धर्तिमा प्रवेश भएपछि उघारिएका मेरा आँखा
सुम्सुम्याउँदै ममताले कसेर मेरो काख
छातीमा टाँसेर, आफ्नो वक्षमा दूध चुस्न सिकायौ
प्रसव पीडालाई मेरो एकै मुस्कानमा बिकायौ
देवी या गुरु, धर्तीमा तिमी कुन रुपमा आयौ
लुला मेरा हत्केला र पाउमा चिल्लो घसेर
बलवान् बनाउन मालिस गर्यौ नाडी कसेर
कोपिला जस्ता औंलामा कलम च्याप्न लगाई
लेख्न सिकायौ पहिलो अक्षर हात समाई
मान्छु तिमीलाई गुरु, जिन्दगीको मेरो कमाई
हजारौं मेरा बालप्रश्नको उत्तर मुसुक्क हाँसेर
भोक प्यास बुझी, मलाई राख्यौ छातीमा टाँसेर
हरपल रक्षक बन्यौ, झन्झटै नमानी कत्ति
देखायौ कान्ति सधैंभरी बले झैं गरी बत्ती
मानेकी छु देवी तिमीलाई मेरो मनको रत्ति
पाठशाला जान किचकिच गरी बस्दा लुकिछिपी
काखमा लिई सम्बोधन गर्थ्यौ तिमीले मेरो ढिपी
एक हातमा झोला, पिठ्युँमा मलाई सुस्केरा तानेर
उकाली चढ्थ्यौ, विदुषी बनाउन सर्वस्व ठानेर
आमा मेरी पहिलो गुरु साष्टाङ्ग गर्छु ब्रह्म मानेर
संकट सधैं मेरो मोचन गर्थ्यौ म ढिला हुँदा
बाटो कुरेर बस्थ्यौ अँधेरी रातले शिखर छुँदा
आधा गाँस काटेर, चारोको जोहो गुँडमा पसेर
मेरो भोक प्यास मेटाउँथ्यौ तिमी आडैमा बसेर
रक्षा गर्थ्यौ मलाई आमा तिमीले दुश्मनलाई डसेर
देवी, ब्रह्मा, विष्णुको रुप तिमी मेरी गुरु
तिमीबाटै भयो मेरो जिन्दगीको यात्रा सुरु
त्यसैले आमा म तिमीलाई देवी मानूँ या गुरु
यसको जवाफको आशमा कहिलेसम्म कुरूँ
गीत, कविता र मनमा आमा भन्दै सधैं फुरूँ
हरेक गुरु पूर्णिमाको सुरुवात तिमीबाटै होस्
जिन्दगीमा खुसी छाओस्, उमंग र जोश
सबै चेला चेलीको पहिलो गुरु जननी
सधैं पुज्न पाइराखूँ देवी सँगै गुरु भनी
तिमी जस्तै म बन्न सकूँ मनको धनी
(लेखक कमला अधिकारी श्री बालसिद्ध मा.वि., स्याङ्जामा शिक्षक छन्।)