कहिल्यै पल्टनको मुख नदेखे पनि कर्णबहादुरलाई सबैले पल्टने भन्थे। पल्टने उपाधि उनलाई विरासतमा प्राप्त भएको थियो। बाबु उहिल्यै बर्मामा लडेका रे, फलस्वरूप उनका शाखा-सन्तानको उपनाममा पल्टन शब्द जोडिएको थियो।
पल्टने गाउँघरमा गनेचुनेका मानिस थिए, कसैले उनी विरुद्ध 'चुँ' बोल्न सक्दैनथे। गाउँलेका सुखदुःख, राम्रो नराम्रो सबैमा पल्टनेले नै अन्तिम निर्णय गर्थे।
पहिली स्वास्नी हैजाले खसेपछि ल्याइएकी दोस्रीले पनि लगालग छोरी मात्र पाएपछि अपुताली जोगाउन पल्टनेले ४४ वर्षको उमेरमा आफूभन्दा ३० वर्ष कान्छी थममायालाई तेस्री श्रीमतीका रूपमा भित्र्याएका थिए।
थममाया आँखैमा राखे पनि नबिझाउने खालकी थिइन्। बालखैमा पल्टनेको पछि लागेर आएकी थममायाले अनेक बुहार्तन सहेर पल्टनेको घर सम्हालिन्। सासू-ससुरा, सौता र उमेरमा आफूभन्दा जेठा छोरीहरू (सौतापट्टिका) को टोकसो सहेरै थममायाले पल्टनेको कुल धान्ने छोरा पाइदिइन्, त्यो पनि २/२ भाइ।
पितृसत्तात्मक समाजमा छोरा पाएपछि थममायाको भाउ ह्वात्तै बढ्यो। सबैले उनलाई पल्टने आमा भन्न थाले। आदर सत्कार गर्न लागे।
तर, थममाया हिजो जस्ती थिइन्, आज पनि उस्तै छिन्- सोझी, सरल र निष्पाप।
...
रहँदाबस्दा पल्टनेका छोराहरू हुर्के। जेठो ख्यामबहादुर गाउँमै दुर्घटना परेर खुट्टो गुमाएकाले लाख प्रयास गर्दा पनि पल्टनेले उसको बिहे गराइदिन सकेनन्। आफ्नो छोरो शारीरिक रूपले अपांग नै भए पनि पल्टनेलाई बुहारी सपांग चाहिएको थियो। तर, अपांगता भएको केटोलाई छोरी दिन आँट गर्ने कोही नभेटिएकोले उसको बिहे भएन।
कान्छो रविनको भने पल्ला गाउँकी मनितासँग धुमधामले बिहे भयो। गाउँमा भागी विवाहको चलन भए पनि कान्छाले मागी विवाह नै गर्यो। रविन र मनिताको जोडी साँच्चै जमेको थियो।
गाउँमा सबै ठिटाहरू विदेश पस्ने फेसन आएको थियो। हरेक घरबाट कम्तिमा एक जना लोग्ने मानिसले देश छाडेका थिए। प्राय: सबैले खेतबारीमा काम गर्न छाडेका थिए। बूढाबूढीहरू काम गर्न नसक्ने, भर्खरकालाई काम गर्न मन नपर्ने। सबै फुर्सदिला देखिन्थे।
नवविवाहित महिलाहरूले बूढा सासू-ससुरा गाउँमै छाडी सदरमुकामतिर डेरा जमाएका थिए। बच्चाबच्चीका माउहरू पनि आफ्ना केटाकेटीलाई राम्रो स्कुल पढाउने नाममा गाउँ छाडेका थिए। चौतारामा आलु माइलाले पसल थापेको थियो, सिडिएमए फोन पनि राखेको थियो। हरेक शनिबार बिदेसिएका आफन्तको फोनको प्रतीक्षामा चौतारा वरिपरि ठूलो भीड जम्मा हुन्थ्यो।
पल्टने बूढा गाउँका धनीमानी नै थिए। चल सम्पत्ति खासै नभए पनि बारीपाखो टन्नै थियो। त्यही बारीपाखोमा दसनंग्रा खियाएर गाउँले सबैलाई वर्षभरि खान पुग्थ्यो, बेसाउन पर्थेन। त्यसैले होला, पल्टने बूढालाई आजभोलिका ठिटाको विदेश मोहले वाक्क बनाएको थियो। तर, आफ्नै छोराले समेत पल्टनेको कुरो खाएन।
बूढा भएका बाबुआमा, अपांगता भएका दाइ र नवविवाहिता श्रीमती मनितालाई छाडेर रविन पनि विदेश उड्यो।
पल्टने पहिले कसैका आँखामा राखे पनि नबिझाउने किसिमका थिए। तर खोइ किन हो, केही समययता उनको मति बिग्रेको थियो। उदाए-अस्ताए चिसोपानी मात्र धोक्ने, अनि बूढीलाई कुट्ने उनको दैनिकी नै भएको थियो।
बिचरा पल्टने बूढी! अधबैंशे उमेरमै अनेक बुहार्तनले उनको शरीर हजुरआमाको जस्तो भएको थियो। उसमाथि जड्याहा पोइको टोकसो। उनलाई सुख भनेको कुन चराको नाम हो पत्तो थिएन। मनितालाई पनि ससुराको यो फेरिएको बानीले वाक्क बनाएको थियो। मुखिन्जेल बोल्न डर लागे पनि ‘यस्तो असत्ती बूढो बरू छिटो मरे हुन्थ्यो’ भनेर प्रार्थना गरिरहन्थी।
गाउँमा पाखा बारी सबै बाँझै थियो, गाउँघर सबै उराठ। सायद यो सबै परिवर्तनको साक्षी बनेर हो कि के हो, पल्टने बूढालाई होसमा भेट्न मुश्किल नै भएको थियो आजभोलि। यही पीडा भुल्ने एकमात्र सहारा रक्सी भएको थियो।
गाउँमा बूढाबूढी र केटाकेटी मात्र थिए। वैदेशिक रोजगारले सबैका परिवार भाँडिएको थियो। मनितालाई पनि घरमा बस्न मन थिएन। तर, उसले चाहेरै पनि घर छाडेर जान सक्दिनथी। सासू-ससुराको कलह, घरधन्दा, थकान, एक्लो जीवन। मनिताका कुनै दौंतरी पनि थिएनन्। रविन मुग्लान गएको वर्षदिन पनि भएको थिएन। कहिलेकाहीँ चौताराको पसलमा फोन आउँथ्यो, त्यही फोनको भरमा मनिता उसलाई कुरिरहेकी थिई।
उता गाउँका मानिसहरू आजभोलि पल्टनेकोमा आउनेजाने गर्न छाडेका थिए। मान्छेलाई अभाव र आवश्यकताले न जोड्ने हो। सबैलाई विदेशी पैसाले पुगेकै थियो, पल्टनेकोमा के खान जानु? बेकार ढोगभेट गर्यो, आफ्नै कद घटायो।
हिजोआज मनितालाई हल्का बिसन्चो भएको थियो, जुन कुरा उसले कसैलाई भनेकी थिइन। उसले सुनेकी थिई, आफ्नो दु:ख सात समुन्द्रपारि भएका आफन्तलाई सुनाउन हुँदैन रे। उनीहरूलाई बेकामको पीडा हुन्छ रे। त्यसैले, आफ्नो बिसन्चो उसले रविनलाई पनि भन्न सकेकी थिइन। ‘मनको बह कसैलाई नकह’ भन्छन्। ससुरालाई त सुनाउने कुरो भएन, सासूलाई पनि भन्न सकिन। आफ्नो मनले खाएको साथी पनि थिएन। उसले आफ्नो पीडा कसैलाई भनिन, जेनतेन आफ्नो दु:ख लुकाएर बसी।
मनिताले त आफ्नो दु:ख सकभर लुकाएकै थिई, तर रोगले उसलाई विस्तारै गाल्दै लग्यो। उसको पीडा अब नलुक्ने गरी देखिन थाल्यो। उसलाई प्राय: थकाइ लाग्ने, खान मन नलाग्ने, छाती दुख्ने, सास फेर्न गाह्रो हुने, वाकवाकी लाग्ने हुन थाल्यो। उसलाई सान्त्वना दिनु त कता हो कता गाउँलेहरू कुरा काट्न थाले। अनेकथरी शंका गर्न थाले। पँधेरामा पनि मनिताकै बारेमा गफ हुन थाल्यो।
पल्लाघरे कान्छीले भनी, 'कसको भुँडी बोकी, वाकवाक गर्दै हिँडिछ, लाज पचेपछि।'
टंकीमुनिकी आमै बोलिन्, 'पल्टनेको नाक काटी।'
बाटामाथिकीले थपिन्, 'त्यो ज्याद्रो जड्याहा पल्टनेको के इज्जत थियो र फाल्नलाई? बिचरा रविनलाई रुवाउने भई।'
रिम्पाटे बूढीले कुराको बिट मारिन्, 'यसको त नामै उरन्ठ्याउलो, मलाई त उहिल्यै जाती लाग्या होइन। साँइदुवाई, पहिल्यै कोही नाठो थ्यो होला।'
पँधेराबाट चियापसल हुँदै मनिताको कुरा वल्लो गाउँ पल्लो गाउँ फैलियो। उसलाई के भएको हो कसैले सोधेन। उसका अरू पीडा बाहिरबाट देखिएनन्। कसैले केवल वाकवाक गरेको देखे, त्यसैमा आफ्ना कुरा थप्दै के-के बनाए। मनितालाई त्यसै त सन्चो थिएन, आफ्ना बारेका हल्लाहरूले उसलाई बाहिर निस्कन पनि दिएन।
विस्तारै मनिता थला परी। उसको शरीर फुँलिदै आयो। बारम्बार पिसाब लाग्ने अनि ओछ्यानमै छाडिने हुन थाल्यो। गन्हाएर नजिकै जान पनि नसकिने भयो। कसैले वास्ता नगरे पनि पल्टने बूढीले मनिताको हत्ते देख्न सकिनन्, वरपरबाट धामीझाँक्री ल्याइन्। सबैले एकएक दोष देखाएर आफ्नो खल्ती भरे। कतिले देवता रिसाएर हो भने, कतिले मशान लागेको भने। कतिले साढेसातीले हो, आफैं ठिक हुन्छ भने, कतिले खाइबिसन्चो हो सम्म भन्न भ्याए।
रविनको फोन आइरहन्थ्यो। तर, मनिता चौताराको पसलसम्म पुग्न पनि नसक्न भएकी थिई। पल्टने बूढीले छोरोलाई सबै ठिकै छ भन्ने र फोन काट्ने गर्थिन्। तर, रविनले मनिताबारे हदै सोधीखोजी गरेपछि ‘बिरामी भएको, थला परेको, धामीझाँक्री देखाउँदा पनि बीसको उन्नाइस नभएको’ सबै कुरा बूढीले छोरालाई सुनाइन्। रविन छाँगाबाट खसेझैं भयो। 'एकचोटि नजिकैको उपस्वास्थ्य चौकी भए पनि लैजाऊ न आमा' भनेर फोनमै रोयो।
पल्टनेको आगनमा गाउँका बूढाबूढी जम्मा भएका थिए। पल्टने बूढीले हार-गुहार गरेर सबैलाई बोलाएकी थिइन्। मनिता ओछ्यान परेको महिनौं भइसकेको थियो। मनिताको बिमार बढे पनि पेट नबढेकाले भुँडी बोकी भनेर आफूले लाएको आरोप सत्य होइनछ कि भन्ने सबैलाई लागेको थियो।
पल्टने बूढा बिहानै एक ग्यालन चिसोपानीलाई स्वस्तिशान्ति गरेर पिंढीमा मुढोझैं लडिरहेका थिए। भित्र मनितालाई रोगले लडाएको थियो। पल्टने बूढीले रविन फोनमा रोएको कुरा सबैलाई भनिन्। 'एकचोटि चौकी (स्वास्थ्य चौकी) लगिदेओन, धर्म लाग्ला' भनिन्। धेरैले उनको कुरा खाएका थिएनन्, रिम्पाटे कान्छीले 'म लगिदिन्छु भाउजूलाई अस्पताल' भनी।
उपस्वास्थ्य चौकीको औषधिले पनि छोएन मनितालाई। शरीर झन्झन् फुल्न थाल्यो। अन्न हेर्नै नहुने भयो, भोक-प्यास, निद्रा सबै हरायो। उठेर हिँड्न खोज्यो कि खुट्टा बाउँडिने, पिसाब नहुने, छालाको रंग कालो हुने, चिलाउने हुन थाल्यो। मनिताले जिउने आशा मारी। जे भए पनि बाबुआमाले आँगन पोलेर दिएको शिरको स्वामीलाई एकचोटि मात्र देख्न पाए पनि सजिलै प्राण जान्थ्यो कि जस्तो लाग्न थाल्यो उसलाई।
केही गरे पनि बूढीलाई सन्चो नभएको थाहा पाएर रविन घर फर्क्यो। हतार-हतार मनिताको कोठामा गयो। रविनलाई देखेर मनिता केही बोल्न सकिन, केवल आँखाआँखा नै बोले। 'भगवानले मेरो पुकार सुने, तपाईं आउनुभयो, अब सजिलरी मर्न पाउने भएँ। मेरो सबै खत माफ गरिदिनू, अर्की सद्दे केटी खोजेर बिहे गर्नू' मनिताका आँखाले बोले।
रविन भक्कानिएर सम्झाउन थाल्यो, 'केही हुँदैन, मैले जसरी पनि तिमीलाई बचाउँछु। सदरमुकामको ठूलो अस्पातल लान्छु। कस्ता कस्ता रोग त निको हुन्छन्, तिमी पिर नगर।'
रविनले मनितालाई सदरमुकाम लिएर गयो। मनिताको रोगको लक्षण हेरेर डाक्टरले औषधि लेखिदियो। 'पक्कै सन्चो हुन्छ, नभए एक सातापछि फेरि आउनू' भनेर पठायो।
अहँ, मनितालाई सन्चो भएन। रविनले एक सातापछि मनितालाई फेरि सदरमुकाम लिएर गयो। डाक्टरले अर्को औषधि लेखिदियो, फेरि एक साताको भाका लिएर रविन घर फर्क्यो।
सदरमुकाम लाने-ल्याउने काम चलिरह्यो, मनिताको व्यथा बढिरह्यो। कुनै औषधिले काम नगरेपछि डाक्टरले दिसापिसाब र रगत जाँच्न लगाए। अनि थाहा लाग्यो, मनितालाई मिर्गौलामा समस्या भएको र त्यसको उपचार राजधानीमा मात्र सम्भव रहेको कुरा।
दुई महिनापछि पल्टनेको घरमा फेरि उही दृश्य देखियो। गाउँभरिका मान्छे आँगनमा बसेका, पल्टने बूढा चिसोपानीको असरले पिँढीमा लडिरहेका, रोगको असरले मनिता भित्र लडेकी, रविन र पल्टने बूढी खँडकरीमा निराश भएर बसेका।
मौनता चिर्दै जिम्वाल साइँलाले भने, 'चिन्ता नगर, केही हुन्न। खुट्टा भएपछि जुत्ता कतिकति। कान्छी (मनिता) लाई केही भयो भने नि अर्की पाइहालिन्छ नि, उमेर छ।'
बाटामाथि कान्छाले सही थापे, 'बिहे गर्ने हो भने मैले आजै केटी तयार गर्न सक्छु। मर्दका दशोटी हुन्छन्। रविनकै बाले तिन्टी गरे, मेरै दुइटी छन्। फेरि कान्छी बिरामी भएरै त हो नि बिहे गर्न ला’को। केही चिन्ता नलिई बाबै। बिहे गर, विदेश जा, कान्छी खुस्की भने हाम्ले लाश ततेरिहाल्छम् नि।'
सबैले हो मा हो मिलाए। कसैले मनितालाई 'थप उपचार गर' भनेनन्। अर्को बिहे नै सबै समस्याको समाधान भएको तर्क निकालेर घरतिर लागे।
गाउँलेको निष्कर्ष यस्तै हुन्छ होला भन्ने मनितालाई पहिल्यै थाहा थियो। उसलाई पनि अब बाँचुला जस्तो लागेको थिएन। मृत्युअघि रविनको मुख देख्ने इच्छा पनि भगवानले पूरा गरिदिएकै थिए। त्यसैले उसलाई अब मृत्युदेखि पनि कुनै डर थिएन। मानिसलाई लाग्ने एउटै डर मृत्युको त हो, जब मानिसका आशा, भरोसा अनि सहाराका सबै ढोका बन्द हुन्छन्, तब उसले मृत्युलाई सहजै अंगीकार गर्छ। मनितालाई पनि त्यही भएको थियो। रविनलाई पनि ‘अब अर्को बिहे गर्नू, आफ्नो बारेमा धेरै चिन्ता नगर्नू’ भनेकी थिई। बरू छिट्टै मर्न पाए रविनले अर्को बिहे गरेको आफ्नै आँखाले देख्न पर्दैनथ्यो नि भन्ने उसलाई लागेको थियो।
पल्टने बूढी पनि 'अब छोराले सक्दो गरेकै हो, भएन। अब अर्को बिहे नै गर्ने त होला नि' भन्ने निष्कर्षमा पुगिसकेकी थिइन्। बूढालाई चिसोपानीबाहेक यी यावत् घटनाको कुनै चासो थिएन।
तर रविन अझै पनि मनितालाई बचाउन सकिन्छ कि भनेर हरबखत सोच्ने गर्थ्यो। राजधानीको अस्पताल लैजान आर्थिक अभाव थियो। भएको पाखो बारी बिक्दैनथ्यो, विदेशबाट कमाएर ल्याएको पैसा पनि सदरमुकामको अस्पतालले खाइसकेको थियो। रविन यताउता भौंतारिन्थ्यो। न टेक्ने डालो छ, न समाउने हाँगो। ऊ निकै असमन्जसमा थियो।
मनिता बेपर्वाह पल्टिरहेकी थिई, रविन गोडामुनि बसेर के-के सोचिरहेको थियो। पल्टने बूढी भित्र पसिन्। रविन सोचमग्न नै थियो, आमा भित्र छिरेको पनि उसले पत्तो पाएन।
बूढीले देखिन्, रविनका आँखा भरिएका थिए। आमाले 'बाबु' भनेपछि ऊ झसंग भयो। तप्प दुई थोपा आँसु मनिताको पैतालामा खसे, ऊ सल्बलाई।
छोराको आँखामा आँसु देखेर आमाको मन पनि भारी भयो। उनी रविनको टाउको मुसार्न थालिन्। रविनले आफूलाई सम्हाल्न सकेन, आमाकै काखमा टाउको अड्याएर क्वाँक्वाँ रून लाग्यो। छोरो रोएको सुनेर बूढी पनि रुन लागिन्, मनिता पनि बिउँझेझैं गरी उठी।
रविन आमाको काखमा धोको फेरेर रोयो। सायद जान्ने भएपछि ऊ यसरी कहिल्यै रोएको थिएन। अधवैंशे छोरो त्यसरी रोएको देखेर पल्टने बूढी पनि सम्हालिन सकिनन्। पल्टने बूढा पनि सामान्य लर्खराउँदै भित्र छिरे।
'गैसकी झैं गरेर किन रोएको? यहीँ छ त,' पल्टने बूढा कराए।
'बा मनितालाई राजधानी लान पैसा भएन,' हिक्क हिक्क गर्दै रविनले भन्यो।
'नरो बा नरो, मेरा यी सबै लेर भोलि नै जा, जँचाएर आइजा,' ढुंग्री, तिलहरी, मडहरी सबै खोलेर बूढीले छोराको हातमा राखिदिइन्।
रविनले पुलुक्क बाको मुखमा हेर्यो।
'के हेर्छस्? मैले लाउन्न सुन थापिदिनलाई, अब त्यति पाएपछि भोलि नै लेर गए भै गो त।'
यसपालि रविन झनै सम्हालिन सकेन। उसको रुवाइको डाँको झन् ठूलो भयो। सायद बाले आमाको निर्णय उल्ट्याउलान् भन्ने सोचेको थियो। बाआमाको आडभरोसा देखेर ऊ भावविह्वल भयो। मनितालाई पनि 'ओहो' भयो। तर उसलाई राजधानी गएर उपचार गराउन मन लागेन।
जीवनको आशा मारिसकेकी भएर होला सायद, आमालाई बुच्चै पारेर निको नहुने रोगको उपचार नगरौं भनेर ढिपी गर्न थाली।
...
राजधानीको ठूलो अस्पतालको एउटा बेड। मनिता अर्धचेत निदाइरहेकी थिई। रविन मनिताको रगत, एमआरआई लगायत रिपोर्ट कुरेर गोडामुनि बसेको थियो।
घरबाट सखारै मनितालाई लिएर हिँड्ने बेला 'म पनि जान्छु' भनेर हद गरेपछि मन नभए पनि हरघडी रक्सीमै डुब्ने बालाई पनि सँगै राजधानी लिएर आएको थियो रविनले। अपांगता भएको जेठो छोराको हेरचाह पनि गर्नुपर्ने भएकाले पल्टने बूढीले घर छाड्न मिलेन। गहभरि आँसु पारेर उनले लोग्ने र छोरा-बुहारीलाई बिदा गरेकी थिइन्।
राजधानीको अस्पतालमा जाँच-पड्ताल गरेपछि मनिताको दुवै मिर्गौला काम नगर्ने गरी बिग्रेको र तत्काल फेर्नुपर्ने, नत्र बचाउन नसकिने कुरा थाहा भयो। केही समयलाई डाइलाइसिस गरेर भए पनि थेग्न सकिने सल्लाह डाक्टरले दिए।
रविनलाई के गरौं, कसो गरौं भयो। मनितासँग बिहे भए यताका सबै पल सरसर्ती सम्झ्यो। 'कहाँबाट ल्याउने पैसा? कसले दिन्छ मिर्गौला? कसरी बचाउने मनितालाई?' यस्ता सयौं प्रश्नले उसलाई एकैपटक थिचोरे। कहीँ कतै उपाए नलाएपछि आफैं मिर्गौला दिएर भए पनि मनितालाई बचाई छाड्ने प्रण गर्यो रविनले।
'डाक्टरसाब, म आफ्नै मिर्गौला दिएर भए पनि मनितालाई बचाउन चाहन्छु,' रविनले डाक्टरसँग बिन्ती गर्यो।
'राम्रो हो नि! आफ्नी श्रीमतीलाई बचाउन मिर्गौला दिनु त ठूलो त्याग हो, पुण्य काम हो। तर रगत जाँच गर्नुपर्छ, मिल्यो भने तपाईं मिर्गौला दिन सक्नुहुन्छ,' डाक्टरले भन्यो।
भोलिपल्ट रविनको रगत जाँच गरियो। अफशोच! मनिता र रविनको रक्त समूह मिलेन। रविनले मनितालाई आफ्नो मिर्गौला दिएर बचाउन नसक्ने भयो। उसको सम्पूर्ण आशा एकछिनमै निराशामा बदलियो। अस्पतालभित्रको त्यत्रो भीड र कोलाहलमा पनि रविनले आफूलाई कुनै अनकन्टारमा रुमल्लिरहेझैं एक्लो पायो।
रविनले एकै साथ सबैलाई सम्झ्यो। मनिता अस्पतालमा लडिरहेकी थिई। अस्पताल नजिकैको भाडामा लिइएको पुरानो घरको एक कोठामा रक्सी खाएर पल्टने बूढो लडिरहेको थियो। रविनलाई बाबुसँग कुनै सहयोगको अपेक्षा थिएन। उनले बुहारीको उपचारका लागि राजधानी जाने कुरालाई नाइनास्ती गरेनन्, आफैं पछि लागेर आए। यही नै रविनको लागि लाख थियो। आमाको गरगहना सबै आफैंले बोकेर आएको थियो। त्यही बेचेर अहिलेसम्मको खर्च चलेको थियो। रविनले मनखाने कोही आफन्त पनि सम्झन सकेन।
आमाबाबु साक्षात् भगवान भन्छन्। बाबुको कुनै आशा त थिएन, तर रविनले एकपटक आमालाई फोन गरेर अब मनितालाई बचाउन नसकिने कुरो भन्नु नै उचित ठान्यो। आमालाई फोन लगायो, उताबाट 'बाबु' मात्र आएको थियो, रविन सम्हालिन सकेन। पल्टने बूढीलाई पनि कुरो बुझ्न अरू चाहिएन।
उनले त बुहारी खसिसकेको अड्कल काटेकी थिइन्। धन्न, भगवानका कानमा परेन। बुहारी अहिलेसम्म त जीवितै रहेको तर अब बचाउन नसकिने स्थिति भएको थाहा पाइन्।
आमाको मन न हो, छोराछोरीका कतिपय पीडा नभनिकन पनि बुझ्छिन् आमाले। उनले सोचिन्, जेठो अशक्त छ, उसले मिर्गौला दिएर बचाउन सक्छ कि? जेठोले पनि आमाको कुरा काटेन।
'हट्टाकट्टा भाइले आफ्नो शरीर बिगार्नु हुँदैन। सबै परिवारको बोझ उसैले लिनुपर्छ। मनिता नरहे भाइले राम्ररी परिवार हेर्न सक्दैन। त्यसैले मनिता बाँच्नुपर्छ, बरू मैले मिर्गौला दिन्छु,' जेठोले निर्णय सुनायो।
एककान, दुईकान, मैदान। पल्टने बूढी जेठो छोरालाई लिएर मनितालाई बचाउन राजधानी जान लागेको कुरो गाउँमा सबैले थाहा पाइहाले। पहिल्यै ‘मनितालाई बचाउन धेरै दु:ख गर्नु पर्दैन’ भनेका गाउँलेले अपांगता भएका छोराले मिर्गौला दिएरै बचाउने भन्ने कुरा सजिलै पचाउन सकेनन्। सबैले पल्टनेको परिवारलाई विशेष गरेर बूढी र रविनलाई थुके। गाउँलेको नजरमा रविन स्त्रीलम्पट, नामर्द, पानीमरुवा कहलियो। हिजोसम्म आँखैमा राखे पनि नबिझाउने पल्टने बूढी आज सबैका आँखाका कसिंगर भइन्।
एउटी जाबी बुहारी (अर्काकी छोरी) बचाउन आफ्नै छोराको अंग काट्न लगाउने पापिनी भइन्। तर बूढीले कसैको कुरो खाइनन्। जेठो छोरोलाई लिएर कहिल्यै नसुनेको, कहिल्यै नदेखेको राजधानीतिर लागिन्।
मनिताको जीवन सायद यत्ति नै रहेछ क्यारे, रविनको भरमग्दुर प्रयासका बाबजुद मनितालाई मिर्गौला प्रत्यारोपणमा एकपछि अर्को उल्झन आइरह्यो। रविनको त मिलेको थिएन नै, जेठाजुको पनि मिलेन। पल्टने बूढी मनिता लडिरहेको खाटमा पुगिन्, मनिताको कपाल मुसारिन् र कानमा सुटुक्क भनिन्, 'माफ गर्दे नानी, हामीले तँलाई बचाउन सकेनौं।'
मनिताले उज्यालो मुख गरेर भनी, 'आमा अब म मरे पनि स्वर्ग जान्छु होला, हजुरहरू जस्तो परिवार सबैले पाउन्।'
रविनले मनितालाई केही भनेको थिएन, केवल उसलाई बचाउन एक्लै दौडिरहेको थियो। सायद उसको दौडाइले पनि अब एक गन्तव्य भेटाएको थियो। ऊ चुपचाप मनिता र आमालाई लिएर नजिकैको कोठामा गयो, जहाँ उसले गाउँ जाने तयारी गर्नुथियो।
पल्टने बूढा कोठाको एउटा कुनामा लडिरहेका थिए। उनलाई को कतिखेर कोठामा आयो कतिखेर गयो केही पत्तो हुन्नथ्यो। गाउँबाट ल्याएको आधा जर्किन चिसोपानी छँदै थियो, त्यति भएपछि उनलाई अरू केही चाहिन्थेन। उनले मुन्टो उठाएर हेरे। सायद बूढीको आवाजले उनलाई केही होस दिलायो।
उनी विस्तारै उठे, भित्तामा आडेस लागेर बसे। रक्सीले लोलिएका चिम्सा आँखा च्यात्दै भने, 'कान्छा, को आमा हो? त्यो पनि आएकी? अनि कान्छीलाई के भन्छ त हस्पतालले?'
जवाफ सहज थियो र पनि रविन बोल्न सकेन। केही छिनको सन्नाटा चिर्दै बूढीले धर्मराएको स्वरमा भनिन्, 'कान्छीलाई अब हुन्न रे, गाउँ जान आँटेका।'
'के भा’को रे? किन हुन्न रे? यस्तो हस्पतालमा पनि नहुने हुन्छ?' बूढाले सोधे।
'अब जे भए पनि तिम्लाई किन चाहियो? हुन्न भने अस्पतालमा अनि?' बूढीले जवाफ फर्काइन्।
'यो त ठूलो हस्पताल होइन? यहाँ पनि नहुने? इस् पत्याइस्?' बूढाले बूढीलाई लोप्पा खुवाए।
'कान्छा के भन्छे आमा? किन नहुने कान्छीलाई आराम?' बूढाले छोरोलाई सोधे। रविन बोल्न खोज्दै थियो, बोली फुटेन।
'होइन कस्तो हुतीहारा हो यिनीहरू? के भएछ? भन्दैन त!' बूढा च्याँठिए।
'बा कान्छीलाई मिर्गौला चाहिएको रे, अरूले दिनुपर्ने, हाम्रो कसैको पनि मिलेन। त्यो नभए बाँचिदैन रे,' जेठोले कनिकुथी सुनायो।
'मेरो गौलो? के हो त्यो मेरो गौलो भनेको? कहाँ हुन्छ त्यो? कसरी दिने? दबाइले नभएर मेरो गौलोले हुन्छ?' बूढाले कहिल्यै नसुनेको मिर्गौला।
रविनले रुँदै सबै बुझायो। मनिताले पनि आँसु थाम्न सकिन। बूढी पहिलेदेखि नै हिक्क हिक्क गर्रिरहेकी थिइन्। बूढाले छोराको सबै कुरा त बुझेनन्, तर ‘गौलो दिए बुहारी बाँच्ने’ सम्म बुझे।
धेरै बेर चुप रहेर बूढाले भने, 'यहाँसम्म आएर त्यसै घर जाने? कान्छीलाई जानीजानी मर्न दिने? ल हिँड, म दिन्छु गौलो!'
बाबुको कुरा सुनेर मनिता दिग्भ्रमित भई। सपनैजस्तो भयो। ‘साँच्ची मिर्गौला दिन्छु भनेकै हुन् त?’ ऊ असमन्जसमा परी। कुरो खुट्याउन सकिन। सबै अचम्ममा परे।
बाबुको कुरो सुनेर रविन निकै भावुक भयो। गएर गोडा ढोग्यो। एकछिन अँगालो हालेर रोयो।
'बा हजुर निकै बूढो हुनुभयो, असक्त हुनुहुन्छ, अब अपरेसन गरेर हजुरको मिर्गौला झिक्न हुन्न। ठिकै छ बा, हाम्लाई यस्तै पर्यो, अब घरै जाऔं,' रविनले रुन्चे बोली बोल्यो।
जेठोले पनि बूढो बाबुलाई चिरफार गर्न नहुने भन्यो।
बूढाले कड्केर भने, 'तिमीहरू नामर्द हौ, तिमीहरूका उमेरमा मैले चार हल गोरूले नभ्याउने टारी (खेत) मा एक्लै आली लाउँथे। मानाएक घिउ खान्थेँ। ल देखा मलाई हस्पताल, अहिल्यै गएर दिन्छु।'
बूढाको कुरामा कसैलाई विश्वास थिएन। सबै ‘घरै जाउँ’ भन्थे। आफ्नो कुरा कसैले नटेरेपछि बूढा झर्किए, 'लौ जाओ तिमीहरू, म जान्न।'
बूढा बर्को ओढेर सुते, कसैगरी उठ्न मानेनन्।
बूढीले भनिन्, 'कान्छा, एकचोटि बालाई लगेर जान त अस्पताल, डाक्टरका कुरा त खालान् नि!'
रविनले बालाई उठाएर भन्यो, 'लौ बा हिँड्नु, हाम्रा कुरा नसुने नि डाक्टरका कुरा त मान्नुहोला नि।'
रविनका कुरा सुनेर बूढा जुरुक्क उठे। अघिपछि लौरोबिना यताउता नगर्ने बूढा सामान्य मानिसझैं ठमठमती हिँडे। अस्पताल पुग्नेबित्तिकै पालेलाई नमस्कार गरे, 'बाबु, मैले दिन्छु गौलो, लौ लिनुस्, कहाँ छ? सबै लिनुस्, कान्छीलाई बचाइदिनुस्।'
'बा म त पाले, यहाँ गेटमा बस्ने। कसलाई के दिने? कसलाई बचाउने? भित्र डाक्टरलाई भन्नुहोस्,' पालेदाइले नरम स्वरमा भने।
भित्र पुगेर रविनले डाक्टरलाई बाबुको परिचय गराउन लाग्दै थियो, बूढा आफैं बोले, 'डाउडर साप, मेरो गौलो लिनोस्, कान्छीलाई बचाइदिनोस्।'
बूढाको कुरा सुनेर डाक्टर पनि अचम्मित भए। उनको बारेमा सबै बुझेपछि भने, 'बा तपाईं यस्तो बूढो मान्छे, तपाईंको मिर्गौला झिक्न हुन्न, मरिन्छ। त्यै पनि रक्सी खाने मान्छेको मिर्गौला पहिल्यै बिग्रेको हुन्छ, दिन हुन्न।'
'मेरो गौलो बिग्रेको छ कि राम्रो छ तिमीलाई के था? लौ पैला मेरो गौलो हेर, ठिक छ भने लैजाऊ,' बूढा झर्किए।
फेरि एकाएक नरम स्वरमा भने, 'साप, म अब डाँडापारीको घाम, गाउँघरमा नि कसैले रुचाउन्नन् मलाई। अब म मरे पनि केही हुन्न, बुहारी बाँचोस्। यो कान्छो रोएको देख्न नपरोस्। लौ न बा, म बरू खुट्टै ढोग्छु, यति बिन्ती, बाबु आशीर्वाद लाग्ला, बचाइदिनोस्।'
रविन अघिदेखि नै पिलपिल गरिरहेको थियो, बूढाको कुराले डाक्टरको पनि मन छोयो।
'बा तपाईंले दिन मिल्ने-नमिल्ने जाँच्न पर्छ, मिलिहाल्यो भने पनि अहिल्यै दिन मिल्दैन। हजुरले एक महिनासम्म रक्सी नखाई बस्न सक्नुहुन्छ त बा?' डाक्टरले भने।
बूढाले उज्यालो अनुहार लगाए, फेरि चिन्तित हुँदै भने, 'एक महिना त बढी भो बाबु, त्यतिन्जेल कान्छीलाई कसरी धान्ने?'
'केही हुन्न बा, बचाउन सकिन्छ, डाइलाइसिस गरेर। बरू तपाईंको रगत प्रेसर सबै जचाउनुपर्छ। अनि एक महिनासम्म रक्सी खान त परै, सुँघ्न पनि हुन्न है बा, मेरो कुरो मान्नुहुन्छ?' डाक्टर अझै विश्वस्त देखिएनन्।
'ल बा, लौ लाइसिस फाइसिस के गर्ने हो गर, तर छिटो गर,' बूढाको अनुहारमा छुट्टै सन्तोषको भाव देखियो।
...
अस्पतालको सघन उपचार कक्ष। दुईवटा बेड, दुई जना बिरामी। वल्लो खाटमा बुहारी, पल्लो खाटमा ससुरा। दुवैको मिर्गौलाको अपरेसन। एउटाको झिकेर अर्कोकोमा सारेको।
मनिताको हिजो नै होस् खुलेको, बूढाको आज मात्र। जब बूढाले आँखा उघारेर 'कान्छा' भने, मनिता घ्वाँघ्वाँ रून थाली। हिजो राक्षसझैं लाग्ने ससुरो आज साक्षात् भगवानै भएर अगाडि आएको थियो। त्यस्तो जब्बर ससुरो, जसले मनितालाई यमराजको पन्जाबाट खोसेर ल्याएको थियो, जसले रविनको आँशु मात्र पुछेको थिएन, बुढेसकालमा आफ्नो ज्यानको बाजी थापेर पनि छोराको प्रेमलाई अमर बनाएको थियो।
मनितालाई मिर्गौला दिन मिल्ने देखिएपछिका एक महिना गुजार्न बूढालाई कम सकस थिएन। रक्सीबिना बाँच्नै नसक्ने अवस्थाका बूढा रक्सी नखाई बस्दा थरथर काम्ने, बेहोस हुने, बान्ता गर्ने, अनेक कष्ट भएको थियो। सबै सहेर पनि बूढाले बुहारीको ज्यान बचाए।
ससुराको मिर्गौलाले पुनर्जीवन पाएकी मनिता ठमठमती हिँड्न थालेकी थिई। पल्टने बूढा पनि लौरो टेकेर यताउता गर्न थालेका थिए। परिवारमा सबै जना हाँसीखुसी थिए, तर मनिताको उपचारमा लागेको ऋण तिर्न बाँकी थियो। त्यसको सबै जिम्मा रविनकै काँधमा थियो। रविनले फेरि विदेश जाने सुर कस्यो। बेलुकाको खानापछि बाबुलाई भन्यो, 'बा, अब सबै ठिकै हुन थाल्यो घरमा। म यहाँ बसेर फाल्टु भएँ, अब विदेश गएर भए पनि लाएको ऋण तिर्नुपर्यो।'
पल्टने बूढाले बरर्र आँसु खसालेर भने, 'विदेश जाने कुरा नगर, बा। कान्छी भर्खर उठेकी छ, आमाले नि धेरै दु:ख पाएकी छ। दाइको हालत त्यस्तो छ, सके यहीँ पाखा बारी खोस्री। हाम्रा पालामा सबैलाई पुगेको थियो, तेरा पालामा अरूलाई नभए पनि एउटा परिवारलाई त पुग्ला। म त अब आज कि भोलि, तँ घरै बस्। जाबो ऋण कल्लाई लाग्दैन र? ऋण नलागेको छोरो नि के छोरो? यसो यतात्यता गरेर, यहीँ केही गरेर तिर्लास्। हामी बूढाबूढीको परान पुर्याएपछि जे गर्ने हो गर। यहीँ सुखदु:ख बसम्ला, आधापेट खाम्ला। घर छाडेर जाने कुरा नगर, बा।'
ससुराको कुरा सुनेर अघिदेखि नै हिक्कहिक्क गरिरहेकी मनिताले रुन्चे स्वरमा भनी, 'बाको कुरा ठिकै हो हजुर। हामी सबैको एउटै आधार तपाईं हो। हामीलाई छाडेर कतै नजानुस, सुखदु:ख यहीँ गरौंला।'
सबैका आँखा रसिला भए। सबैको कुरो रविनलाई पनि उचित नै लाग्यो। उसलाई पनि विदेश जाने रहर त कहाँ थियो र?
रात निकै छिप्पिइसके पनि पल्टने बूढाको घर गाइँगुइँ चलिरह्यो।
(चापाकोट नगरपालिका-१, स्याङ्जाका गैरे हाल म्यारिल्याण्ड विश्वविद्यालय, अमेरिकामा अध्ययनरत छन्।)