म कपास झैँ सेताम्य कपाल
चाउरिएका गाला, धूमिल ज्योति
शिथिल शरीर हुँदै गएकी एक वृद्धा हुँ।
मेरो नाम, थर र जात सोध्नेहरुलाई
मैले म आमा हुँ भन्ने गरेकी छु।
आमाको पनि कतै एउटा मात्र नाम हुन्छ र?
मलाई आमाहरू सजातीय वा विजातीय हुन्छन् भन्ने
पट्टकै लाग्दैन
सर्वनाम होलान्, बेनाम हुन्छन्
अहँ पट्टकै लाग्दैन
धेरै अघिको कुरो हो
म आमा हुने बखतमा
नजन्मिएकै मेरो सन्तानसँग म बेस्कन गफिन्थें
र, सुनाउँथेँ उसलाई सुनकेसरीका कथाहरु
राजकुमारका पराक्रमका गाथाहरु
मैंले उसलाई
राम र रामायणका कथाहरु सुनाएकी थिएँ
कृष्ण र सुदामाको मित्रता बताएकी थिएँ
हनुमानको वीरता, लवकुशको प्रेम
सविस्तार वर्णन गरेकी थिएँ
मैंले अहंकारको आगोमा जलेको रावण
शक्तिको उन्मादले मात्तिएको कंश
जुवाको खालमा स्खलित पाण्डवहरुको पुरुषार्थ
द्रौपदीको चीरहरण हेर्ने लाचार राजसभा
सन्तान मोहको भुङ्ग्रोमा भुङ्ग्रिएका धृतराष्ट्र
एकलव्यको औँठा माग्ने द्रोणाचार्य
आधा मात्रै कथा सुनेर चक्रब्यूहमा फसेका अभिमन्यू
सबैको कथा सुनाएकी थिएँ
उसले खै कत्ति बुझ्यो कुन्नि?
म आरतीमा लीन हुँदा चुपचाप बस्ने उ
गुणरत्नमालाका भाका हाल्दा
पेटको यो कुनाबाट त्यो कुनासम्म हल्लिन्थ्यो
म आधा पेट भएको बेला उ सायद भोकै रह्यो
कयौँ पटक उ शान्त बस्दा म चैँ अशान्त भएकी थिएँ
उ धर्तमा आउँनुभन्दा धेरै अघि
उ प्रतिका सपनाहरुले मेरा आँखा भरिएका थिए
उ लावण्य देशको राजा झैँ पराक्रमी होस्
युधिष्ठिर झैं सत्यवान, कर्ण झैं कर्मवीर होस्
भीष्म झैं प्रतिवद्ध, अर्जुन झैँ एकाग्र होस्
उ मैले सोँचेजस्तै भएकोमा म दंग छु
गुनासो त मलाई मसँगै छ
मैले कसरी उसलाई
श्रवणकुमारको कथा सुनाउँन भुलेँ हँ?