कविता
मेसेञ्जर, ह्वाट्सएप
अनि भाइबरहरुको
विचित्र दुनियाँमा
अत्तोपत्तो बिना सहर झरेकी नातिनीलाई
उही पुरानो 'फ्लेम फुल्टिन'ले
ठूला अक्षरमा लेखी
उस्तै पुरानो लिफामा बन्द गरी
सिरानमा
'जसको पत्र उसकै हात बीचमा खोले महापाप' कोरिएको,
पत्र मञ्जुषामा फुत्त खसालेको
हल्काराले दैलोमै ल्याईपुर्याएको
प्यारो चिट्ठी हात पर्छ नातिनीलाई।
नातिनी फूरुङ्ग हुँदै
हठात् पढ्छिन हरफहरु।
प्यारी नातिनी चम्पा
कोटी-कोटी शुभाशिष।
नातिनी,
तिमी त
राम्रो हुने ठहरमा बसेको छौ रे
राम्रो लाउने रहरमा फसेको छौ रे
गाउँलाई चटक्कै भुलेर
सहरमा पसेको छौ रे।
थाहा छ नातिनी तिमीलाई?
त्यो सहर कति निष्ठुरी हुन्छ
छेउछाउकै मान्छेसँग कति विघ्न दूरी हुन्छ?
नातिनी, सहरमा त
कोही हाँसेको हाँस्यै हुन्छ
कोही रोएको रोयै हुन्छ।
सहर त कति निर्मोही हुन्छ
आफ्नै मान्छे पनि न कोही न कोही हुन्छ।
नातिनी, सुनेको छौ?
सहरमा त अस्तिभर्खर
'एबीसिडी' हरुको झुण्डले
विचरा 'कपुरी क' हरुलाई
डाँडै कटाउने सुरमा
खेदो खन्दै थिए रे
तिमीहरु त सबै हाम्रै हौ भन्दै थिए रे।
अलि होस पुर्याऊ है नातिनी
तिम्रो बुलाकीमा पनि
धेरैको मन अडेको सुन्छु
तिम्रो फरिया-चोलीमा पनि
रिपुको आँखा गडेको सुन्छु।
कान्छाले भन्थ्यो
जिबा सहरमा त
गली-बगलीमा छुरा हुन्छ
जे-जे खान्छौ चोखो भनी
त्यही चीज पूरा हुन्छ।
नातिनी,
तिमी बसेको सहरमा त
जिजीविषाको निर्मम सिक्री हुन्छ अरे
जम्मै जिनिस निकै बिक्री हुन्छ अरे
ठिक छ
केही इलम गर्नै परे
सक्छ्यौ फूलका गमलै बेच्नू
बुन्छ्यौ फूलका मालै बेच्नू
किंवा रुमालका टालै बेच्नू
तर किमार्थ,
जुन माटोमा जन्म्यौ
त्यही माटोको अस्मिता बेचेर नखानु
आफूभित्रको सीता बेचेर नखानु।
उही तिम्रो
बिरौटे जिबा।