रातभर मेघ गर्जनसहितको वर्षा, असिना र चट्याङको गर्जन। वैशाखको पहिलो हप्तामा यस्तो प्रकारको मौसमले कुनै परिवर्तनको विशेष सम्वाद प्रचारप्रसार गर्दैछ, यस धर्तीमा। सायद परिवर्तन संसारको उमंग हो।
मानिस र प्रकृति दुवै समयानुकूल प्रजातान्त्रिक स्वतन्त्रतामा होमिएका छन्– कहिले फिक्का त कहिले गाढा रङमा। प्रत्येक वर्ष आ–आफ्नो परिवर्तनको उचाइमा उकाली–ओराली गर्दैछन्।
झरी सुरुवाती अवस्थाभन्दा उग्र बन्यो। भयंकर बनेको झरीले मुसलधारे रुप लियो। उग्र बनेको मुसलधारे पानी पनि रोकिने छाँटकाँट देखिएन। असार–साउन र जेठ–वैशाखको मिश्रित प्राकृतिक रुप एकैपल्ट बर्सिदा सहर सन्त्रासमा भिजेको छ।
आधारातमा मेरो निद्रा बिथोलियो। बाँकी समय पटक्कै निद्रा परेन। विछ्यौना र सिरकसँग लुकामारी खेल्दाखेल्दै बिहानको चार बजिसकेछ। झरी रोकियो। बिहानी आस्थाको धुनसँगै अन्तरमनमा सुर चल्यो– सहरको छलाङमा नजर नलाएको पनि धेरै भइसक्यो, आज यो सहर वरिपरि एक फन्को मार्नुपर्यो।
विहानी नित्यकर्म सकेर झिसमिसे बिहानीमा सहर डुल्न निस्केँ।
०००
यो गृष्मकालीन गर्मी सदाझैं फतक्क गलाउने खालको छैन। झरीले मौसम चिसो–चिसो बनाएको छ। काँचो बिहानीसँगै बहने हावाको संगीत सुरिलो सुनिन्छ।
कोटेश्वर महादेवस्थानबाट काठमाडौं–ललितपुर जोड्ने करिडोर हुँदै दोभान पुल पुग्दै थिएँ। चियाको तलतल लाग्यो। झट्ट याद आयो– नेप्टि दिदीको ‘बाग्मती सम्पदा क्याफे’। जहाँ चियाको स्वादसँगै बिहानी माहोलको महशुस गर्न पाइन्छ। अरु दिनझैं दिनको शुभारम्भ चियाबाटै गर्न पाइलाहरू बाग्मती सम्पदा क्याफेतिरै हुत्तिए।
क्याफे बन्द रहेछ। क्याफे छेउको पेटीमा बसेर दिदीलाई सम्झिएँ। रातभरको वर्षाका बाछिटाले मैलो बनाएको क्याफेमा नेप्टि दिदी पोछा लाउँदै थिइन्।
‘एककप चिया पिम् न नेप्टि दिदी,' सुन्नासाथ उनी झस्किईन्।
‘अरे वा ! रातभर असार–साउनको मुसलधारे पानी वैशाखमा किन झर्यो भन्ठानेको त आज आस्तिक भाइको हाम्रो बाग्मती सम्पदामा सवारी रै’छ र पो ...!’
त्यो दिन पनि म यसैगरी दिदीको क्याफे पुगेको थिएँ। आज ठ्याक्कै एक महिना पुगेछ। दिदीलाई हसिँमजाक गरिराख्नुपर्ने। निकैपछि म क्याफेतिर झुल्किएको देख्दा दिदीले खुलस्त हँसिमजाकमै स्वागत गर्थिन्।
युवापुस्तालाई अत्ति माया गर्ने र संघर्षरत नेप्टि दिदी यो इलाकाभरि सबैकी प्यारी थिइन्। उनको क्याफेमा युवापुस्ताको भिड लागिरहन्थ्यो।
‘ल है, चिया आयो !’ दिदीले चिया टक्र्याउँदै सोध्थिन्, ‘अनि आस्तिक के गर्दैछौ अचेल? कसको नोकरीमा नरम भएर हिडेका छौ?’
‘केही गर्दैछैन, यत्तिकै छु, नेप्टी दिदी। जीवनमा नरम नोकरी जति त्यागेर अचेल म बेरोजगार पात्र भएर बसेको छु–यो समाजको नजरमा, आफन्तीहरूको नजरमा, साथीभाइको नजरमा।’
‘ले हो र? अब के गर्ने सोच छ त जीवनका आगामी अध्यायमा?’
‘खोजी कार्यमा व्यस्त छु। आगामी जीवनको लक्ष्य भनेको अनन्त यात्री भएर हिमाल, पहाड र तराईको खुला विश्वविद्यालयमा भर्ना हुने। यिनै भूभागका यात्रा जोडेर स्टार्टअप विकास गर्ने सोचमा छु, नेप्टी दिदी।’
‘बरु तपाईंको हालखबर सुनाउनु न? नयाँ नौलो के चल्दैछ?’
‘उही पुरानो लिपिबद्ध जिन्दगीमा पनि के नयाँ हुनी हो र आस्तिक भाय? बरू कहिलेकाहीँ आतेश लागेर आउँछ, यी दुधे युवायुवतीको एकधारे सोच देखेर। अधिकांशको अष्ट्रेलिया, अमेरिका र युरोप उड्ने सोचको धर्का देखेर। हैन, त्यो विदेश विष्णुको बैकुण्ठ हो की? इन्द्रको स्वर्ग? भएजति सबै युवा उतै पलायन। विदेश जानेको लर्को देख्दा पनि अचम्म लागेर आउँछ। आखिरमा देश सिँगार्ने उही बुढापाका, गलेका, दुर्गन्धित सोच भएकाले नै त रहेछ। हाम्रो देशले कहिल्यै मुहार फेर्ने भएन।’
कुरैकुरामा तीन-चार वटा चियाकप रित्तिन्थे। म दिदीका कुरा सुनिरहन्थेँ।
‘तर आस्तिक तिम्रो भने देशप्रतिको मोह, सोच र ऊर्जाको बारुद कहिल्यै नओइलाउने भयो। त्यो ऊर्जा मैले पकाउने चियाको रङजस्तै गाढा, गुलियो र स्वादयुक्त हुँदै जाओस्। आस्तिक भाइलाई अग्रिम शुभकामना!’
यति भनिसकेर नेप्टी दिदी पुनः आफ्नो काममा व्यस्त भइन्।
‘हिमचुलीको शिरझैं सजिरहनु। मुरिमुरि आशिष दिनुभएकोमा धन्यवाद दिदी !’
एकाध घण्टाको बसाइपछि दिदीलाई धन्यवाद दिएर म पनि बिदा भएको थिएँ।
ओहो ! बस्दाबस्दै निकैबेर पूर्व स्मृतिमा डुबेछु।
०००
बाग्मतीलाई नियाल्न फेरि मैले आफ्ना पायलाहरू बाग्मती किनारतिर लम्काएँ। रातभरको मुसलधारे भेलसँगै पखालिएको बाग्मती नदिले छङछङ आवाज दिँदैथियो। नदीबाट लाखौं मानिसहरूको फोहोर छचल्किरहेको आवाज आइरहेको थियो। फोहोरका डंगुरले बनेको आइल्यान्ड, उही हाँडीको कालोजस्तो पानीको रङ। किनार छेउमा हिँड्दै गर्दा यस्तायस्तै कैयौं दृश्य जीवितै देखिन्छन्।
खोलानाला ढलनालामा परिणत भएर आफ्नो र अरुको अस्तित्व नै अलपत्र पारिसके। प्रकृति जुन अनुपातमा स्वरुप हुन्छ, त्यही अनुपातमा कुरुप पनि। भेल आए पनि, नआए पनि अब बाग्मती कुरुप नै हुन बाध्य छ। काँचो बिहानीसँगै घरि फिक्का, घरि गाढा हुँदै पूर्वीय हिमश्रृंखलाको पोल्टाबाट विस्तारै घामका मधुरा किरण उदाए। धर्तीको अन्धकार समयलाई सूर्यका चम्किला किरणले उज्यालो खाकामा परिणत गर्यो। पूर्ण बिहानीको संकेत गर्दै सहरलाई बेग्लै काँचुलीमा प्रवेश गरायो। र सँगै उदय भयो बिहानी दिनचर्याको विस्तारवाद –एकतमासले चल्ने बिहानी चहलपहल।
भरिया, तरकारीवाला, तर्क दिनेवाला, विद्यार्थी, व्यापारी, नेता र आममानिसको भिड चोकचोकमा र चियापसलमा। साँघुरा गल्लीदेखि फराकिला सडकमा चल्ने विभिन्न गतिविधि।
देशले विभिन्न क्रान्तिको राजमार्गको संघर्षपछि प्रदेश, नगर र वार्डको सुलभ प्रणाली निर्माण गरे पनि शून्य हुनुको साटो झनै खचाखच बनेको काठमाडौं सहर। नेपाल अधिराज्यभरका मानिस काठमाडौं सहरको खाल्डोमा बसेका छन्। गुम्सिएका छन्। असीमित सपना बोकेर अग्रसर पाइला कुदाउन थालेका छन्।
म भने अझै अन्योलमा सोचमग्न छु। अनुसन्धानको घेराभित्र महिनौंदेखि कोठामै कैद छु। बेचैन छु। मौन छु- आफ्नो सपनाको संघर्ष देखेर।
लाग्छ, यो सहर नभई एउटा मेला हो। र, यहाँ हरेक मानिसका सपनाका पसल छन्। सपनाका क्रेता पनि छन् र विक्रेता पनि। यो सपनाको सहरलाई जिउनका लागि उसँगै मर्नु पनि पर्छ।
यत्रतत्र समाधान र विकल्पको जालो बुन्न जमिनसँग पिपलको जरा रुमल्लिएझैं रुमल्लिँदै सहर डुल्न निस्केको म, दिमागका नसाहरू दुख्ने गरी सोच्छु। सोच्दासोच्दै थाक्छु, थाक्दाथाक्दै फेरि सोच्छु।
यी कुराबाट निर्विकल्प भाग्न खोज्छु।
तर, ‘अहँ आज सहरलाई गिजोलगाजल पारेर कतै मेरा खोजको समाधान निस्किन्छ कि ?’ मनमा अनेकथरी कुरा खेलाउँदा खेलाउँदै बानेश्वर आइपुगेछु।
कारे दाइ चोकमा छरपस्ट समाचार बेच्दै थिए। एक हुल जमात जेव्रा क्रसिङमा लामबद्ध भएर बाटो काट्दै थिए। चोकछेउको बस स्टपमा लोकल यातायातभित्र विधार्थी खचाखच। झर्ने यात्रु झरे, चढ्ने चढे। अनि सुरू भयो कन्डक्टर दाइको – बबरमहल, माइतीघर, रत्नपार्क।
हरियो, पहेँलो र रातो बत्तिको इशारामा गाडी कुदिरहेका थिए। यता सहर–बजारको बिहानी पनि सँगै कुदिरहेको थियो। यति बेला विलक्षण दृश्य थियो यो।
०००
बबरमहल छेउछाउतिर सिमेन्टको खाट, कार्टुनको ओछ्यान, बोराको सिरकमा जिवन निर्वाह गरिरहेका घरविहिनहरू आफ्नो झोलिझिम्टा कस्दै मुख्य सडकलाई बिदा माग्दै थिए।
ज्याकरान्डा फूलहरूले काठमाडौं सहरलाई सुन्दर र शान्त, माया र ममता, सुगन्धित र स्वप्नपानको गहना लगाएर सजाएको छ। सहरको पूर्वी पृष्ठभूमिमा जुगल र उत्तरमा लाङटाङ हिमश्रृंखला हाँसिरहेका छन्। निला आकाशमा मात्तिएका बादलका ढिक्कासँग चराहरु लुकामारी खेल्दै जिस्किरहेका छन्।
प्रकृतिको आचरण कति अतुल्य, सौन्दर्यमयी र सरलताले भरिपूर्ण छ। तर यही प्रकृतिको परिधिभित्र बनेको सहरी आवरणका मानिसको आचरण ठ्याक्कै विपरीत छ। कोलाहलमा डुबेको छ। दुर्गन्धमा मौलाएको छ।
शान्तिको प्रतीक माइतीघर मण्डललाई हाराहारी १०० जनाको हुल नारा जुलुस र शान्ति हडतालको नामले घेरेका छन्।
‘देशलाई निर्यात समृद्धिको शिखरमा पुर्याउनु पर्यो’ अर्थमन्त्रीलाई बुझाउन औंठाछाप संकलनको सक्कली समाधिको बटुलिरहेका थिए –७७ वटै जिल्लाका मानिससँग।
ठिङ्ग उभिएँख म रामशाह पथमार्गमा। नजर पर्यो, कृषि विकास बैंकको लोगोले देखाएको कृषि ऊर्जा। स्वास्थ्य विभागको पर्खालमा राष्ट्रिय विमा संस्थाको स्वास्थ्य विमा प्रचारको विज्ञापन–स्वस्थ्य रहौ, विमा गरौं!’
यी विज्ञापनका अगाडि सहरका ठूल्ठूला भवनमा, गल्लीमा रंगीन सपना देखाउन टाँसिएका होडिङ बोर्डका विज्ञापन जिल्लै। हरेकतिर देखिने विज्ञापनको उस्तै तमाशा बकेको हुन्छ, यसो गर्दा उसो सित्तैमा। विज्ञापनपिच्छे विभिन्न सपनाको रेट। बहुपक्षिप समस्याको एउटै समाधानजस्तो। वा क्या गज्जब !
ती दृश्यको दुनियाँमा म कता–कता हराएछु। बिहानदेखि मुखमा केही नपरेकाले तर दृश्यमा धेरै कुरा अटाएकाले होला आफूलाई लेक लागेजस्तो भाउन्न भयो।
पछाडिबाट आवाज आयो ‘एक्सक्युज मी!’
‘एस प्लिज।’
‘आई निड हेल्प। क्यान यु सो मि दिस डिरेक्सन। जस्ट केम विफोर टु डेज अगो।’
एकजना विदेशी युवती ‘फोर जी’ नेटवर्कको सहारामा आफ्नो अपार्टमेन्ट थापागाउँदेखि सिंहदरबार सर्वोच्च अदालतसम्म मर्निङ वाकमा निस्केकी रहिछे। नेटवर्कको चरित्रले अर्कैतिर नेटो काटेछ।
अनि उही परम्परागत शैलीमा मैले उनलाई हातले इशारा गर्दै दिशा र संकेतबाट उनले भनेको स्थान बताइदिएँ।
‘थ्यांक्यु !’ भन्दै उनी आफ्नो बाटो लागिन्।
सहरमा कुनै पनि कुराको सुरक्षा छैन, न नेटवर्कको न न्यायको। सर्वोच्च अदालतमा पनि हजारौं मुद्धा दर्ता होलान्। न्यायाधीशको इजलासको न्यायको प्रतीक्षामा। पीडितहरू कुर्दै होलान्। देशमा संविधान, धारा, उपधारा, नीतिनियमका खात छन्। तर पनि तमाम पीडित त अस्ताए होलान्, न्यायबिनै। सहरको भिडमा कस्ले पो न्याय पाउँथ्यो? मनका विभिन्न सन्हेद भावको ज्वारभाटा चलिरह्यो।
०००
ठूलो आवाजले फेरि मलाई ब्युँझाइदियो –ट्वांङ्ग !
आत्मविश्वासको पेण्डुलम हल्लिनेगरी बजेको घण्टाघरको ठुल्दाइ घडी रहेछ। यो घण्टीले समयको आदर्श र मूल्य सबैलाई अमूर्त सूचना खुलारुपले प्रदान गरिरहेको वर्षौं भयो। घण्टीले समय गुज्रिरहेको संकेत दिइराखे पनि यो भिडमा ठूल्दाइलाई कसले सुन्ने? कसले समयको ख्याल गर्ने? यसो टाउको उठाएर घडीको सुई नियालेर हेरेँ। ओहो, मध्यान्हको १२ बजेछ।
झिसमिसेमा सहर निस्केको डुल्दाडुल्दै मध्य विन्दुको घण्टी जारी भइसकेको रहेछ। दिनको मौसम आतेश लाग्दो छ। चौतर्फी हेर्छु– कसैको पनि मुहारमा उमंग, जोश र जागरको मिश्रण देखिन्न। हेर्दा विभिन्न कुराको आदिधाम जस्तो लाग्ने सहरमा देखिन्छ त केवल आदर्शविनाको समृद्धि, पुँजीका सपना, साँझविहानको नालीबेली, मानवताविहीन भूमरी, व्यर्थको कोलाहल।
ग्रहण र चिन्तन गर्दागर्दै यो सहरसँग भएको अलिअलि विशेषता पनि हराउँदै जाँदोरहेछ।
मैले पनि आफ्ना पदचाप विभिन्न चोकमा पुर्याएँ– चाबहिल, बौद्ध, गौशाला, एयरपोर्ट चोकहरूमा। कालीमाटी, बल्खु, कलंकी, र गोंगबु। चर्को आवाजमा गुञ्जिरहेका छन्, यी चोकहरू।
सहरको चरित्र आवादीले भरिएको छ। ‘सिटी अफ टेम्पल्सबाट सिटी अफ ड्रिम्स, हाउसेस एण्ड माइग्रेसन’मा परिणत भएको छ।
सहरका चोकचोकमा मान्छेको ताँती, विदेशबाट फर्केका र विदेश पलायन हुन लागेकाहरूको ताँती। दुरदराजबाट आउनेजानेको ताँती। राजधानी मात्र हैन राज्यकै मुटु हो गोंगबु चोक। सधैं धड्किरहने यो चोकले सारा नेपालीलाई जोडेको छ। सिंहदरबारले जोड्ने नसकेको कुरा जोडिदिएको छ।
विभिन्न कुराको दृश्य नजरअन्दाज गर्दागर्दै घामका किरण पनि डुब्न थालेछन्। प्राकृतिक उजेलो समाप्त भयो।
रात्रीकालीन बत्तीहरुको उदय भयो। झिसमिसे साँझ अब रंगिन र सुमधुर वासनाले लोभ लाग्दा भए। सहरको पप कल्चर चोकहरू फेरि भरिँदै गए। युवायुवतीले, डिस्को, रक एण्ड पप कल्चर। रत्नपार्क, दरबारमार्ग, ठमेल, असन, न्युरोड। विभिन्न अचारमा र भेषमा पीडित, माग्ने, थाग्ने, गरिब धनी वर्गहरू। एउटै सुमधुर रंगिन साँझमा आआफ्नो गोजीको आकारअनुसार रात्रीकालीन सागरमा डुबुल्की मार्दैछन्। सहरको एउटा भाग निद्रामा सपना देख्न थाल्यो, यता रातिकालीन वस्तुहरू सपना देख्नु नपरोस्, भनेर जाग्न थाले।
रात्रीकालीन सहर चम्किँदै जगमगाइरह्यो, म पनि त्यो माहोल सम्झेर मुस्कुराइरहेँ।
तर, यति बेला सहरले सबै कुरा लुकाएको छ– मान्छेसँगै मान्छेका सपना, मान्छेको भिडभाड, रात्रीकालीन पप कल्चर, क्याफे, रेष्टुरेन्ट। सबैकुरा अचल छन्, यति बेला।
मूर्त र अमूर्त दोंसाधमा परेर दुखेको मन। पीडामा टुंगिएको यात्रा। विविध सपना र समृद्धिको महत्वकांक्षा बाकेर होमिएको थिएँ यो सहरमा। तर अब सपनाको महत्वकांक्षा होइन, छ त केवल मुक्तिको महत्वकांक्षा।
विचित्र छ, यो सहरको चरित्र अनि मेरो निर्विकल्पी भावना। म मात्रै होइन रहेछ, यहाँ हरेक बालबालिका, किशोरकिशोरी, युवायुवती, वृद्धवृद्धा, राज्य नीति, धारा, उपधारा, आयात, निर्यात, सपना, समृद्धि, संघर्ष सबै अस्तव्यस्त छन्।
जसरी सूर्यलाई आफ्नो उदाउने समयबारे पूर्ण ज्ञान छ, विस्तारै छिप्पिँदै पश्चिम दिशातर्फ अग्रसर भएर जानुपर्छ भनेर थाहा छ। तर सहर र सहरभित्रको सपना कता गइरहेको छ? म मात्र होइन कसैलाई पनि थाहा छैन।
सहर पनि छिप्पिँदै गइरहेको छ–दिशा र दृष्टिकोणबिना।
मौसम, मानिस, सपना, संकट, नीतिनिर्माता, सहरको रितीरिवाज को दोषी हुन्? को निर्दोष?
यसको लेखाजोखा नयाँ पुस्ताले अवश्य गर्नेछन्। चल-अचल सबैले समय र परिवर्तनको फड्को मारिरहेका छन्। हेर्दाहेर्दै समय सानो हुँदैछ, साँघुरिदैछ। सपना खुम्चिदैछन्। विभिन्न सपना र संघर्षको यो खाडल साँच्चै भयानक बन्दै छ।