कति लेखौँ?
मात्र आमाको महिमा
सासू पनि त महान् हुन्छिन्।
सहजै दिन सक्छिन् आफ्नो मुटुको टुक्रा
के तिम्रो सन्तानजस्तै गरेर हुर्काइनन् होला र?
तिम्रा सन्तानलाई जस्तै गरेर फुर्काइनन् होला र?
सधैँ सुखले त च्यापेन होला नि काखा पनि
हामीले छोराछोरीलाई घुर्काए झैँ घुर्काइनन् होला र?
आमाजस्तै महान् हुन्छिन् सासू पनि
हृदयको धड्कन दिन्छिन् बेफिक्री।
सन्तान टाढा हुँदा
दिनको भोक न रातको निन्द झैँ
उनको पनि त उड्छ होला नि मन
उसरी नै उनी पनि त सम्झिदिहुन् धेरै कुराहरु
सम्झिदिहुन् श्रीमानसँग लुकाएका ढाक्छोपहरु
अनि सन्तानको गल्ती आफ्नो भन्दै
बर्सिन लागेका सजायका लठ्ठीहरुको
प्रहार खपेको झल्झल्ती देख्दी हुन् उनी
हुन्छिन् महान् सासू पनि
उनले आफ्नो आँखा समेत सुम्पीदिन्छिन् है।
उनको बल अनि जोश यसै घटेको थिएन
लालन-पालन र योग्य अनि शिक्षित
नागरिक निर्माण गर्दा नै
ओइलाएकी हुन् उनी
अहिले सुन्दा कथा झै लाग्छ पक्कै पनि हामीलाई
त्यही कठिन समय पार गर्ने उनै महान नारी हुन् सासू।
उतिबेला हुँदैन थ्यो यस्तो मुहार पुस्तिका र मात्रै
नत्र हामीले जस्तै सन्तानका चुलबुलाहट कति पोस्ट गर्दिहुन् उनी
तिनका संवेगयुक्त मुस्कुराहट कति पोस्ट गर्दिहुन् उनी पनि
उनी गनिएलिन् आज केही नजान्ने अग्रपंक्तिमा
तर, सम्पूर्ण ममता छचल्काउँदै कति छर्दी हुन्, उनी मुहार पुस्तिकामा
सासू पनि आमाजस्तै महान् हुन्छिन्
आफ्नो शरिरको अंश नै पराईलाई सुम्पिन्छिन्।
(लेखक उपप्राध्यापक हुन्।)