँडामा पुगेपछि उत्तरतिर देखिएका हिमाल औंल्याउँदै मुनाले भनिन् 'हेर्नुहोस् त दाजु कंचनजंघा। हेर्दा उ…ती देखिन्छ तर कम्ता टाढा छैन। इलाम छिचोलेर पानथर पनि नाघ्नुपर्छ। अन्त ताप्लेजुङ पुगिन्छ। हो त्यहीँ छ के कंचनजंगा।' आफ्नो गलामा झुण्डिरहेको लकेट देखाउँदै भनिन् 'ताप्लेजुङमा पाथीभरा देवीको मन्दिर पनि छ। छेमाले पोहोर ल्याइदिभ'को।' उनी फनक्क दक्षिण फर्किइन् र भनिन् 'दाजु उ… त्यो चैं सानी पाथीभरा हो क्या। कुटीडाँडाको टुप्पोमा छ। सिँढी सिँढी चढेर जानु क्या मज्जा आउँछ।'
केहीबेर सोचेर उनले भनिन्, 'दाजु हाम्रोमा अन्तु डाँडाबाट झुल्केको घाम उ… त्यो सिद्धिथुम्काबाट अस्ताउँछ।'
उनले पश्चिमतिरको एउटा चुली डाँडा देखाइन्।
'अन्तुको पश्चिमबाट बग्ने सिद्धिखोला हो भने सिद्धिथुम्काको पूर्वबाट बग्ने माइखोला।'
मुना कति फरासिली। जति सुने पनि उनको बोली सुनिरहूँ जस्तो। पूर्वेली लवज र शैलीको बोलीले हामीलाई तीन घण्टा पनि तीन मिनेट जस्तै लाग्यो। उनले केही गीत पनि गाइन्। उनको स्वर अरुणा लामाकै जस्तै सुनिन्थ्यो।
हाम्रो मन चियाबारीमा पल्किरहेका बेला दिन ढल्क्यो। घाम पश्चिमतिर ओरालो लाग्दै गर्दा हामीले चियाबारीलाई छोडेर झापातिर झर्नुपर्ने भयो। हात जोडेर बिदा मागियो।
'दाजु फर्स्टटाइम हाम्रो गाउँमा आउनु भ'को र'छ। चियाबगान मात्र हेर्नुभयो। चिया खानै नपाई जारे र?' मुनाले भनिन् 'जाऔं न हाम्रो घरमा। चिया पिएर जानू। उ.. तीँ तल पर्छ क्या हाम्रो घर।'
'लैजा है मुना पाहुनालाई घरमै लैजा। पाहुनालाई यतै राखे पनि भो' छेमाले व्यङ्ग्य गरिन् 'भाइहरूको मन पनि चियाका मुनाबाट मान्छेको मुनामा सरेजस्तो ला'गो।' सबै महिलाहरू गलल्ल हाँसे। मुनाको अनुहार सिद्धिथुम्का नजिकै पुगेको घामजस्तै बन्यो।
हामीले आजै झापा झर्नुपर्ने र रात्रिबस चढेर काठमाडौं फर्कनु पर्ने सुनायौं। हाम्रो कुरालाई काट्दै मुना बोलिन् 'तपाईंहरू त सहरमा बस्ने त्यसमाथि पत्रकार। हाम्रो घरमा जाऔं भन्नु पनि तपाईंहरुलाई अपमान गरेजस्तो हुन्छ।'
कुराकानी गर्दागर्दै हामी राजमार्गमा आइपुगेका थियौं। उनीहरू चियाका भारी बोकेर फ्याक्ट्रीतिर लागे। मुनाले हात हल्लाउँदै भनिन् 'बाँडिऔँ है दाजुहरू। हाम्रो गाउँलाई सहर पसेर नभुल्नु ल।'
हामी पनि हात हल्लाउँदै जीपमा चढ्यौं। झापा झरेर त्यही दिनको रात्रिबसमा काठमाडौं हिँडियो।
केही दिनसम्म हाम्रो मनमा मुनाको झल्को आइरह्यो। मैले कन्याम चियाबारीको फिचर लेखेर पत्रिकामा छपाएँ। रितेशले मुनाको भिडिओ बनाएर युट्युबमा राख्यो। मुनाको निश्चल मनजस्तै थियो स्वर। उनको स्वर मन पराएर युट्युबमा थुप्रै प्रतिक्रियाहरू आउन थाले। अब जमाना चियावालीको भनेर धेरैले भिडिओ सेयर गरे।
भिडिओ राखेको एकसातामै हेर्नेहरूको संख्या लाखौँ पुग्यो। रितेश र म दङ्ग परेका थियौं। यात्राको अवधिलाई एक दिन लम्ब्याएर गरेको लगानीलाई कयौँ गुणा बढी लाभ युट्युबले दिएको थियो। भिडिओ हेरेर गरिएका टिप्पणी र हामीलाई प्रत्यक्ष सन्देश पठाउनेहरूले मुनाको स्वरलाई मन पराएको लेखेका थिए।
युट्युबमा भिडिओ राखेको एक महिनापछि रितेश दौडेर मेरो कोठामा आयो। उसले भन्यो 'हरि, फेरि कन्याम जानुपर्ने भयो।'
उसको अनुहार चम्किरहेको थियो। खुसीले पुलकित हुँदै उसले थप्यो 'भिडिओले कमालै गर्यो नि। दर्शक पनि एक करोड पुग्न आँटे यार।'
मुनाको भिडिओ हेरेर केही चलचित्र निर्माताले मुनालाई नायिका बनाउने विचार गरेछन्। गीत रेकर्ड गरिदिनेहरू पनि तयार भएछन्। उनीहरूले रितेशसँग भएका मुनाका अरु भिडिओ पनि हेरेछन्। मुनाको बोल्ने शैली र उनको निर्दोष अनुहारले सबैलाई लोभ्याएछ। सँगसँगै युट्युब चलाउने केही साथीहरू पनि कन्याम जान लोभिएका रितेशले सुनायो।
दिउँसो अनामनगरमा चिया गफसँगै मुनालाई भेट्न जाने विषयमा छलफल भयो। केही युट्युबर र चलचित्र बनाउनेहरूसँगै अर्को महिना कन्याम जाने हामीले निर्णय गर्यौं। कोही त तुरुन्तै जाने भन्दै थिए तर कामको आक्कलठिक्कल मिलाएर सबै सँगै जाने मेसो मिलाउँदा एक महिना समय लाग्ने भयो।
एक महिनापछि एउटा जीप रिजर्भ गरेर हामी कन्याम पुग्यौं। पहिले पुगेकै समय र ठाउँमा जीपबाट ओर्लियौं। कन्याम पहिले जसरी हाँसिरहेको थिएन। भुइँकुहिरोको पछ्यौरी ओडेर सुकसुकाइरहेका चियाका आँसुबाट तर्किंदै माइकका बुम र क्यामरा बोकेको हाम्रो लर्को मुनाको खोजीमा चियाबारीभित्र पस्यो।
हामी चिया टिपिरहेका महिलाका समूहमा पुग्यौं। प्लाष्टिकको घुम्टो ओडेका उनीहरूले कम्मरमुनि पनि प्लाष्टिकलाई लुङ्गी जस्तै बेरेका थिए। समूह समूहमा चियाबगानमा चिया टिप्ने महिलाहरू थुप्रै हुँदा रहेछन्।
'तपाईंहरू मुनालाई चिन्नुहुन्छ?' चिया टिपिरहेका महिलाहरूलाई मैले सोधेँ।
'मुनालाई नचिनेर के गर्नु र दाजु? हाम्रो त काम नै मुना चिन्ने हो।' एउटी महिलाले मपट्टि हेर्दै भनिन् 'यी हेर्नु न हामी मुना मुना मात्र चिनेर टिप्ने गर्छौं।'
उनको जवाफले म अक्क न बक्क परें। सँगै गएका साथीहरू मुख छोपेर हाँस्न थाले। महिलाको जवाफले भन्दा पनि साथीहरूको हाँसोले म थप लज्जित भएँ।
'एकजना बहिनी छन् चिया टिप्ने। मैले उनको कुरा गरेको।' मैले लाजलाई दबाउँदै भनें।
'दाजु हामी पनि बहिनी नै हौं है। जिउभरी प्लाष्टिक बेरेको देखेर पो झुक्किनुभो कि' अर्की महिलाले मेरो थप हुर्मत लिइन्।
उनीहरूसँग बोलेर जित्ने हाम्रो वसको कुरा थिएन। कुराले स्पष्ट पार्नुभन्दा भिडिओ देखाउनु राम्रो ठानेर रितेशले युट्युबमा मुनाको भिडिओ देखायो। सबै महिलाले ध्यान दिएर भिडिओ हेरे। एकजना महिलाले भनिन् 'यो त मुना हैन र?'
उनको प्रतिक्रियाले हामी हौसियौं। रितेश र म एकैचोटि बोल्यौँ 'हो हो।'
'धेरै दिन भयो उसलाई देखेको छैन। पिङ्गलालाई थाहा होला।' ती महिलाले भनिन् 'उ… त्यो भन्ज्याङनेर पिङ्गलाहरू पत्ती टिप्तै छन्। त्यहाँ गएर सोध्नु न।'
उनले दुइटा डाँडाको गल्छेडोतिर जाने बाटो देखाइन्। हामी त्यतै गयौं।
बल्ल हामी त्यो समूहमा पुग्यौं जुन खोजीमा थियो। अन्जु, आरती, मनिता, पिङ्गला, गंगा उस्तै आवरणमा चिया टिप्तै थिए। छेउमा पुगेर हामीले नमस्ते गर्दै कुरा सुरू गरेपछि उनीहरूले चिने।
'ए सहरका पत्रकार भाइहरू पो रहेछन्' पिङ्गलाले भनिन् 'कति धेरै मान्छे आउँछन्। कुरा गर्छन् र जान्छन्, याद गर्नै मुश्किल पर्छ हउ।'
उनीहरूको समूहमा मुना नदेखेपछि मैले सोधेँ 'मुना खोइ त?'
'ए तपैँहरू त मुनालाई पो खोज्न आ'को?' गंगाले भनिन् 'खै हामीलाई खोज्ने पनि कोही आइदिए हुन्थ्यो नि।' सबै महिलाको अट्टहाँस हाँसो गुन्जियो। सँगै गएका युट्युबर र चलचित्र निर्माण गर्न तम्सिएका साथीहरू मुखामुख गर्न थाले।
'मुना त काठमाडौंभन्दा ठूलो सहरमा पुगिसकी। यस्तो ठाउँमा के अडिन्थी त्यो बाठी।' पिङ्गलाले भनिन् 'चियाका पत्ती टिप्ने उसका हातहरू यतिबेला पैसाका मुठा सोर्दै होलान्।'
उनको भनाइको मेलोमेसो पाइएन। कुराको छेउटुप्पो नबुझेपछि रितेशले भन्यो 'सहरलाई घृणा गरेर आफ्नो गाउँलाई माया गर्ने मुना कहाँ गइन् र?'
'खै दुबई हो कि कहाँ हो।' पिङ्गाले भनिन् 'विदेश गएको एक महिना भइसक्यो। उ… त्यो मुनाको घर हो। त्यहाँ गएर सोध्नु न।' उनले चियाबारीको छेउमा रहेको टिनले छाएको सानो घर देखाइन्। हामी हतार हतार त्यतै लाग्यौं।
त्यो मुनाको काकाको घर रहेछ। मुना सानो छँदै बुबा क्यान्सरबाट मरेपछि गरिबी र अभावमा पिल्सिएर उनकी आमाले पनि आत्महत्या गरेकी रहिछन्। टुहुरी भएपछि काकाको संरक्षणमा हुर्किएकी मुनाले स्थानीय विद्यालयबाट कक्षा १२ सम्म अध्यायन पूरा गरेकी काकाले बताए।
बुबालाई क्यान्सरको उपचार गर्दा बन्दकी राखिएको घरजग्गा उकास्नका लागि उनी दुबई गएकी थाहा भयो। अघिल्लोपल्ट हामीले भेट्दा उनले काठमाडौं पुगेर मेनपावरमा दुबई जानलाई पासपोर्ट पेस गरिसकेकी रहिछन्।
काकाले मुनाको नम्बर दिएपछि रितेशले तुरुन्तै फोन गर्यो। मुनाले फोन उठाएर भनिन् 'को बोल्नुभ'को?'
रितेशले दुई महिना अगाडि कन्याममा भेटेको बेलिबिस्तार लगाउँदै भन्यो 'हामी फेरि तपाईंलाई भेट्न आएका छौं। साथीहरूले तपाईंको गीत रेकर्ड गर्ने भनेका छन्।'
मैले रितेशको हातबाट मोबाइल लिएर मुनालाई भने 'मुना म हरि बोलेको। तपाईंलाई कस्तो छ?हामी तपाईंको घरमा आएर काकाकाकीसँग गफ गरिरहेका छौं।'
मुनाले लामो सास फेर्दै भनिन् 'धन्यवाद दाजु।' केहीबेर रोकिएर भनिन् 'चियाका बुट्टा जस्तै हो दाजु मेरो जीवन। परिस्थिति, समय र चुनौतीले गाँजेर मलाई उठ्न दिएन। गीत गाउने रहर त हो तर गीत रेकर्ड गर्नका लागि हाम्रो पुर्पुरोमा लेखेको छैन हउ दाजु। सबै चियाका बोटले राजारानीको हातबाट रोपिनेजस्तो भाग्य पाउँदैनन् नि। चियाका मुना लुछ्ने, चुँड्ने, चिमोट्नेहरूलाई चियाबारीका मालिक सम्झने दुनियाँ छ यहाँ।'
'केही छैन। तपाईं दुबई पुग्नु भएछ। राम्ररी काम गर्नुहोला। पछि नेपाल फर्केपछि पनि गीत रेकर्ड गर्न सकिहालिन्छ नि बैनी।' मैले उनलाई सान्त्वना दिँदै भने।
'काकीलाई भनेर चिया खाएर जानु ल दाजु।' बोलीलाई सुख्खा बनाउँदै उनले भनिन् 'भूमरीले बटारेर मरुभूमिमा पुर्याएको मुना कसरी बौरेली र खै! म त एक महिनामै ओइलाइ सकेँ दाजु।' त्यसपछि फोन काटियो। दोहोर्याएर गर्ने आँट पनि भएन।
हामी फर्कियौं। त्यहाँबाट राजमार्ग निस्कनका लागि चियाबारीको बीचबाट बनाएको गोरेटे छिचोल्दै हिँड्यौं। सिद्धिखोलाबाट आएको कुहिरोले कन्यामलाई अझै डम्म सिरक ओडाएकै थियो। कुहिरोको शितले हो कि मुनाका आँसुले चियाबारी चाहिँ रुझिरहेको।
'जीप रिजर्भ गरी यत्रो बाटो आइयो बेक्कारमा खर्च मात्र' साथीहरू थकथकाउँदै थिए। म भने चियाका बोटहरू नियाल्न थालेँ। चियाकाबोटमा मुना थिएनन्। सबै चियाका बोटहरू ठुट्टै थिए।