कविता
कहिलेकाही मन त्यसै
कल्पनाको सागरमा डुब्छ
सागरभित्र अनेकौँ जीवनहरु
डुबुल्की मारिरहेको देख्छु।
मलाई मेरो संघर्ष ठूलो लाग्छ,
उनीहरुलाई आफ्नै।
दायाँ हेर्छु सुन्दर सपनाहरु छन्
बायाँ हेर्छु कयौँ कठिनाइहरु छन्।
कतै समस्या देख्छु,
कतै समाधान देख्छु।
साँच्चै जीवन कति सुन्दर लाग्छ
एउटा पाटोमा
चाहे जतिसुकै कठिन किन नहोस्
अर्को बाटोमा।
यहाँ नगरी कुनै कुरा
पाउन गाह्रो छ।
कतै कोमल छ यो जीवन
कतै साह्रो छ
फेरि पनि जीवन छ र त हामी छौँ।
अनि यो संसार छ
र यो जीवन अति नै प्यारो छ।
कति अत्यन्तै मनपर्ने कुरा सुनिन्छन्
कति तिता मिठा सम्बन्ध बुनिन्छन्।
तिता अनि मिठा मोड त आइरहन्छन्।
फेरि पनि तिताले पाठ पढाएर जान्छन्
मिठाले खुसी बढाएर जान्छन्।
तितो मिठो जस्तोसुकै होस्,
जीवन अति नै प्यारो छ।
कहिले उकाली चढ्छु त
कहिले ओराली झर्छु।
उकाली चड्दा गन्तव्य पुग्ने
आशा पलाउँदै जान्छ।
ओराली झर्दा पनि जीवन निरन्तर
पाइला चलाउँदै जान्छ।
सुखदुखको सम्मिश्रण यो जीवन
फेरि पनि कति सुन्दर अनि
अति नै प्यारो लाग्छ जीवन।
हो,
जीवन अति नै प्यारो लाग्छ।
जीवन अति नै प्यारो लाग्छ।