कविता
विश्व अहिले शोकमा छ
म टुलुटुलु हेरिरहेछु
एउटा सूक्ष्म भाइरस
ताण्डव नाचिरहेछ
म टुलुटुलु हेरिरहेछु
फगत हेरिरहेछु
युद्ध मोर्चाको अग्र पंक्तिमा
एक हुल मान्छेहरु
लडिरहेछन् सेता वस्त्र लगाएर
यो मानवता बिरुद्धको लडाईमा
उनीहरु आफ्नै मृत्युलाई
परास्त गर्न उद्दत छन्
शस्त्रको अभाव उता पनि छ
यता पनि छ
महासंकटको यो घडीमा
एक हुल मान्छेहरु
देश लुट्न लागिरहेका छन्
बेचिएको नैतिकता र सदाचार
उनीहरु नै युद्ध मैदानमा
कमाण्डर भएका छन्
बालकलाई सदाचारिता सिकाउने
गुरु भएका छन्
उनीहरुले तयार पारेका
एक हुल सेता वस्त्रधारी लडाकुहरु
लड्न मान्दैनन्
युद्धको मैदानमा मोर्चाबन्दी गर्न जान्दैनन्
गल्ती मेरो पनि छ
मैले बेलैमा मान्छे चिनेको भए
कलम समाउनेलाई
मानवीयताको पाठ
नैतिकता र सदाचारको पाठ
सिकाएको भए
मेरा घरका सिपाही
मेरा देशका सिपाही
युद्ध मैदानमा आज जस्तो
अलमल्ल नपर्दा हुन्
आफ्नै मृत्युको लडाई लड्न
नडराउँदा हुन्
गल्ती मेरै हो
मैले एक हुल
मानवता विरोधी, ढोग्गी, पाखण्डीहरु र भ्रष्टचारीलाई
देशको राज्यकोष सुम्पिएँ
सदाचार र नैतिकताको सिपाही बनाएँ
त्यसैले आऊ आमा
आऊ, मलाई गिरफ्तार गर।