असनको भित्री गल्ली। जोडिएका घरहरु छन्। पुराना तर बलिया छन्। पाँच वर्ष अघिको भूकम्पले खासै हल्लाउन सकेन। कस्ता-कस्ता पक्की घर गर्ल्याम्म ढले। छेउछाउका मन्दीर ढले। तर एक अर्कासँग कुम जोडिएका यी घर उस्तै ठिङ्ग उभिएका छन्। यो वस्तीसँगको मेरो परिचय ७ वर्ष पुरानो हो। बल्ल बुझ्दैछु, एक्लो घर हुन्न भर।
गल्ली भित्र थुप्रै चोकहरु छन्। हरेक चोकमा चिया पसल छ। म पनि चियाको पारखी। चियाले चोकसम्म डोहोर्याउँछ। हरेक बिहान।
मेरो डेरा अगाडिको चोकमा सम्झनाको चिया पसल छ। सम्झना, अस्ति वैशाखमा १९ वर्ष पुगि क्यार। चिया पसलमा कमै बस्छे। बिहानभरी आमालाई सघाउन आउँछे। आमाको नाम, रमादेवी। तर चिया पसल छोरीकै नाममा फेमश छ। नहोस् पनि कसरी? छोरीको नामै फेमश छ, सम्झना।
मैले पनि तीन वर्षदेखि चिया पिएर रमादेवीलाई गुण लगाएको छु। अचेल सम्झनाको मुस्कानले गुण तिर्छे।
ठिटाहरुले चोकको नामै सम्झना चोक राखिदिएका छन्। मान्नुस् नमान्नुस्, उ फेमश छे। म बाथरुम छिर्ने बित्तिकै गाउन थाल्छु, सम्झना बिर्सना सलललल...।
आधा जीउ, आधा नुहाएँ। दाँतमा तीन/चार चोटि ब्रस घुमाएँ।
मनमा सम्झनाको स्वाद। जिब्रोमा चियाको स्वाद। जिब्रोको भन्दा मनको स्वाद साह्रै गडिलो। गडिलो स्वादले, सम्झनाको तलतल बढाईदिन्छ। र हरेक बिहान नित्यकर्म छोट्याईदिन्छ।
सम्झना चोक, भरिभराउ भईसकेछ। चियाका पारखीहरुले भए जति मुडा कब्जा गरेछन्। पत्रिका पनि पन्ना पन्ना छुट्याएर उनीहरुकै कब्जा। उठेर, बसेर चिया पिउनेहरुको घुँइचो। कुनै मेलाभन्दा कम छैन, सम्झना चोकको चिया पसल।
पुरानो कालो स्टोभ बलिरहेको छ। घरीघरी सम्झना दम दिन्छे। स्टोभ तेजिलो बन्छ। सम्झनाको मुहार जस्तै। घरी उम्लिँदै गरेको चिया सम्हाल्छे। घरी चिया पिउनेहरुको भीड।
घरी सम्हाल्छे निधारमा लत्रिरहने कपाल। स्टोभमा दम भर्दै गर्दा, उसका माथिल्ला दाँतहरु तल्लो ओंठ टोक्न आइपुग्छन्। पुलुक्क मलाई हरेर सर्माउँदै सम्हालिन्छे। म, उसको एक नजरमा भरिन्छु। छचल्किन्छु। र पोखिन्छु।
बाबु, चिया पिउने हैन? रमादेवी बोलिन्। मैले जवाफ नदिँदै सम्झना बोली, पाक्दैछ।
रमादेवी जुठा गिलास बोकेर सडकको एउटा छेउतिर लागिन्। एक जना पाको उमेरका मानिस उठे। एउटा मुडा खाली भो। सम्झनाले बस्ने इशारा गरी।
मुडामा बसेको आधा घण्टा नाघ्यो। चिया उम्लियो, गिलास भरिए। मानिसहरु आए, खाए र गए। सम्झनाले मलाई चिया दिइन। मैले पनि मागिनँ। बरु पत्रिकामा नजर डुलाएर बसिरहें। कामबाट छुट्टी पाउनासाथ सम्झनाका नजर ममाथि डुलिरहे। यस्तो लाग्थ्यो, सम्झना मलाई चिया नदिएरै कुराउन चाहन्थी। बरु उसले बुझि कि बुझिनँ, सम्झनाको बहानाको लाभ म उठाईरहेछु।
थुप्रै बिहान मैले पत्रिकामा आँखा डुलाएरै बिताएको छु। नौलो के नै छ र? आजको बिहान पनि यतै बित्यो। थाहा छैन, अझै कति बिहान बित्ने हुन्। आखिर आदतसँग म मजबुर जो थिएँ। चियाको आदत। सम्झनाको आदत।
एकदिन दिउँसो ३ बजेको हुँदो हो। कसैले ढोका ढकढकायो। एकदम विस्तारै। यसरी कि कोही निदाएको छ, र ब्युँझेला भन्ने डर मनमा छ। हुन पनि म सुतिरहेको थिएँ। बिरामी परेर सुतेको आज तेस्रो दिन। सकि-नसकी उठेँ। लाग्यो, कलेजको कोही साथी आयो होला। ढोका खोल्दै गर्दा, मुसुक्क मुस्कुराई उही सम्झना।
हाम्रो डेरा त्यति टाढा थिएन। तर कति नजिक थियो, मलाई थाहा थिएन। म कहिलै गएको थिइनँ उसको डेरामा। उ पहिलो पटक आई मेरो डेरामा। अस्तव्यस्त थियो कोठा। ज्वरोले थलिएको म, आफैं त सम्हालिन सकेको थिइनँ, कसरी सम्हाल्थें कोठा?
आउ भित्रै बस। मेरो आग्रह उसका ओंठले हाँसेरै स्वीकारे। म खाटमा पल्टिएँ। त्यसैगरी, जसरी सम्झना आउनु अघि पल्टिएको थिएँ। उ खाँटको छेउमा बसी। चुपचाप, नाडी छामी। निधार छामी। जुरुक्क उठी। र ग्याँस चुल्हो बालेर पानी तताई।
पानी तातुन्जेल, कोठा स्याहारी उसले। एक शब्द पनि नबोली। म पनि अवाक भएछु। सायद उसका गतिविधीले मलाई मौन बनाए। दुबैको मौनताको फाईदा आँखाहरुले लिए। हरिरहे एक अर्कालाई। केही बोले जस्तो। केही सुने जस्तो। जुधिरहे आँखा।
पानी तात्यो। मौनता चिर्दै बल्ल बोली सम्झना। गिलास छैन? मैले जुठा भाँडा राखेको बाटा तिर हेरेर इशारा गरेँ। उसले पुलुक्क हेरी। मानौं, उसका आँखाले मलाई गिज्याइरहेछन्। सोधिरहेछन् प्रश्न, कति फोहोरी भएको? मेरा आँखाहरुले जवाफ दिए। बिरामी छु नि त। सायद उसका आँखाले पनि बुझे होलान्। र त उसले चुपचाप गिलास माझी।
कोठामै आउजाउ बाक्लिन थालेपछिको एक दिन हामी घुम्न निस्कियौं। तर, कहाँ जाने टुंगो थिएन। उ अघि लागि। मैले पछ्याएँ।
उस्लाई भित्रि बाटोहरु थाहा रैछ। एउटा घरको ढोकाबाट छिरे झैं लाग्याथ्यो। तर भित्रभित्रै न्युरोड आईपुगिएछ। साँझ बिहान असनका गल्लीहरु छिचोल्न गाह्रो हुन्छ। त्यसरी बढ्छ मानिसहरुको भीड। हामी निस्किदाँ मध्य दिउँसो थियो। खासै मान्छेहरुसँग ठोक्किनु परेन। नत्र असनको बाटोको भर हुन्न। हतारमा चालिने पाइलाले कहिलेकाहीँ आकस्मिक दुर्घटनामा पार्छ।
न्युरोडसम्म पछ्याएँ मात्रै। खासै बोलचाल भएन। पहिलो पटक घुम्न निस्किएका हामी। सायद, मनमा उत्साह हुँदो हो। र संकोच पनि। हाम्रो हिँडाई भाग्ने र पछ्याउने खेल झैं थियो। हामी हतारमा थियौँ, पाइलाका चालहरुले त्यसै भन्थे।
काठमान्डु मल अगाडि आईपुगेपछि बल्ल रोकियौँ। गाडीको हल्लाखल्ला र मानिसहरुको भीडभाड। मध्य दिउँसोको गर्मी। अब कति हिँड्नु, गाडी चढौँ भन्ने भावमा पुलुक्क हेरी। त्यहीबेला मैले इशारामै प्रश्न गरेँ, कहाँ जाने? उसले रोकिराखेको साझा बसतर्फ संकेत गरी। बल्ल थाहा भयो, हामी गोदावरी जाँदै थियौँ।
‘आमालाई के भनेर आयौ?’ बस माइतीघर नाघेपछि मैले सोधेँ।
‘के भन्नु, तपाईसँग घुम्न जान्छु भनेर आएकी’ फिस्स हाँसेर सम्झनाको जवाफ।
त्यसपछि म चुप भएँ। उ तिर हेर्दा पनि हेरिनँ। बरु उसैले मौनता चिरी। ‘मैले भनेको विश्वास लागेन?’
पुलुक्क हेरेँ। मेरो जवाफ त्यही हेराइमा थियो। मेरो आँखाहरुले भनिदिएँ, ‘अहँ लागेन।’
सायद उसले बुझी। फेरि मुसुक्क मुस्कुराई। चिया पसलमा हरेक दिन मुस्कुराउने सम्झना र यो सम्झनामा फरक थियो। त्यो सम्झना म महशुस मात्रै गर्न सक्थेँ। टाढा बसेर नियाल्न मात्रै सक्थेँ। यो सम्झना म अनुभव गरिरहेको छु।
म बसको सिटमा स्थिर थिएँ। उ यताउता गरिरहन्थी। हल्ली रहन्थी। केही बोल्न खोजे जस्तो। केही भन्न खोजे जस्तो। घरीघरी नजर झ्याप्प जुध्थे। उ मुस्कुराउँथी। मेरो भने, अनुहार रातो हुन्थ्यो। लुकामारीको यस्तै शिलशिला चलिरह्यो। हामी गोदावरी पुग्यौँ।
बसबाट झर्ने बित्तिकै उसको पहिलो माग, ‘पानीपुरी खाम् न।’
‘खाने र?’ नखान पाए पनि हुन्थ्यो भन्ने मेरो आशय थियो।
पानीपुरी पसल अगाडि जोडीहरुको भीड देखेर म आत्तिएको थिएँ। डेटिङ मेरो कल्पनाभन्दा बाहिरको कुरा। पहिलो अनुभव। कच्चा अनि बच्चा मान्छे। मैले आफैलाई सम्हाल्न सकिरहेको थिइनँ। सम्झना र उसका चाहनालाई कसरी बुझ्थेँ? कसरी सम्हाल्थेँ?
म टोलाई रहेको थिएँ। उसले च्याप्प हात समाती। फेरि उही कुरा भनी, ‘पानीपुरी खाम न।’
‘यत्तिका मान्छेहरु छन्, पछि खाए हुन्न?’ मैले सम्झनालाई सम्झाउन खोजेँ।
‘जाबो पानीपुरी पनि खुवाउन नसक्ने भए के घुम्न आएको त?’ उ ठुस्स परी।
अब कुर्नुको विकल्प थिएन। एकछिन् कुरेर बस्यौँ। भीड हल्का कम भो। त्यही मौका छोप्यौँ र पानीपुरी खायौँ। मैले एउटा खाँदा उ चार वटा खान्थी। मैले दुईवटा खाएको थिएँ, एक प्लेट खाइएछ। फेरि अर्को प्लेट थप्यौँ।
‘पुग्यो? कि अझैँ खाने?’
सम्झना हाँस्दै बोली ‘नाई पुग्यो।’
हामी बोटानिकल गार्डेन भित्र गयौँ। अरु जोडीले झैँ एउटा कुनो च्यापेर बस्यौँ। दुई घण्टा बितायौँ। तर गफभन्दा ज्यादा मौनतामा बित्यो समय। जसोगरी गयौँ उसैगरि फर्कियौँ। साझा बस चढेर।